काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको व्यवस्थापनमा सञ्चालित लक्ष्मी ईक्वीटी फण्ड र लक्ष्मी उन्नती कोषले लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेका छन् ।
योजना व्यवस्थापक लक्ष्मी क्यापिटलको साउन १४ गते बसेको सञ्चालक समिति बैठकले लक्ष्मी ईक्वीटी फण्डको इकाईधनीहरूका लागि ८ प्रतिशत र लक्ष्मी उन्नती कोषको इकाईधनीहरूका लागि ९ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सो लाभांश प्रयोजनका लागि दुवै योजनाले साउन ३२ गते एक दिन बुक क्लोज गर्न लागेका हुन् ।
बुक क्लोजको आधारमा दुवै योजनाको लाभांश साउन ३१ गते बुधवारसम्म कायम इकाईधनीहरूले मात्र प्राप्त गर्नेछन् । दुवै योजनाको नगद लाभांश करसमेत रहेको जानकारी दिएका छन् ।
लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड बन्दमुखी प्रकृतिको योजना छ । यस योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो ।
योजना सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डले २०७४ वैशाख ३ गते अनुमति दिएको थियो । असार मसान्तसम्म यस योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ८२ पैसा छ ।
त्यस्तै लक्ष्मी उन्नती कोष पनि बन्दमुखी प्रकृतिकै योजना छ । नेपाल धितोपत्र बोर्डबाट २०७६ फागुन २० गते योजना सञ्चालनको लागि अनुमति पाएको योजना व्यवस्थापकले ६ करोड ५२ लाख ६२ हजार ३६० इकाई विक्री गरेको थियो । यस योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य असार मसान्तसम्म १० रुपैयाँ ९९ पैसा छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोला