राष्ट्र उत्थानको आईपीओ फागुन ४ गतेदेखि निष्कासनमा, यो वर्षका लघुवित्तमध्ये ठूलो आईपीओ

माघ २५, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन ४ गतेदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले रु. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो। निष्काशन गरिने कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता शेयर कर्मचारीहरूलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। यो वर्ष आइपीओ जारी गरेका मध्ये राष्ट्र उत्थानको आइपीओ नै सबैभन्दा ठूलो भएको राष्ट्र उत्थान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सुधिर प्रसाद लोहनीले बताए । आइपीओमा छिटोमा फागुन ८ गतेसम्म र उक्त अवधिसम्म माग अनुसार आवेदन नपरे ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेवसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २६ करोड रुपैयाँ पुग्नेछ। लघुवित्तको संस्थापक सेयरमा ६४ प्रतिशत हिस्सा तीन ओटा बलिया वित्तीय संस्थाको रहेको कार्यकारी निर्देशक लोहनीले बताए । राष्ट्र उत्थानमा नेपाल ग्रामीण विकास संस्थाको ७ लाख ५० हजार कित्ता, राष्ट्रिय वाणिज्य बैंकको ५ लाख ५० हजार कित्ता र प्रभु बैंकको ३ लाख कित्ता शेयर स्वामित्व रहेको छ । आईपीओ निष्कासन पश्चात कम्पनीमा संस्थापक शेयरधनीको हिस्सा ६७ दशमलव ३१ प्रतिशत र कर्मचारीसहित सर्वसाधारण शेयरधनीको हिस्सा ३२ दशमलव ६९ प्रतिशत रहने छ ।  कम्पनीले चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्म खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १४८ प्रतिशत वृद्धि गरेको छ ।  कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा १ करोड ४८ लाख रुपैयाँ नाफा गरेकोमा चालू आवको सोही अवधिमा ३ करोड ६८ लाख रुपैयाँ नाफा गरेको छ ।  यस कम्पनीले ९५ ओटा शाखा कार्यालयमार्फत ग्रामीण भेगमा वित्तीय सेवा दिंदै आएको छ । दैलेख र कैलालीमा थप दुई ओटा शाखा खोल्ने तयारी अन्तिम चरणमा पुगेको कम्पनीले बताएको छ । आव २०७७/७८ को अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २६ दशमलव ९२ रुपैयाँ रहेको थियो भने कम्पनीले आर्थिक वर्ष २०७८/७९ को अन्यसम्ममा ३० दशमलव ९८ रुपैयाँ पुर्‍याउने प्रक्षेपण गरेको छ ।