ओरालो लाग्यो बीमा व्यवसाय : २८% ले घट्यो प्रथम बीमा शुल्क, 'पोलीसी ल्याप्सेस पनि बढ्दै'

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ( Nepal Insurance Authority) सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को साउन–फागुनमा जीवन बीमा कम्पनीहरूले ९३ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ बराबर बीमा शुल्क आर्जन गरेका छन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १ दशमलव ६९ प्रतिशतले बढी हो ।  कम्पनीहरूको बीमा शुल्क अघिल्लो आवको यही अवधिको तुलनामा थोरै बढे पनि प्रथम बीमा शुल्क भने २८ दशमलव ३८ प्रतिशतले घटेको देखिएको छ । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरू अर्थतन्त्रको प्रतिकूल अवस्थाको प्रत्यक्ष असर बीमा व्यवसायमा परेका कारण प्रथम बीमा शुल्क घटेको बताउँछन् । सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले चालू आवको साउनदेखि फागुनसम्ममा १८ अर्ब ५५ करोड १६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो वर्ष यही अवधिमा उनीहरूको प्रथम बीमा शुल्क २५ अर्ब ९० करोड २९ लाख रुपैयाँ थियो । चालू आव सञ्चालनमा रहेका १८ ओटै जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क घटेको छ । अघिल्लो आवको तुलनामा चालू आवमा सबैभन्दा धेरै प्रथम बीमा शुल्क गुराँस लाइफ इन्स्योरेन्सको घटेको छ । यो कम्पनीको प्रथम बीमा शुल्क ५१ दशमलव २७ प्रतिशतले घटेको छ । दोस्रो नम्बरमा युनियन लाइफ (४७ दशमलव ७४ प्रतिशत) र तेस्रो नम्बरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स (४५ दशमलव ४८ प्रतिशत) छ । सबैभन्दा कम प्रथम बीमा शुल्क घट्नेमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । यसको प्रथम बीमा शुल्क ६ दशमलव ३२ प्रतिशतले घटेको हो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सीईओ नारायणबाबु लोहनी अहिले अर्थतन्त्रको अवस्थाको प्रत्यक्ष असर बीमा व्यवसाय परेको बताउँछन् । अर्थतन्त्रमा क्रमिक सुधार आएपछि बीमा व्यवसायमा पनि सुधार आउने लोहनीको अपेक्षा छ । नेपालमा आधारभूत आवश्यकता पूरा भएपछि मात्र बीमा गर्ने चलन छ । त्यसैले अहिले धेरैजसो नागरिक आधारभूत आवश्यकता परिपूर्तिमा केन्द्रित भएका कारण बीमकहरूको प्रथम बीमा शुल्क घटेको लोहनीले बताए ।  के हो प्रथम बीमा शुल्क ?  व्यक्तिले बीमा गर्दा तिर्नुपर्ने पहिलो भुक्तानी प्रथम बीमा शुल्क हो । बीमकले बीमा पोलिसीको प्रारम्भिक शर्तमै प्रथम बीमा शुल्कको रकम निर्धारण गरेको हुन्छ । त्यसअनुरूप नै बीमा गर्दा शुल्क तिर्नुपर्छ । बीमकको प्रथम बीमा शुल्क घटबढले उक्त अवधिमा उसको व्यवसाय घटेको वा बढेको अर्थ दिन्छ ।