विराटनगर। सवारी चाप बढेपछि पैदल यात्रुको सुविधाका लागि विराटनगर महानगरपालिकाले महानगरभित्रका दश स्थानमा ट्राफिक लाइट जडानको तयारी गरेको छ । सवारी चाप र मानिसको ओहोरदोहोर बढी हुने स्थानमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक लाइट जडान गर्न लागिएको हो । यसका लागि महानगरले ट्राफिक प्रहरीसँगको समन्वयमा स्थान पहिचान गर्दै छ ।
बढी भीड हुने मुख्य बजार क्षेत्रका तीनपैनी, अस्पताल चोक, जलजला चोक, घोघापुल चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गर्ने प्रारम्भिक योजना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । यसैगरी कोशी लोकमार्ग अन्तर्गत विराटनगर खण्डमा पर्ने कञ्चनबारी, बरगाछी, शनिमन्दिर, जनआन्दोलन चोक र रोडशेष चोकमा पनि ट्राफिक लाइट राख्न जरुरी रहेकाले सडक विभागसँग प्रस्ताव गर्ने तयारी भइरहेको महानगरले बताएको छ ।
सवारी चाप र मानिसको ओहोरदोहोर बढी हुने स्थानमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक लाइट जडान गर्न लागिएको हो । यसका लागि महानगरले ट्राफिक प्रहरीसँगको समन्वयमा स्थान पहिचान गर्दै छ ।
ट्राफिक लाइट जडानपछि ट्राफिक नियम पालना बढ्ने र जथाभावी पार्किङ गर्ने प्रवृत्ति हट्ने न्यौपानेले बताए । विराटनगरका कुनै पनि चोकमा ट्राफिक लाइट नभएकाले नमूनाको रूपमा कार्यान्वयन गर्दै अगाडि बढ्ने तयारी भइरहेको उनले बताएका छन् ।
विराटनगर महानगरले एक वर्षअघि नै केही चोकमा ट्राफिक लाइट जडान गर्ने योजना अगाडि बढाएको थियो । यद्यपि ठेकेदार कम्पनीले विशेष कारणले काम गर्न नसक्दा ढिलाइ भएको मेयर नागेश कोइरालाले बताए । ४५ दिनभित्र पहिलो चरणमा जलजला चोकमा ट्राफिक लाइट जडान गरिसक्ने र क्रमश: अन्य चोकमा पनि यो व्यवस्था लागू गर्दै जाने जानकारी उनले दिए ।
कोशी लोकमार्ग खण्ड महानगर मातहतमा नरहेकाले सडक विभागसँग समन्वय गरेर मात्र निर्णय लिइने उनको भनाइ छ । महानगरले विभागसँग प्रस्ताव गरेको भए पनि कुनै जवाफ नआएकाले अहिले त्यहाँ लाइट जडान नहुने उनले बताए ।