जिम्बाबवेका सिकन्दर राजा इपीएल खेल्न बिराटनगरमा आबद्ध

जिम्बाबवेका सिकन्दर राजा एभरेष्ट प्रिमियर लिग(ईपीएल) खेल्न बिराटनगर वरियर्समा आबद्ध हुनुभएको छ । बिराटनगरले आफ्नो पहिलो विदेशी खेलाडी भित्र्याउने क्रममा सिकन्दर राजासँग सम्झौता गरेको हो । बिराटनगरले सामाजिक सञ्जालमा सिकन्दर राजासँगको सम्झौताको पुष्टि गरेको छ । पाकिस्तानको सियालकोटमा जन्मिनुभएका ३५ वर्षीय सिकन्दर सन् २००२ मा बुवाआमासँगै जिम्बाबवे सर्नुभएको थियो । उहाँ दाहिने हाते ब्याट्सम्यान र दाहिने हाते अफ स्पिन बलिङ गर्नुहुन्छ । जिम्बाबवेका लागि १७ टेष्ट, १०५ अन्तर्राष्ट्रिय एकदिबसीय र ४२ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभएका सिकन्दरले अन्तर्राष्ट्रिय क्रिकेटमा चार शतक लगाउनुभएको छ । टी ट्वान्टीमा उहाँले १०६ को स्ट्राइक रेटले एक अद्र्धशतकसहित ५२४ रन बनाउनुका साथै १३ विकेट लिनुभएको छ । सन् २०१३ को सेप्टेम्बर महिनामा उहाँले पाकिस्तान बिरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा पर्दापण गर्नुभएको छ ।