भदौ १३, म्याग्दी । जिल्लामा संघीय र प्रदेश सरकारमार्फत १० मोटरेबल पुल निर्माणाधीन छन् । पूर्वाधार विकास कार्यालयमार्फत हालै अन्नपूर्णको वडा नं ७ र ८ को सिमानामा पर्ने संसारीखोलामा १६ मिटर लामो सडक पुल निर्माण भएको छ ।
मालिका र धवलागिरि गाउँपालिकाको सिमानामा बन्न लागेको ४० मिटर लामो भारबाङखोला मोटरेबल पुलको ६५ प्रतिशत र अर्कलाकोे मराङखोलामा निर्माणाधीन २५ मिटर लामो पुलको ४० प्रतिशत प्रगति भएको छ ।
मालिका गाउँपालिकाको छ्यारछ्यारेमा ४० मी लामो ट्रस प्रविधिको मोटरेबल पुलको दुईतर्फ फाउण्डेशन खनिएको पूर्वाधार विकास कार्यालयका इञ्जीनियर सन्तोष अर्यालले जानकारी दिए । पुनर्निर्माण प्राधिकरणले अन्नपूर्णको ५ र ६ नं वडाको सिमाना घारखोलामा २५ मिटर लामो पुल निर्माणाधीन रहेको बताएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना राहुघाट नदीमाथि ४० मिटर लामो मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । अन्नपूर्णका घट्टेखोलामा गत वर्ष ४० मिटर लामो मोटरेबल पुल निर्माण गरेको आयोजनामार्फत सञ्चालित रुप्सेखोला मोटरेबल पुलमा बाढीले क्षति पुर्याएपछि रोकिएको छ ।
भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टरले बेनी–जोमसोम सडकअन्तर्गत अन्नपूर्णको महभिर र पोखरेबगरमा दुई मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुर्याएको छ । ८०/८० मी लामो दुईओटै पुल निर्माणका लागि विसं २०७४ मा हिम सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रू. १९ करोडमा ठेक्का लिएका थिए ।
सबै संरचना निर्माण सकिएको दुईओटै पुलमा पहुँचमार्गले जोडेर रङरोगन गरी दशैँअघि नै सञ्चालनमा ल्याउने तयारी भएको छ । सोही कार्यालयमार्फत रघुगंगा गाउँपालिकाको बेगखोलामा ७० मिटर लामो मोटरेबल पुल बनाउन आह्वान गरिएको ठेक्काको प्रस्ताव मूल्यांकनको क्रममा रहेको इञ्जीनियर आषिक रिजालले बताए ।
मंगला गाउँपालिकाको बरङ्जा र अर्मनका तीनओटा वडालाई सिधा सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा निर्माणाधीन दुई ओटा मोटरेबल पुल यसै आवभित्र सकिँदैछन् । सडक डिभिजन कार्यालय बागलुङले दुईओटै पुल निर्माण गर्न विसं २०७५ पुसमा लुम्बिनी–प्राकृतिक जेभीसँग रू. २२ करोडमा ठेक्का सम्झौता गरेको थियो ।
असी मिटर लम्बाइ भएको माटेबगर–अर्मन जोड्ने पुलको ५५ र ११७ मिटर लम्बाइको फापरखेत–पखेर जोड्ने पुलको ६० प्रतिशत निर्माण सकिएको कार्यालयले जानकारी दिएको छ । संसारीखोलाबाहेकका जिल्लाका मोटरेबल पुल निर्धारित समयभित्र निर्माण सकिएका छैनन् ।
पर्याप्त मात्रामा उपकरण, मजदूर परिचालन गर्न, निर्माण सामग्री जुटाउन नसकेका निर्माण व्यवसायीले डिजाइन, कोरोनाको जोखिम, निषेधाज्ञा र प्राकृतिक प्रकोपको बाहना देखाएर ढिलासुस्ती गरेका छन् । रासस