संक्रमणको जोखिम बढेपछि धमाधम होटल बुकिङ रद्द

बागलुङ । चलायमान हुँदै गरेको बागलुङको होटल व्यवसाय  कोरोना संक्रमणको जोखिम बढेसँगै पुनः संकटमा पर्न थालेको छ । कोरोनाका कारण धराशयी बन्न थालेका होटल केही महीनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेको खबर सार्वजनिक भएपछि होटल व्यवसाय प्रभावित हुन थालेको होटल व्यवसायी बताउँछन् ।      कोरोनाको जोखिमयुक्त १४ जिल्लाको सूचीमा पर्नु र बागलुङका पर्यटकीय क्षेत्र वैशाख मसान्तसम्म बन्द गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङको निर्णयका कारण होटलमा अग्रिम रूपमा भएको बुकिङसमेत धमाधम रद्द भएको होटल व्यवसायीले गुनासो गरेका छन् ।          प्रशासनले भिडभाड हुने पर्यटकीय क्षेत्रमा वैशाख मसान्तसम्म प्रवेशमा रोक लगाएपछि होटल बुकिङ रद्द भएको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए । ‘जिल्लामा अवलोकन भ्रमण गर्नेको चाप ह्वात्तै बढेको थियो । तर कोरोनाको जोखिम बढेको भन्दै पर्यटकीय स्थलमा वैशाख ८ गतेदेखि प्रवेशमा रोक लगाइएपछि अग्रिम बुकिङ भएका होटल धमाधम रद्द भएका छन्,’ उनले भने, ‘कोरोनाले थलिएको होटल व्यवसाय उठ्न थालेको समयमा पुनः सुस्ताएको छ ।’      कोरोनाको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय बागलुङले मठमन्दिर प्रवेश गर्न र सभासम्मेलन गर्न रोक लगाएपछि होटलहरू सुनसान भएका हुन् । लामो समय कोरोनाले गर्दा ठप्प भएका होटल व्यवसाय लकडाउन खुुलेपछि सञ्चालनमा आएका थिए । बागलुङका होटल चल्ने भनेकै बागलुङको प्रसिद्ध कालिका मन्दिर, विश्वकै लामो दाबी गरिएको ५६७ मिटर लामो बागलुङ बांगेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुंगे पुल, पञ्चकोट र शालिग्राम संग्रहालय हेर्न पर्यटक आउने गरेका थिए । कालिका मन्दिर र मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीले गर्दा नै बागलुङका होटल व्यवसायी चलेको, तर अहिले मठमन्दिर प्रवेशमा रोक लगाउँदा आफूहरू मारमा परेको व्यवसायीको गुनासो छ । भर्खर व्यापार शुरू भए पनि कोरोनाका कारण फेरि बन्द गर्नुपर्ने अवस्था आएको होटल राजनका सञ्चालक एञ्जिल शाक्यले बताए । रासस