भारतलाई दैनिक झन्डै रू. २ करोडको बिजुली पैंचो

विराटनगर । भारतमा कोइलाको अभावमा थर्मल प्लान्टबाट विद्युत्को आपूर्ति कम हुन थालेपछि विहार सरकारले नेपालबाट अफ आवरमा ३५५ मेगावाट विद्युत् पैंचो लिन थालेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार दैनिक औसतमा २ हजार मेगावाट आवर विद्युत् भारतले पैंचोका रूपमा लिन थालेको हो । भारतले नेपाललाई विद्युत् विक्री गर्दा नेपाली ९ रुपैयाँ ६० पैसाको दरले विक्री गर्छ । यस हिसाबका आधारमा २० लाख युनिटको ९ रुपैयाँ ६० पैसाका दरले १ करोड ९२ लाख रुपैया बराबरको विद्युत् नेपालले भारतलाई दैनिक १२ घण्टा सापटी अर्थात् पैंचो दिइरहेको छ । सुक्खा याममा नेपालमा विद्युत्को उत्पादनमा कमी हुँदा भारतले आफूले लिएको पैंचो फिर्ता गर्छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवं भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले भारतको विहार राज्यमा विद्युत्को माग भएअनुसार पैंचोका रूपमा अधिकतम रक्सौलबाट ८५ मेगावाट, दुहवीबाट १५० मेगावाट, रामनगरबाट ७० मेगावाट र ढल्केबरबाट ५० मेगावाट विद्युत् गरी अहिले भारतलाई ३५५ मेगावाट विद्युत् बेलुकी ६ बजेदेखि बिहान १० बजेसम्म दिने गरिएको छ । सरदरमा भारतले अहिले २ हजार मेगावाट आवर विद्युत् नेपालबाट खपत गर्दै आएको छ । कहिले कम र कहिले केही बेसी लिने गरेको छ । सबै विद्युत् स्टेशनबाट भारतले विद्युत् पैंचोमा लिएको हो । नेपाल विद्युत् प्राधिकरणले सुक्खा मौसममा विद्युत् फिर्ता लिएर आपूर्ति व्यवस्थापन गर्दै आएको छ । भारतले नेपाललाई विद्युत् विक्री गर्दा प्रतियुनिट  भारतीय ६ रुपया लिँदै आएको छ । जुन नेपाली ९ रुपैयाँ ६० पैसा हुन आउँछ । त्यसैलाई आधार मानेर अहिले नेपालले सापटी स्वरूप दिँदै आएको विद्युत्को रकम रू. १ करोड ९२ लाख बराबरको हुन जान्छ । प्रवक्ता भट्टराईका अनुसार भारत सरकारको ऊर्जा मन्त्रालयमा नेपालबाट विद्युत् खरीद गर्ने विषयमा आधिकारिक निर्णय नभएकाले विद्युत् सापटीका रूपमा प्रयोग भइरहेको छ । विक्रीको सम्झौता हुनासाथ नेपालले भारतलाई विद्युत् सापटीका रूपमा नभएर आधिकारिक रूपमा नै विक्री थाल्नेछ ।   भारतमा विद्युत्को अभाव चुलिएकाले चाँडै नै भारतको ऊर्जा मन्त्रालयले विद्युत् खरीद गर्ने विषयको सम्झौता नेपाल सरकारसँग गर्ने उनले खुलाए । नेपाल विद्युत् प्राधिकरणको दुहवी ग्रीडका प्रमुख राजेश रेग्मीले दुहवीबाट भारतको कटैया पावर हाउस र रूपनी कुसाश हुँदै भारतको कटैया पावर हाउसलाई बेलुका ६ बजेदेखि बिहान १० बजेसम्म अधिकतम १५० मेगावाट विद्युत् दिइरहेको बताए । उनले सुक्खा मौसम शुरू भएपछि भारतको कटैयाबाट प्रदेश १ को विद्युत्को माग पूरा गर्न पुनः सापटी फिर्ता विद्युत् लिइने र हिसाब मिलान गरिने जानकारी दिए । भारतसँग विद्युत् व्यापारको सम्झौता भई नसकेकाले अहिले एकअर्काको देशलाई खाँचो पर्दा बिजुली सापटी दिने गरिएको हो । रेग्मीका अनुसार अपर तामाकोशीबाट ढल्केवर, रूपनी हुँदै दुहवी आउने १३२ केभी प्रशारणमार्पmत भारतको कटैया पावर हाउसलाई १५० मेगावाटसम्म विद्युत् निर्यात गरिँदै आएको छ । केही महीना अघिसम्म साताको ३ दिन मात्र विद्युत् लिँदै आएको भारतको कटैया पावर हाउसले अहिले दैनिक रूपमा १२ घण्टा विद्युत् लिइरहेको छ ।

सम्बन्धित सामग्री

पैंचो बिजुलीको व्यवस्थापन

कोइलाको आपूर्ति कम भई मूल्य वृद्धि भएपछि भारतमा यसबाट विद्युत् आपूर्तिमा समस्या आएकाले भारतले नेपालबाट अफ आवरमा ३५५ मेगावाट पर आवर विद्युत् सापटी लिन थालेको छ । माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएसँगै नेपालमा अफ आवरमा विद्युत् खेर जाने अवस्था आएको छ । सुक्खा याममा विद्युत् उत्पादन कम भई आपूर्तिमा समस्या हुने गरेको छ भने वर्षा याममा बिजुली खेर जाने गरेको छ । यस्तोमा विद्युत् सापटी दिनु नेपालको हितमा छ तर यसलाई कसरी व्यवस्थित गर्ने भन्नेमा काम गर्न बाँकी देखिन्छ । अहिले भारतलाई समस्या परेकाले उसले नेपालको बिजुली सापटीमा लिएको हो । त्यसैले यसलाई नियमित गर्न कूटनीतिक पहल जरुरी छ । नेपाल र भारतबीच विद्युत् खरीद विक्रीका लागि निकै लामो समयदेखि वार्ता र छलफल हुँदै आएको छ । केही वर्षअघिसम्म नेपालको अडान र मागलाई भारतीय पक्षले त्यति चासो दिने गरेको थिएन । नेपालमै पनि पर्याप्त उत्पादनको अवस्था थिएन । तर, अहिले नेपालमा विद्युत् उत्पादन बढ्दै गएको छ भने नेपालको बिजुलीप्रति भारत तुलनात्मक रूपमा केही सकारात्मक पनि देखिएको छ । त्यसैले विद्युत् निर्यातको सम्भावना पनि बढेको छ । नेपालले विद्युत्को दिगो निर्यात गर्न सक्नेगरी उत्पादन गर्न सकेको अवस्था भने अझै छैन । नदीप्रवाही आयोजनाहरू बढी भएका कारण सुक्खा याममा नेपालले विद्युत् आयात गर्नुपर्ने अवस्था छ । यस्तोमा नेपालले विद्युत् बढी भएका बेलामा पैंचोका रूपमा भारतलाई दिने र सुक्खा याममा भारतसँग फिर्ता लिने नीतिले विद्युत् प्राधिकरणलाई माग र आपूर्ति व्यवस्थापन गर्न निकै सहयोग पुर्‍याउने देखिन्छ । साथै यस्तो पैंचोबाट बिस्तारै नेपाललाई विद्युत् खरीद विक्रीको तहसम्म पुग्ने क्षमता र आँट अभिवृद्धि गर्न सहयोग मिल्ने देखिन्छ । अर्थात् बिस्तारै बिजुली निर्यातको वातावरण बन्दै छ । नेपालले विद्युत् निर्यातको सपना देखिरहँदा देशभित्र बिजुली आपूर्ति प्रणाली भने बिग्रिएको छ । लोडशेडिङ नभए पनि पछिल्लो समय बत्ती जाने क्रम बढेको छ । विद्युत् अनियमित हुँदा उद्योगहरूको नोक्सान भएको त छँ“दै छ, आमउपभोक्ताले पनि हैरानी भोग्नु परिरहेको छ । प्राधिकरणले वितरण प्रणाली कमजोर भएको स्वीकारेको त छ तर त्यसलाई सुधार्न त्यति सक्रियता देखाएको आभास भएको छैन । अझै पनि उद्योगहरूले आफूलाई आवश्यक परेको विद्युत् पाउन नसकेको गुनासो गरिरहेका छन् । विद्युत् महँगो हुँदा आयातित एलपीजी ग्यासमा खाना पकाउने प्रचलन कम गर्न सकिएको छैन । अतः विद्युत् निर्यात जति महत्त्वपूर्ण छ त्यति नै आपूर्ति प्रणाली सुधारेर गुुणस्तरीय विद्युत्मार्फत यसको आन्तरिक खपत बढाउनु पनि आवश्यक छ । विद्युत् निर्यातलाई प्राथमिकतामा राख्नु भनेको देशभित्र कम प्रयोग गर्ने भन्ने होइन । विद्युत् आदानप्रदानबाट दुवै देशले बिजुली बाल्न पाउँछन् । सुक्खा याममा नेपालले भारतबाट महँगोमा विद्युत् किन्छ तर वर्षा याममा सस्तो विद्युत् पैंचो दिइरहेको छ । अब यसको हिसाब मिलान परिमाणका आधारमा हुन्छ कि मूल्यमा हुन्छ त्यो महत्त्वपूर्ण हुन्छ । सापटी दिएजतिको परिमाणमा विद्युत् सुक्खा याममा पाउने हो भने नेपाललाई निकै फाइदा हुन्छ । यसरी विद्युत् पैंचो दिने र लिने काम सबै देशसँग हुनु राम्रो हो तर व्यवहारतः भारतसँग मात्र यस्तो आदानप्रदान सहज छ । अहिले भारतलाई समस्या परेकाले उसले नेपालको बिजुली सापटीमा लिएको हो । त्यसैले यसलाई नियमित गर्न कूटनीतिक पहल जरुरी छ । स्थायी व्यवस्था गर्न सकिए नेपालमा विद्युत् उत्पादनमा आन्तरिक र बाह्य लगानी दुवै बढाउन सकिन्छ । ऊर्जालाई रणनीतिक महत्त्वको वस्तुका रूपमा लिइन्छ । त्यसो हुँदा एकाध वर्षका लागि मात्रै हेरेर कुनै पनि देशले निर्णय लिँदैन । नेपाल र भारतबीच विद्युत् विनिमयका लागि सम्झौता भए पनि विद्युत् व्यापारका लागि भने सम्झौता हुन सकेको छैन । त्यसैले यसका लागि भारतलाई विश्वासमा लिन आवश्यक छ ।