जेठ ३१, काठमाडौं । पूर्वी क्षेत्रका उद्योगीव्यवसायीहरुले कोभिड–१९ का कारण प्रभावित सबै ऋणीहरुको ब्याज मिनाहा गर्न माग गरेका छन्।
मोरङ व्यापार संघको आयोजनामा आइतवार भर्चुअल रुपमा आयोजित कार्यक्रमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा प्रदेश नं १ का उद्योगीव्यवसायीले ब्याज मिनाहाका साथै कर्जा भुक्तानीको म्याद थप गर्न पनि माग गरे ।
व्यापार संघका अध्यक्ष प्रकाश मूदन्डाले सरकारद्वारा घोषित लकडाउनको अवधिकालागि बैंकहरुले लिंदै आएको सेवा शुल्क, नविकरण शुल्क आदि खारेज गरिन आवश्यक रहेको बताए । साथै उनले बैंक ग्यारेन्टी, प्रशासनिक आदि शुल्कहरु न्यूनीकरण गरी उद्योगीव्यवसायीहरुको उधारो एवं पूँजी संरक्षण गर्ने स्रोतहरुको उपयोगितामा जोड दिनुपर्ने बताए ।
बैंकहरुको प्रशासनिक एवं व्यवस्थापन खर्च, अन्तत : ऋणीहरुलाई नै भार पर्ने हुँदा त्यस किसिमका खर्चहरु न्यूनिकरण गर्ने/ गराउने नीतिहरु ल्याइनु पर्ने भन्दै उनले बैंकिङ प्रयोजनकालागिमालपोत कार्यालयमा दृष्टिबन्धक गराउँदा लाखौं रकम बराबरको शुल्क बुझाउनु पर्ने व्यवस्थाले उद्योग/ व्यवसायहरुको लागत खर्च अत्याधिक बढ्ने गरेकोले त्यस्ता शुल्कलाई न्यूनिकरण गर्दै हालको दरको २५ प्रतिशत बराबर कायम गर्न पनि माग गरेका छन् ।
अध्यक्ष मुन्दडाले उद्योगीव्यवसायीका लागि कर्जा र पुनर्कर्जा लिने प्रक्रियालाई सरलीकृत र सर्वसुलभ पहुँचको व्यवस्था गरिनुपर्ने एवं पुनर्कर्जाका व्यवस्थाहरुलाई सशक्त रुपले कार्यान्वयनमा ल्याइनुपर्ने सुझाव पनि दिएका छन्।
कोभिड १९ को प्रभावका कारण गम्भीर असर परेका एवं बन्द भएका पर्यटन, यातायात, होटल, पोल्ट्री, रिसोर्ट आदि क्षेत्रका लागि विशेष सहुलियतसहित न्यून दरमा कर्जा नवीकरण गर्न पनि उनले माग गरे ।
‘लकडाउन तथा निषेधाज्ञाका कारण श्रमिकलाई ऋण भुक्तानी गर्न असहज भइरहेकोले निजहरुको लागि कर्जा भुक्तानी तालिकाको पुनरतालिकीकरण एवं ब्याज मिनाहा गरिनुपर्छ’, उनले भने, ‘बिनाकर्जा सञ्चालनमा रहेका उद्योगव्यवसायलाई सम्बन्धित संघसंस्थाको सिफारिसमा न्यूनतम ब्याजदरमा बिनाधितो कर्जाको व्यवस्था गरिनुपर्छ तथा उद्योगीव्यवसायीले लगानीका लागि आफ्नो सम्पत्ति धितो राखेर लिने व्यक्तिगत कर्जाको सीमा बढाइनुपर्छ।’