चितवनमा आलुको उत्पादन घट्ने

चितवन । चितवनमा यस वर्ष आलुको उत्पादन घट्ने भएको छ । बेमौसमी वर्षात्का कारण आलु उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्रले बताएको छ । केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनका अनुसार जिल्लाको एक हजार ९५९ हेक्टर क्षेत्रफलमा आलु लगाइएकोमा ३५ हजार ७३२ मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको छ । गतवर्ष सोही क्षेत्रफलको जमिनमा ३७ हजार ६१३ मेट्रिकटन आलु उत्पादन भएको थियो । गतवर्ष १९ दशमलव दुई मेट्रिकटन प्रतिहेक्टर उत्पादकत्व रहेकोमा यस वर्ष उत्पादकत्व घटेर १८ दशमलव २४ मेट्रिकटनमा आउने अनुमान गरिएको उनले जानकारी दिए । आलुमा पछौटे डडुवा रोगसमेत रहेकाले उत्पादनमा कमी आउने देखिएको हो । सूचना अधिकारी पुनले भने, ‘आलु थन्काउने समयमा चिसो बढेसँगै पानी परेर आलु उत्पादनमा समस्या आयो ।’ जिल्लामा विशेषगरी आलुखेती पूर्वी चितवन, भरतपुर महानगरपालिका र माडी क्षेत्रमा बढी हुने गरेको छ । आलु थन्काउने समयमा पानी परेकाले बारीमा रहेको आलु कुहिने समस्या हुने उनले जानकारी दिए । रासस