सखारैको मर्डिङ–वाक तुरेर अखबार नजर गर्दै आनन्दी मुद्रामा दुग्धयुक्त कफीको चुस्की लिँदै थिएँ म । टिणिनीको लयमा बज्यो मेरो वृद्ध जेबी फोनको चुलबुले घन्टी । उठाऊँ कि नउठाऊँको दुविधासाथ यसो नाम हेर्छु त फोनमा रहेछन् लँगौटिया टाइपका एक हँसमुख टोलिया मित्र । फोन उठाएँ । ‘नमस्कार ! म विद्यानाथ कोइराला भन्ने प्राणी हुँ ।’ नाथ सरले आफ्नै पाराको अन्तरंग, ठट्याइलो र रुचिकर शैलीमा भने । र, बिनाकुनै भूमिका मलाई बधाई दिए । न मेरो जन्मदिन, न मेरो नयाँ कृति प्रकाशन, न मलाई कुनै पगरी–पुरस्कार हातलागी— मलाई के को बधाई ? ‘सर्वजीत पुरस्कारको’, नाथ सरले कुरो खुलाए । मेरो चित्तमा पुरस्कार गतिलै हो भन्ने छाप पार्ने मनसायले हो सायद नाथ सरले भन्न भ्याइहाले, ‘अलि वर्षअघि मैले यो पुरस्कार पा’थेँ ।’ यसपछि नाथ सरको स्वरमा किञ्चित् प्रसन्नता ध्वनित भयो, ‘पुरस्कारमा अलिकता द्रव्य पनि छ है !’