विकासमा लगानी खै ?

आर्थिक प्रगतिका लागि लगानी गर्नुपर्छ । लगानी व्यक्तिले पनि गर्छ, सरकारले पनि गर्छ । व्यक्तिले गर्ने लगानी पनि कि शिक्षा, स्वास्थ्य आदि जीवनस्तर उकास्ने कुरामा हुन्छ कि आयआर्जन बढाउने खालको । सरकारले गर्ने लगानीले पनि कि जनताको गुणस्तर सुधार्छ कि आमदानी बढाउँछ ।  तर, अहिले सरकारले गर्ने लगानी छैन भन्दा पनि हुन्छ । कर्मचारी पाल्नु र दैनिक प्रशासन चलाउनु पनि आवश्यक होला तर त्यसले देशको अर्थतन्त्रलाई गति दिँदैन ।  सरकारले जनताबाट करका रूपमा उठाएको रकम विकास निर्माणका लागि खर्च गर्ने हो । त्यस्तै ऋण लिएर पनि सरकारले खर्च गर्छ । ऋण जनताबाट पनि लिन सकिन्छ विदेशी संघसस्ंथाबाट पनि लिन सकिन्छ । यसरी ऋण लिएर नै सरकारले पूर्वाधार निर्माणको काम गरेको हुन्छ ।  पूर्वाधारको उपयोग भोलिका पुस्ताले गर्ने भएकाले त्यसको ऋण पनि तिनैले तिर्छन् । तर, त्यसरी ऋण लिएर बनाइएको आयोजनाले कमाउन सक्नुपर्छ वा कमाउने वातावरण बनाइदिनुपर्छ ।  उदाहरणका लागि सडकलाई लिन सकिन्छ । सडकले सीधै आम्दानी दिँदैन तर सडकका कारण आफ्नो उत्पादन बेच्न पाएपछि त्यसले आम्दानीको अवसर सृजना गरिदिन्छ । त्यसैले सरकारको काम पूर्वाधार निर्माण गर्नु हो ।  विदेशतिर ठूलाठूला पूर्वाधार पनि निजीक्षेत्रले नै बनाएको पाइन्छ । विमानस्थल, राजमार्ग निजीक्षेत्रले बनाएको हुन्छ र त्यसबाट टल उठाएर मुनाफा लिने उद्देश्य राखेको हुन्छ । नेपालमा निजीक्षेत्र ठूलो बन्ने क्रममा छ । तर, अहिले नै यति ठूला परियोजना कुनै एक कम्पनीले बनाइहाल्न सक्ने अवस्था छैन ।  सुरुङमार्ग बनाउने प्रयास नेपालको निजीक्षेत्रले गरेको थियो तर त्यो असफल भयो । निजीक्षेत्रले उद्योग कलकारखाना खोलेर उत्पादन विक्री गरी मुनाफा कमाउँछ । त्यस्तै विभिन्न खाले सेवा दिएर पनि मुनाफा कमाइरहेको हुन्छ । अर्थतन्त्रको जग सेवाक्षेत्रभन्दा उत्पादन क्षेत्र नै हो । उत्पादन भएपछि विक्री हुन्छ । उत्पादन गर्न श्रम, पूँजी, प्रविधि र व्यवस्थापन चाहिन्छ । यसले रोजगारी सृजना गर्छ । सेवाक्षेत्रले पनि रोेजगारी सृजना नगर्ने होइन तर थोरै जनशक्तिबाट नै काम चलाउन सकिन्छ ।  यसरी नेपालमा उत्पादनका लागि सरकार र निजीक्षेत्र दुवैको लगानी आवश्यक देखिए पनि दुवै लगानी गर्न पछि परेका छन् । सरकारले पूँजीगत खर्च गर्न सकेको छैन । गरेको खर्चमा पनि निकै ठूलो भ्रष्टाचार भएको हुन्छ । त्यसैले त्यस्तो पूर्वाधारको दिगोपनामा आशंका छ । हतारहतार असार लागेपछि सडक पीच गर्न थालिन्छ । एउटै सडक वर्षैपिच्छे पिच गरेको पनि देखिन्छ । यसो हुनु भनेको बजेट सक्ने मेलो मात्रै हो । त्यसरी हतारमा बजेट सके पनि पूँजीगत खर्च दयनीय देखिन्छ । त्यसैले पूर्वाधार निर्माणमा नेपाल निकै सुस्त छ ।  निजीक्षेत्रले पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न भन्दा व्यापार गर्न सजिलो मानेको छ । सरकारको नीति पनि उद्योग खोल्नभन्दा व्यापार गर्न सजिलो बनाउने खालको छ । त्यही भएर सरकार र निजीक्षेत्र दुवैको लगानी राम्ररी हुन नसकेको हो ।  सम्मोद अधिकारी लाजिम्पाट, काठमाडौं ।