एमसीसीविरुद्ध हुनसक्ने प्रदर्शन रोक्न चनाखो भएर लाग्न सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन

केन्द्रीय सुरक्षा समितिको बैठकमा एमसीसी विरुद्द सडकमा हुन सक्ने प्रदर्शनले चुनौति थपेको विषयमा छलफल भएको छ । पछिल्लो सुरक्षा अवस्था, निर्वाचनको तयारी र एमसीसीविरुद्ध सडकमा हुने प्रदर्शनले सुरक्षा चुनौति बढाउने आँकलन गर्दै केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो ।गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकमा वर्तमान सुरक्षा अवस्था र स्थानीय तहको निर्वाचको सुरक्षा तयारीका विषयमा छलफल भएको बताइएको छ । एमसीसी संसदमा टेबुल गर्ने विषयमा बहस भइरहेको र त्यसले द्वन्द्व निम्त्याउने खतरा रहेको भन्दै बैठकमा सचेत रहन गृहमन्त्री खाँणले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । एमसीसीको विषयलाई लिएर काठमाडौँसहित देशका विभिन्न स्थानमा प्रदर्शन हुनसक्ने भन्दै गृहमन्त्री खाँणले त्यसतर्फ सुरक्षा निकायको ध्यानाकर्षण गराएका हुन् । निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न सरकारलाई प्रस्तावसमेत गरिसकेकाले त्यसतर्फ पनि सतर्क रहन गृहमन्त्रीले निर्देशन दिएका छन् । बैठकमा गृहमन्त्रीसहित गृहसचिव टेकनारायण पाण्डे, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनका रथी बालकृष्ण कार्कीको सहभागिता थियो ।