नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन : नेताहरूको सम्पत्ति छानबिन गरेर कारबाही गर्न प्रस्ताव

काठमाडौं (अस) । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवशेनको बन्दसत्रमा सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठेको छ ।   अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको वैचारिक राजनीतिक दस्तावेजमाथि फरक मत राख्दै नेता लेखनाथ न्यौपानेले विशेषगरी नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने र कानूनविपरीत सम्पत्ति आर्जन गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् । शान्ति प्रक्रियामा आएपछि तीनपटक पार्टीले सरकारको नेतृत्व गरेको, पटकपटक सरकारमा सहभागी भएको र एउटै पात्र धैरैचोटि मन्त्री बनेको भए पनि जनताले अनुभूत हुनेगरी गुणात्मक काम हुन नसकेको नेता न्यौपानेले बताए । पार्टीका तर्फबाट सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न र कारबाही गर्ने आँट गर्न उनले माग गरे । उनले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)प्रति पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने मागसमेत राखेका छन् । महाधिवेशनमा शिक्षालाई अनिवार्य र समावेशी बनाउँदै सरकारी विद्यालयको विकास गर्दै निजी विद्यालयलाई सरकारीकरण गर्नुपर्ने माग तथा नेताहरूको विलासी जीवन शैलीबारे प्रश्न उठेको छ । आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीवारको बन्द सत्रमा समूह २२ (बागमती प्रदेश) को तर्फबाट सुझाव दिँदै टोली नेता इन्द्रबहादुर थिङले नेताहरूको जीवनशैलीमाथि प्रश्न उठाएका हुन् ।