१० वर्षअघिको आर्थिक अभियानबाट : थानकोट–चापागाउँ भक्तपुर १३२ केभी प्रसारणलाइनको काम अघि बढाइने

थानकोट–चापागाउँ भक्तपुर १३२ केभी प्रसारणलाइनको काम अघि बढाइने भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको अवरुद्ध काम अघि बढाउनका लागि स्थानीय व्यक्तिसँग छलफल शुरू भइसकेको बताएको छ । ‘अवरूद्ध भएको प्रसारण लाइनलाई पुन: सुचारु गर्ने कार्यमा लागेका छौं,’ प्राधिकरण ग्रीड विकास विभागका महाप्रबन्धक गणेशप्रसाद राजले अभियानलाई भने । प्रसारण लाइन सम्पन्न गर्नका लागि थप १ अर्ब ५ करोड रूपैयाँ लाग्ने अनुमान प्राधिकरणले गरेको छ । सरकारले सो कामका लागि चालू आवको बजेटमा करीब रू ७ करोड छुट्याएको छ । ‘अपुग रकम अन्य स्रोतबाट खोज्नु पर्छ,’ प्राधिकरणको १३२ केभी प्रसारण लाइनका निर्देशक देव शर्मा पौडेलले भने, ‘त्यसका लागि एशियाली विकास बैंक (एडीबी) सँग ऋण सहयोग माग्ने तयारी भइरहेको छ ।’ सन् २००१ देखि निर्माण शुरू भएको सो प्रसारण लाइनको काम ललितपुरका स्थानीय बासिन्दाको अवरोधका कारण अघि बढ्न सकेको छैन । ‘अहिले सो काम पुन: अघि बढाउनका लागि पहल भइरहेको छ,’ उनले भने ।  उनका अनुसार चैत १ गतेदेखि सो विषयमा छलफल भइरहेको छ । स्रोतका अनुसार सो विषयमा स्थानीय बासिन्दासँग ऊर्जा मन्त्रालयका सहसचिव र प्राधिकरण ग्रीड विकास विभागका महाप्रबन्धकलगायतले छलफल गरिसकेका छन् ।  वर्ष ६, अंक २२८, बुधवार, २० वैशाख, २०६९