काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको पदाधिकारी टोलीले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग सोमवार भेट गरेको छ । भेटमा चेम्बरको टोलीले नवनियुक्त उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिएको थियो ।
उक्त अवसरमा उपराष्ट्रपति यादवले अर्थतन्त्रको वर्तमान अवस्था जोखिमपूर्ण रहेको बताए । तरलता अभाव, उच्च ब्याजदर, पूँजीगत खर्च समयमै हुन नसक्ने, बेरोजगारी जस्ता समस्याको दिगो समाधानबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने उपराष्ट्रपति यादवको भनाइ थियो । उपराष्ट्रपति यादवले भने, ‘अर्थतन्त्रमा हाल देखिएका समस्याको दीर्घकालीन समाधान खोज्न जरुरी छ ।’ सरकार र निजीक्षेत्रबीच निरन्तर सहकार्य गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।
चेम्बर अफ कमर्शले दिएको सुझावलाई आफूले सरकारी निकायमा ध्यानाकर्षण गराउने उपराष्ट्रपति यादवको प्रतिबद्धता थियो । उपराष्ट्रपति यादवसँगको भेटका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक विकास र समृद्धिका लागि समन्वय गरीदिन आग्रह गरेका थिए । ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन । उच्च ब्याजदरले उद्यमी व्यवसायी एवं सर्वसाधारण ऋणीमा गम्भीर असर गरेको छ,’ उनले भने ।
पूँजीगत खर्च हुन नसक्ने समस्या लगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको उनले बताए । आर्थिक समृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने भन्दै मल्लले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए ।