माण्डु हाइड्रोपावरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले असार २८ गतेदेखि साउन ११ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ साउन २१ गते बाँडफाँट गरेको हो । सर्वसाधारणमा दोस्रो चरणमा विक्री गरिने आईपीओमध्ये १० प्रतिशत दरको १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिएको थियो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार १० कित्ता देखि १ हजार ५०० कित्तासम्म माग गर्ने १३ हजार ६३६ आवेदकहरूलाई १० कित्ता र २० कित्तादेखि १ हजार ५०० कित्तासम्म माग गर्ने ५ हजार ६६५ जनामध्ये गोलाप्रथाबाट ४ जनालाई थप ४ कित्ता गरी सम्पूर्ण कित्ता आईपीओ बाँडफाँट गरिएको हो ।  कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ विक्री गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ विक्री खुला गरिएको छ । स्थानीयमा भने साउन २६ गतेसम्म आईपीओ विक्री गर्ने जानकारी कम्पनीले दिएको छ ।  कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात् २ लाख ७२ हजार ७३० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको हो । स्थानीयका लागि विक्रीमा आएको शेयर खरीदका लागि ललितपुरको बागमती गाउँपालिका वडा नं. १ र २, मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ५,६, ७ र ८ तथा इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ का स्थानीयले आवेदन दिन सक्नेछन् । कम्पनीले मकवानपुरमा २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०७५ चैत १९ गतेदेखि व्यापारिक उत्पादन शुरू भएको हो । उक्त आयोजनको कुल निर्माण लागत रू. ४ अर्ब १ करोड ९४ लाख ३७ हजार छ भने प्रतिमेगावाट औसत लागत रू. १८ करोड २७ लाख छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला