३ वर्षसम्म पनि खुलेन ओलाङ्चुङ्गोला नाका, खाद्य सामग्री ढुवानीको समस्या

वैशाख ८, फुङ्लिङ । ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका तीन वर्ष लागुन्जेल पनि बन्द भएको छ । चीनबाट कोरोना भाइरस संक्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि टिप्ताला नाका बन्द भएको हो ।  कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भनी चीनले नाकामा आवतजावत बन्द गराएको थियो । गत माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न/नगराउन जानकारी आएको फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङ्गोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताए । सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको थियो । आफ्नो देशमा कोरोना भाइरसको संक्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलन सक्ने भनी यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन रिउ प्रशासनबाट अनुरोध भएसँगै नाका बन्द भएको थियो ।  वर्षा याममा याङ्मा, थुदाम, ओलाङ्चुङ्गोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँ बजारकै भरमा रहने गरेका छन् । वर्षामा बाढीपहिरालगायत कारण स्थानीयवासी सदरमुकाम फुङ्लिङ्सम्म आइपुग्न सक्दैनन् ।  फक्ताङलुङ—७ ओलाङ्चुङ्गोला, याङ्मा र घुन्सा क्षेत्रका समुदायको ८० प्रतिशत चीनको बजारमा निर्भर रहेको वडाध्यक्ष छेतेन शेर्पा भोटेले बताए । उनले भने, ‘लामो समयसम्म नाका बन्द हुँदा दैनिक जीवनमा आवश्यक खाद्य तथा अन्य सामग्री चीनदेखि आउन बन्द भएको छ । याक, चौंँरीका लागि नुनदेखि अत्यावश्यक खाद्य सामग्रीमा ल्याउन पाइएको छैन ।’  नाका बन्द भएपछि चीनसँगको व्यापार ठप्प भएको वडाध्यक्ष भोटेले बताए । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा पर्ने ओलाङ्चुङ्गोला क्षेत्रका समुदायको प्रमुख व्यवसाय व्यापार र पशुपालन हो ।  त्यस्तै समुद्र सतहदेखि चार हजार २०० मिटरमा पर्ने याङ्माका समुदाय पनि चीनको बजारमा निर्भर हुँदै आएको थियो । लामो समयसम्म पनि टिप्ताला नाका नखुलेपछि आवश्यक खाद्य सामग्री ताप्लेजुङको सदरमुकामदेखि ढुवानी गर्दै आएको कञ्चनजंघ संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सहायक कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए ।  उनले भने, ‘विगतदेखि नै याङ्माका समुदाय चीनको बजारमा निर्भर हुँदै आएको थियो । याङ्मा बस्तीमा नाका बन्द भएदेखि उनीहरू नेपाली बजारमा भर पर्न थालेका छन् ।’ नाका बन्द भएपछि आर्थिक संकट हुँदै आएको चेम्जोङले बताए । चीन यहाँको चौंँरी, याक तथा पशुजन्य खाद्य पदार्थको बजार हो ।  फक्ताङलुङ –७ वडा कार्यालयका कार्यालय सहायक तेन्जिङ वालुङका अनुसार चौंँरी, याक, घिउ, छुर्पी, याक– चौंँरीका मासु, जमर (याकको पुच्छर) चीनको बजारमा व्यापार हुने गरेको छ । उनले भने, ‘१६ महीनादेखि नाका बन्द भएको छ ।  चीनसंँग व्यापार चलेको छैन । व्यापार नभएपछि आयआर्जनको बाटो नै बन्द भएको छ ।’ पशु व्यवसायदेखि उत्पादित पशुजन्य वस्तुले बजार नपाएपछि पशु व्यवसायी आर्थिक संकटको चपेटामा परेको वालुङले बताए । ओलाङ्चुङ्गोलामा बुनिएका गलैंँचाले चीनमा राम्रो बजार लिएको थियो ।  गलैंँचा विक्री गरेरै मानिसहरूले राम्रो आयआर्जन गरेका थिए तर तीन वर्षदेखि गलैंँचा घरमै थुप्रिराखेको ओलाङ्चुङ्गोलाबासी लामा भुजुङ शेर्पाले बताए । उनले भने, ‘मेरा घरमा ५० ओटा गलैंँचा थुपारिराखिएको छ । जिल्ला सदरमुका फुङ्लिङ बजारमा लगेर बेचेमा कम मूल्यमा विक्री गर्नुपर्छ । त्यसैले घरमै राखेको छु ।’ घर खर्च टार्न उत्पादन गरिएको गलौँचा सदरमुकाम पुर्‍याएर उत्पादन लागतभन्दा कम मूल्यमा विक्री गर्न बाध्य भएको शेर्पाले बताए ।  ओलाङ्चुङ्गोलाको नाका हुँदै चीन पठाउन इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका विभिन्न स्थानमा उत्पादित चिराइतो धेरैअघि ओलाङ्चुङ्गोलामा पुर्‍याएर राखिएको थियो । लामो समयसम्म नाका बन्द हुँदा फेरि सदरमुकाम हुँदै भारतको सिक्किम पठाउनुपरेको व्यापारी दावाच्युङ्दाक शेर्पाले बताए ।  चीनमा चिराइतो निकासी नभएपछि ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुम जिल्लाका चिराइतो कृषक निरास भएको सिरिजंघा गाउँपालिका—७ यामफुदिन निवासी मनकुमार राईले बताए । उनले भने, ‘पहिला पहिला चिराइतो खोज्दै व्यापारी घरघर आउँथे तर आजभोति त्यसको कुरा गर्ने व्यापारी भेटिँदैन ।’ चीनतर्फ चिराइतो निर्यात हुन छाडेसँगै खेती गर्न छाड्दै गएको फक्ताङलुङ–६ निवासी चिराइतो कृषक राजकुमार राईले बताए ।  खाद्य सामग्री ढुवानीको समस्या लामो समय टिप्ताला नाका बन्द हुँदा गोला, याङ्मा, घुन्सा र फलेका साथै फक्ताङलुङ गाउँपालिकाका विभिन्न बस्तीमा बस्ने समुदाय सदरमुकाम फुङ्लिङ बजारमा निर्भर रहनुपरेको छ ।  सदरमुकामदेखि ओलाङचुगोलासम्म ५० केजी चामल पुर्‍याउँदा प्रतिकेजी रू. १०० ढुवानी भाडा पर्न आउँछ । ५० केजी चामल एक बोराको रू. पाँच हजार ढुवानी खर्च पर्न आउने फक्ताङलुङ–७ का वडाध्यक्ष शेर्पाले बताए । सदरमुकाम फुङ्लिङदेखि एक दिनमा लेलेपसम्म गाडीमा सामान पुर्‍याउन सकिन्छ ।  लेलेपदेखि खच्चर र मान्छेले बोकेर ओलाङ्चुङ्गोला, याङ्मा, फले र घुन्सा जस्ता तीन हजार २०० देखि चार हजार ५०० मि सम्मको उचाइका बस्तीसम्म खाद्य सामग्री ढुवानी गर्नुपर्छ । सामानमा परेको मोलभन्दा ढुवानीमा तीन गुणा बढी खर्च हुने शेर्पाले बताए ।  नाका बन्दा नहुँदासम्म चीनदेखि टिप्ताला नाकासम्म चीनको गाडीले सामान ल्याउने गरेको थियो । सीमा क्षेत्रदेखि आफ्नै याकमा सामान बोकाएर घरसम्म पु¥याइने गरेको शेर्पाले बताए । उनले भने, ‘चीनदेखि सामान ल्याउँदा ढुवानी खर्च एकदम कम हुन आउँछ, तर सदरमुकामदेखि ल्याउँदा सामानको खरीद मोलभन्दा तीन गुणा बढी खर्च पर्न आउँछ ।’ कतिपय परिवारमा सामान ढुवानी गर्न पनि समस्या हुने गरेको शेर्पाले बताए । रासस