बाँडफाँट भएको २८ दिनमा सूचीकृत भयो रिलायबल नेपाल लाइफको आईपीओ

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको २८ दिनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत गराएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा साउन २३ देखि साउन २६ गतेसम्म विक्री गरेको आईपीओ साउन ३१ गते बाँडफाँट गरेको थियो । कम्पनीले संस्थापक र सर्वसाधारण समेतको कुल ४ करोड कित्ता आईपीओ नेप्सेमा भदौ २७ गते सूचीकृत गराएको हो ।  कुल कित्ता शेयरमध्ये संस्थापकतर्फ ७० प्रतिशत अर्थात् २ करोड ८० लाख कित्ता र सर्वसाधारणतर्फको ३० प्रतिशत अर्थात् १ करोड २० लाख कित्ता स्वामित्व छ । सर्वसाधारणतर्फको शेयर बिहीवार सार्वजनिक बिदा परेकाले आगामी आइतवारदेखि कारोबारमा आउनेछ ।  कम्पनीको शेयर कारोबार आरएनएलआई स्टक संकेतबाट हुने जानकारी नेप्सेले दिएको छ । कम्पनीको आरटीएस सेवा काठमाडौंको ज्ञानेश्वरस्थित रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कार्यालयबाट हुनेछ । सर्वसाधारणमा प्रिमियम मूल्यसमेत प्रतिकित्ता २५७ रुपैयाँमा कुल १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सर्वसाधारण तर्फको कुल कित्ता स्वामित्वमा वैदेशिक रोजगारीमा रहेका नेपालीको १२ लाख कित्ता, कर्मचारीहरूको ६ लाख कित्ता, सामूहिक लगानीकोषको ६ लाख कित्ता र बाँकी ९६ लाख कित्ता भने सार्वजनिक निष्कासनमार्फत आम सर्वसाधारणमा विक्री गरिएको हो ।  कम्पनीका कर्मचारीहरूमा भने प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गरिएको हो । जीवन बीमा कम्पनीहरूका लागि ५ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाबमोजिम कम्पनीले पनि चालू आर्थिक वर्ष ०८०÷८१ भित्र ५ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्ने प्रक्षेपण गरेको छ । थप १ अर्ब पूँजी कम्पनीले बोनस शेयरमार्फत संकलन गर्ने देखिन्छ । कति पायो खुला मूल्य ?  कम्पनीको पहिलो कारोबारका लािग नेप्सेले खुला मूल्य समेत निर्धारण गरेको छ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा त्यसको तीन गुणा सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा न्यूनतम प्रतिकित्ता १६२ रुपैयाँ २९ पैसादेखि अधिकतम प्रतिकित्ता ४८६ रुपैयाँ ८७ पैसासम्मको मूल्य रेञ्ज तोकिदिएको हो ।  नेप्सेले तोकेको खुला मूल्यकै आधारमा आइतवार स्पेशल प्रि ओपनिङ सेसनमा कम्पनीको शेयर कारोबार भएमा मात्र नियमित सेसनमा कारोबार शुरू हुनेछ ।