चैत २०, काठमाडौं। सिमरा औद्योगिक पूर्वाधार निर्माण गर्न नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) र विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)बीच सम्झौता भएको छ। बैंक र सेजबीच सिमरा सेजको ब्लक 'ए' र 'बी' मा उद्योग विस्तार गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
६ महिनाभित्र बैंक र सेजले गर्नुपर्ने कामको बारेमा उल्लेख गरिएको सम्झौतापत्रमा निफ्राका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र सेजका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले हस्ताक्षर गरेका हुन्।
सिमरामा पूर्वाधारण निर्माणमा हात हाल्न लागेको निफ्राले पाँचखालमा पनि सेज निर्माणका लागि प्राविधिक र वित्तीय संभाव्यताका पक्षमा अध्ययन गर्नेछ। दुवै क्षेत्रको सेज निर्माणका लागि पाँच अर्ब ७० करोड रुपैयाँ लगानी गरिने भएको छ। यो पीपीपी मोडेलमा एउटा पाइलट प्रोजेक्टका रुपमा अघि बढाइएको छ।
सम्झौताअनुसार सेजमा लजिष्टिक सपोर्ट प्राधिकरणले गर्छ। यस्तै पूर्वाधारको काम निफ्राले गर्ने गरी सहमति भएको छ। निफ्राले सुरुमा सेजमा पूर्वाधार निर्माणका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता खोज्नेछ। यसको लागि लगानीको व्यवस्था समेत बैंकले गर्नेछ।
साथै बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग तथा सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विशेष आर्थिक क्षेत्रहरुको विकास तथा कार्यान्वयन गर्न सम्झौता भएको बताइएको छ ।