काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो कारोबार दिन नेप्से परिसूचक २ दशमलव २४ प्रतिशत वृद्धि भएको छ । यससँगै परिसूचक २ हजार १४४ दशमलव १६ विन्दुमा पुगेको हो ।
परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आइतवार रू. २ अर्ब ३७ करोड बराबरको शेयर कारोबार भएकोमा सोमवार साढे २ अर्बभन्दा बढी कारोबार भएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ५२ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव ४३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ७८ प्रतिशत वृद्धि भएको छ ।
सोमवार २५७ धितोपत्रको ७६ लाख ३४ हजार १९० कित्ता शेयर ५० हजार २९९ पटकमा रू. २ अर्ब ५६ करोड बराबरको शेयर किनबेच भएको छ ।
यस दिन कारोबारमा आएका धितोपत्रमध्ये बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २३२ पुगेको छ ।
शेयर मूल्य सर्वाधिक बढ्नेको दोस्रोमा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएर रू. ५३८ दशमलव ४० पुगेको छ ।
सोमवार सबैभन्दा बढी कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ८ दशमलव ३७ प्रतिशत घटेको छ । यससँगै योजनाको इकाई मूल्य रू. ९ दशमलव २० मा झरेको हो ।
यो सूचीमा दोस्रोमा सानिमा ग्रोथ फण्ड छ । उसको इकाई मूल्य ७ दशमलव ५१ प्रतिशत घटेर रू. ९ दशमलव २४ कायम भएको छ ।
यस दिन सर्वाधिक शेयर किनबेच शिवम् सिमेन्ट भएको छ । कम्पनीको रू. १४ करोड ८६ लाख बराबरको भएको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.६६२ पुगेको छ । सर्वाधिक शेयर खरीदविक्री हुने सूचीमा दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स छ । कम्पनीको रू. १० करोड ८४ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको शून्य दशमलव ४९ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ ।
सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ४ दशमलव १४ प्रतिशत वृद्धि भएको छ । यो सूचीमा दोस्रोमा वित्त समूह छ । उक्त समूहको परिसूचक ३ दशमलव ६१ प्रतिशत वृद्धि भएको छ ।