दिलीप हत्या मुद्दा : तीन वर्षसम्म ‘प्रारम्भिक अवस्थामै’

धनुषा जिल्ला अदालतको दोस्रो तलामा न्यायाधीश भीष्मराज प्रसाईंको इजलास कक्षमा बुधबार दिनभर बहस सुनेपछि मिथिला–५ श्रीपुरका रामजीवन महतोलाई लागेको थियो– छोरा दिलीपको हत्या गर्नेहरूलाई सजाय हुने गरी आजै फैसला हुनेछ । तर, दिनको अन्त्यमा न्यायाधीश प्रसाईंले आदेश गरे– ‘कानुन व्यवसायीहरूको बहस नसकिएको हुँदा हेर्दाहेर्दैमा राखेर मंसिर २९ गते बिहान १० बजे नियमित सुवाइ हुने गरी पेस गर्नू ।’ रामजीवनले चित्त बुझाए– ‘फैसला आज नभए पनि भोलि त भइजानेछ । तीन वर्ष कुरियो भने अरू एक दिन कुर्न के भो र ? कोही बात छैन ।’