जेठ २, काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) ले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १० करोड २३ लाख नाफा कमाएको हो । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनमा भने ९४ प्रतिशतले वृद्धि भएको हो ।
गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. ५ करोड २७ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको आम्दानी ८७ प्रतिशतले वृद्धि भएको छ । गत आवमा रू.९ करोड ८२ लाख आम्दानी गरेको उक्त कम्पनीको आम्दानी चालू आवमा बढेर रू.१८ करोड ४१ लाख पुगेको हो । चुक्तापूँजी रू.१ अर्ब २ करोड रहेको उक्त कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा जगेडामा रू. १७ करोड ७० लाख सञ्चित गरेको छ ।
त्यसैगरी सो अवधिमा कम्पनीको बीमा कोषमा रू. ४० करोड १५ लाख जम्मा भएको छ । यो बीमा कोष गत आवको तुलनामा २० प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीको बीमा कोषमा रू. ३३ करोड ३७ लाख थियो ।
कम्पनीको कूल बीमाशुल्क आर्जन गत आवको तुलनामा चालू आवमा ४२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कुल रू. ८७ करोड ६ लाख बीमाशुल्क आर्जन गरेको उक्त कम्पनीले चालू आवमा रू. १ अर्ब २५ करोड बीमाशुल्क आर्जन गरेको छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको जारी बीमालेखको संख्या १ लाख २७ हजार १९६ रहेको छ भने नविकरण गरिएको बीमालेखको संख्या १२ हजार ७१६ रहेको छ । सो अवधिमा कम्पनीले ३ हजार ३७० जनालाई कुल रू. ४७ करोड ९५ लाख दाबी भुक्तानी गरेको छ भने ७ हजार ४४ जनालाई रू. १ अर्ब ६ करोड दावी भुक्तानी गर्न बाँकी रहेको छ ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.१३ दशमलव २७, मूल्य आम्दानी अनुपात ४४ दशमलव ७६ गुणा र प्रतिशेयर नेटवर्थ रू.१५६ दशमलव ७८ रहेको छ ।