नवलपुरको बौदीकालीको सुन्तलाले बजार पाएन

नवलपुर । सहजरूपमा यातायातको पहुँच नपुग्दा नवलपुर (बर्दघाट–सुस्तापूर्व)को पहाडी गाउँमा उत्पादित सुन्तलाले बजार पाउन सकेको छैन । उत्पादित सुन्तला बजारसम्म पुर्‍याउन नसक्दा कृषक आर्थिक नोक्सानी बेहोर्न बाध्य छन् ।      जिल्लाको पहाडी गाउँपालिका बौदीकाली सुन्तलाको पकेट क्षेत्रका रूपमा छ । सडक सञ्जाल अभावकै कारण बौदीकाली–५ को बबक गाउँमा उत्पादन भएको सुन्तला बजार क्षेत्रसम्म पुर्‍याउन नसक्दा कृषकलाई आर्थिक क्षति पुगेको हो । उक्त गाउँमा उत्पादन भएको कम्तीमा पनि ३० क्विन्टल सुन्तला कुहिने अवस्थामा पुगेको कृषकको गुनासो छ ।      सुगम जिल्लाका रूपमा रहेको सो भेगमा अझै सहज तरिकाले यातायातका साधन पुग्न नसक्दा कृषक मर्कामा परेका हुन् । बबकका ६२ परिवारले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । सुन्तला उत्पादन राम्रो भएको भए पनि यस वर्ष कृषकले समयमा बजार पुर्‍याउन नसक्दा उत्पादन भएका आधा सुन्तला खाडलमा पुरेको कृषकले गुनासो गरेका छन् ।    बौदीकाली–५ का वडाध्यक्ष खिमबहादुर थापा खरुमगरले जिल्लाको मागभन्दा बढी सुन्तला उत्पादन हुने भए पनि यातायात असुविधाका कारण सुन्तला कुहिएर नष्ट हुने गरेको जानकारी दिए । ‘स्थानीयस्तरमा उत्पादन भएका सुन्तला कृषकले आधाभन्दा बढी त डोकोमा बोकेर बजारसम्म पुर्‍याएर बेच्ने गरेका छन्,’ खरुमगरले भने, ‘यातायात सहज भएको भए सबै सुन्तला विक्री हुने थियो, तर यातायातको पहुँच नहुँदा उत्पादित सुन्तला बोटमै कुहिने अवस्था छ ।’ किसानले मेहनत गरेर उत्पादन गर्ने सुन्तलाले बजार नपाउँदा उनीहरूमा मानसिक असरसमेत गर्ने गरेको वडाध्यक्ष खरुमगरले बताए । कृषकले बोकेर नै सुन्तला बजार पुर्‍याउने गरेको भए पनि बजारमा व्यापारीले उचित मूल्य नदिँदा थप मर्का परेको उनको भनाइ छ । ‘बाटोको कारण उत्पादित सुन्तला बजारसम्म पुर्‍याउन समस्या छ,’ वडाध्यक्ष खरुमगरले भने, ‘बोकेरै बजार पुर्‍याएको सुन्तलाको पनि व्यापारीले उचित मूल्य दिँदैनन् भन्ने किसानको गुनासो छ ।’ बजार मूल्यभन्दा निकै कममा व्यापारीलाई सुन्तला विक्री गरेर कृषक फर्किनुपर्ने बाध्यता रहेको उनले बताए । रासस