होटेलमा अकुपेन्सी एक तिहाइ मात्र

काठमाडौं। पछिल्लो समय नयाँनयाँ होटेल थपिने क्रम बढेको तर पाहुनाको आमगन त्यसअनुसार नहुँदा यो व्यवसाय घाटामा चलिरहेको व्यवसायीले बताएका छन् । पर्यटक आगमन र सम्बद्ध गतिविधि बढे पनि होटेल व्यवसाय क्षमताको एक तिहाइ अकुपेन्सीमा सञ्चालन भएको व्यवसायीको दाबी छ ।  होटेल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटेल व्यवसायमा मागभन्दा आपूर्ति बढी हुँदा घाटामा चलाउनुपरेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग भेटका क्रममा उनले यस्तो जानकारी गराएका हुन् । विदेशी पर्यटक नेपाल भ्रमणका लागि लालायित र सोधपुछ बढिरहेको भन्दै शाहले थपे, ‘तर, राजमार्ग तथा सडक, हवाई सञ्जाल र यातायातमा रहेको कठिनाइका कारण नेपाल आउने पर्यटक अन्यत्रै जाने गरेका छन् ।’ नयाँ क्षेत्रीय विमानस्थल पोखरा र भैरहवालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके मुलुकले पर्यटनबाट छिट्टै फड्को मार्न सक्ने उनले बताए । छिमेकी मुलुक चीन र भारत जोड्ने सडक सञ्जालमात्र तयार गर्न सके पनि पर्यटक आगमनको चाप बढ्ने सक्ने भन्दै उनले यी पक्षमा राज्यले छिट्टै ध्यान दिनुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमलाई सशक्त र प्रभावकारी ढंगबाट अन्तरराष्ट्रिय जगतमा मुलुकको पर्यटन प्रवर्द्धनमा सक्रिय बनाउन पनि हानले जोड दिएको छ । भेटका अनवसरमा मन्त्री किराँतीले पर्यटक आगमन सन्तोषजनक भएको बताए । अन्तरराष्ट्रिय जगतमा नेपालबारे राम्रो सन्देश प्रवाह भएको बताउँदै उनले मुलुकलाई समृद्ध बनाउन पर्यटनलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । हवाई सञ्जालसमेत विस्तार गरिने र यसबारेमा सम्बद्ध निकायमा पहलकदमी भइरहेको उनको भनाइ छ । मुलुकको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा समिति गठन भई छलफल भइरहेको भन्दै उनले पर्यटन दशकका लागिसमेत गृहकार्य शुरू भइसकेको बताए । पर्यटन बोर्ड सम्बन्धमा सार्वजनिक–निजी–साझेदारीको संरचनाका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको हुँदा त्यसको कार्यान्वयन गर्न व्यवसायीले आग्रह गरे । मुलुकको पर्यटनसम्बन्धी नीति नियमलाई सहजीकरण गर्दै लगानीमैत्री तथा पर्यटनमैत्री बनाउन आग्रह गरिएको छ । हाल संशोधनको क्रममा रहेको क्यासिनो नियमावलीलाई व्यवस्थित र प्रभावकारी बनाई क्यासिनो सञ्चालनमा सहजीकरण गरिनुपर्नेमा पनि व्यवसायीले जोड दिए ।

सम्बन्धित सामग्री

पर्यटन पुनरुत्थानको संकेत

दशैको लामो बिदा र विदेशी पर्यटक आगमनलाई सहज बनाइएपछि नेपालको पर्यटन क्षेत्रमा पुनरुत्थानको संकेत देखिएको छ । यतिबेला प्रमुख पर्यटकीय गन्तव्यहरूमा आन्तरिक र बाह्य पर्यटकको राम्रो उपस्थिति देखिन थालेको छ । कतिपय क्षेत्रमा त होटेलहरू भरिभराउ नै हुन पुगेको समाचार आइरहेका छन् भने कतिपय होटेलहरूको अकुपेन्सी दर निकै बढेको तथा रिजर्भेशन पनि राम्रै रहेको प्रतिक्रिया आइरहेका छन् । त्यसमा पनि अहिले आउने पर्यटक नेपालले गुणस्तरीय पर्यटनको अपेक्षा गरेका देशबाट आएका छन् । त्यसो हुँदा पर्यटनलाई गुणस्तर बनाउने मौकासमेत मिलेको छ । यद्यपि यसले निरन्तरता पाउनेमा भने आशंका नै छ ।   सरकारले स्वास्थ्य निर्देशिका लचिलो बनाएपछि विदेशी पर्यटक आगमन उल्लेख्य वृद्धि भएको हो । अध्यागमन विभागले तयार पारेको विवरणअनुसार हवाई र स्थलमार्ग हुँदै अक्टोबर १ देखि १६ तारीखसम्म ११ हजार ९ सय ८८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । तेस्रो मुलुकबाट नेपाल आउनेके संख्यामध्ये १९ प्रतिशत पर्यटक रहेका छन् । अघिल्लो महिना यस्तो संख्या १४ प्रतिशत थियो । सेप्टेम्बर महीनाभरको तुलनामा अक्टोबरको आधा नबित्दै विदेशी पर्यटकको आउने दर ५ प्रतिशतले वृद्धि भएको अध्यागमनका तथ्यांकले देखाउँछ । सेप्टेम्बर १ महीनामा भित्रिएका पर्यटकको तथ्यांकभन्दा अक्टोबर १६ तारीखभित्र नेपाल भित्रिएका पर्यटकको संख्या धेरै देखिनुले बाह्य पर्यटक आगमन सकारात्मक रहेको देखिन्छ । सरकारले विदेशी पर्यटकलाई क्वारेन्टाइनको व्यवस्था हटाएकाले आगामी दिनमा पर्यटक आगमन निकै बढ्ने देखिएको छ । अहिले खोप लगाएका पर्यटकलाई अनअराइभल भिसा दिन शुरू गरिएको छ । अहिलेको समय पदयात्रा र हिमाल आरोहणको हो । अनअराइभल भिसाले नेपाल पदयात्रा र हिमाल आरोहणका लागि खुलेको सन्देश दिएको छ । त्यसको प्रभाव बिस्तारै देखिन थाल्नेछ । तेस्रो मुलुकबाट पर्यटक आउन थालेपछि काठमाडौंलगायत मोफसलका तारे होटेलमा चहलपहल शुरू भएको छ । यसले पर्यटनक व्यवसायीमा उत्साह जगाएको छ । यही क्रममा पर्यटक आगमन भए कोभिडका कारण २ वर्षदेखि थलिएको पर्यटन क्षेत्र पुनरुत्थान हुने अपेक्षा छ । १ महीनाअघि प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा पर्यटक नै देखिँदैनथ्यो । त्यसैले कतिपयले सटरै बन्द गरेर बसेका थिए । तर, तिनले अहिले पसल खोल्न थालेका छन् । फाट्टफुट्ट पर्यटक देखापर्न थालेको र तिनले सोधपुछ गर्न थालेकाले व्यवसाय चल्ने विश्वास व्यवसायीमा फेला परेको छ । हस्तकलाका व्यवसायीहरू आशावादी बनेका छन् । नेपालको प्रमुख पर्यटन बजार भनेको भारतीय र चिनियाँ हुन् । अहिले पनि चीनबाट पर्यटक आगमन ठप्प छ । तर, भारतबाट भने पर्यटक आउन थालेका छन् । तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या अहिले बढेको हो । अमेरिका र यूरोपबाट आउने पर्यटकको संख्या बढ्नु नेपाली पर्यटनका लागि राम्रो अवसर पनि हो । यो १६ दिनको अवधिमा भारतबाट आउने पर्यटकको संख्या उल्लेख्य रहेको छ । ४ हजारभन्दा भारतीय पर्यटन नेपाल आएका छन् । नेपाल भित्रिने पर्यटकको कुल संख्याको एक तिहाइ भारतीय पर्यटक रहेका छन् । प्रख्यात भारतीय अभिनेता अनुपम खेरको टोली अहिले सिनेमा छायांकनका लागि नेपालमा रहेको छ । उनले नेपालका तस्वीरहरू सामाजिक सञ्जालमा हालिरहेका छन् जसले गर्दा भारतीय पर्यटकमाझ सकारात्मक सन्देश गइरहेको छ । नेपाल पर्यटन बोर्ड तथा पर्यटन व्यवसायीहरूले यस अवसरको फाइदा लिन भने नसकेको देखिन्छ । उनले सित्तैमा नेपालको प्रचार गरिरहेका छन् तर प्रचारका लागि तिनलाई उपयोग गर्न पर्यटन बोर्ड भने चुकेको छ । पैसा खर्च गरेर गर्नुपर्ने प्रचार सित्तैमा हुँदा पनि त्यसको लाभ लिन नखोज्नुमा भारतीय पर्यटकप्रति नेपालीहरूको हेराइ नकारात्मक हुनु हो । पश्चिमेली पर्यटक जति भारतीय पर्यटकले खर्च नगर्ने र मूल्यमा मोलमोलाइ गर्ने भएकाले यस्तो भएको हुन सक्छ । तर, नेपालको पर्यटनमा उनीहरूको योगदान ठूलो छ भन्ने बिर्सनु हुँदैन । डेढ वर्षभन्दा बढी समयदेखि ठप्प रहेको पर्यटन व्यवसायमा यी सकारात्मक संकेत देखिए पनि नेपालको अपेक्षा, लगानी र भौतिक संरचनाअनुसार भने ज्यादै न्यून हो । पर्यटक आगमन बढाउन नेपालमा कोरोनाको जोखिम कम छ भन्ने सन्देश प्रवाहित गर्नु आवश्यक छ । यसका लागि सरकारले काम गर्नुपर्छ । बेलायतले नेपाललाई रेड जोनबाट हटाए पनि अन्य यूरोपेली देशले हटाएका छैनन् । यसका लागि त्यहाँ कार्यरत कूटनीतिक क्षेत्र सक्रिय हुनुपर्ने देखिन्छ । साथै विश्वभरि नै झन्डै २ वर्षदेखि मानिसहरूले घुमफिर गर्न पाएका छैनन् । नेपालको अद्वितीय विशेषतासँग परिचित पश्चिमेली पर्यटक नेपाल आउन उत्साहित पनि छन् । तर, पर्यटनको बजारीकरण हुन सकेको छैन । कोभिडपछिको पर्यटनलाई कसरी अघि बढाउने भन्नेमा स्पष्ट कार्यनीति र त्यसको कार्यान्वयन हुन सकेको छैन । योजनबद्ध किसिमले सरकार र निजीक्षेत्रले यसमा काम गर्न ढिला भइसकेको छ । नेपाल खुला भएको सन्देश जानासाथ पर्यटन आगमनमा सकारात्मक वृद्धि हुनु खुशीको कुरा हो तर त्यसमा हाम्रो तदारुकता पुगेको छैन । पोखरालगायत केही पर्यटन क्षेत्रका व्यवसायीहरूले अहिले आन्तरिक पर्यटकका कारण राम्रो व्यवसाय पाएका छन् । दशैंको लामो बिदामा घुमघाम गर्ने प्रवृत्ति केही वर्षयता निकै बढेको छ । त्यसैको परिणति यस याममा आन्तरिक पर्यटकले घान्द्रुक, घोरेपानी, मार्दी, अन्नपूर्ण आधार शिविर, कफुचे, कोरी आदि स्थानमा पदयात्रामा जाने नेपाली पर्यटक उल्लेख्य मात्राा देखिएका छन् । दशैंका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दशैं पेश्की एवं बोनस दिने गरेका कारण अधिकांशले यसको उपयोग घुमफिरमा खर्चने गरेको पाइन्छ । अहिले पोखराका होटेलको अकुपेन्सी दर ३५ देखि ५० प्रतिशतसम्म रहेको छ । यो दरले होटेलहरू राम्रैसँग सञ्चालन हुन सक्छन् । आन्तरिक पर्यटनले अहिलेलाई पर्यटनमा निकै ठूलो टेको दिएको छ । तर, यसलाई निरन्तरता दिन व्यवसायीहरूले विशेष ध्यान दिनुपर्ने हुन्छ । पन्त नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

भारतीय पर्यटक भित्र्याउन अन्तरप्रदेश सहकार्य

डेढ वर्षपछि नेपाल–भारत सीमा नाकाबाट निजी सवारीसाधनको आवगमन शुरू भएपछि सीमावर्ती स्वदेशी शहरका होटेल व्यवसायले लय समात्नेमा व्यवसायी आशावादी देखिएका छन् । कोरोना महामारी नियन्त्रणका लागि बन्द गरिएको सिमाना अन्य आर्थिक र सामाजिक सरोकारहरू समान्य अवस्थामा फर्किइसक्दा पनि खुला गरिएको थिएन । निजी सवारीसाधनको आवागमनमा सरकारले औपचारिक प्रतिबन्ध नहटापछि भारतबाट निजी सवारीमा नेपाल आउन पाएका थिएनन् । यसको सीधा मार भारतीय पाहुनालाई लक्षित गरेर सीमाक्षेत्रमा खुलेका होटेल व्यवसाय तथा पर्यटन व्यवसायमा पर्ने नै भयो । तहगत सरकारहरूले आआफ्नो क्षेत्रका पर्यटकीय सम्भावनाको पहिचान र प्रचारलाई अघि बढाएर अन्तर तहगत सञ्जाल निर्माण गर्ने हो भने पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्न सक्छ । नेपालको पर्यटनमा भारतीय पर्यटकको योगदान कति रहेछ भन्ने भेउ पाउन डेढ वर्षको सीमा नाका बन्दबाट होटेल र पर्यटन व्यवसायमा परेको असरको ओजमात्र पनि पर्याप्त हुन सक्छ । सीमावर्ती शहरमा खुलेका होटेल सञ्चालकहरूले पटकपटक सरकारलाई सीमा खोल्न गुहारे । तहगत दबाबले नपुगेर प्रधानमन्त्रीलाई भेटेर समस्या सुनाएपछि सरकारले नाका खुला गर्‍यो । अहिले भारतीय सवारीसाधन सुविधा पास र अस्थायी पैठारी लिएर नेपाल भित्रिइरहेका छन् । सन् २०१९ को तुलनामा गतवर्ष कोरोना महामारीले पर्यटक आगमन र आम्दानी दुवै खस्किएको छ । पर्यटक संख्या ८१ प्रतिशतले घट्दा आय ७० प्रतिशतले संकुचित भएको छ । यसो त नेपालको पर्यटनमा संख्यात्मक हिसाबमा भारतीय पर्यटक बढी हुन्छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२० मा २ लाख ३० हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । तीमध्ये सबैभन्दा बढी ४० हजार ३ सय ३६ (१७ प्रतिशत) भारतीय रहेको सरकारीे तथ्यांक छ । भारतीय पर्यटकको ठूलो संख्या स्थलमार्गबाट भित्रिन्छ । नेपालसँग खुला सीमाना जोडिएको र भारतको करीब एक तिहाइ जनसंख्या समेटेका बिहार, उत्तर प्रदेश र पश्चिम बंगालजस्ता राज्यबाट स्थलमार्ग हुँदै आएका पर्यटकको सही तथ्यांक सरकारी प्रणालीमा अद्यावधिक छैन । सीमा खुलेपछि सीमावर्ती क्षेत्रका होटेलमा भारतीय पाहुनाको संख्या बढ्न थालिसकेको छ । मध्यमस्तरका होटेलमा परिवर्तनको अनुभूति भइसके पनि उच्चस्तरीय होटेलमा पाउना आउन केही समय लाग्न सक्छ । पर्यटक बढी भित्रिने विराटनगर, मेची, भैरहवा, वीरगञ्जलगायत नाकाहरूबाट भारतीय सवारीसाधनको आवागमन बढ्न थालिसकेको छ । नेपालगञ्ज, धनगढी, महेन्द्रनगरलगायत नाकाबाट दैनिक सयौं भारतीय सवारीसाधनको आवागमन हुन्छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार बन्दाबन्दीअघि सन् २०२० को जनवरी १ तारीखमा एकै दिन यो नाकाबाट ३ हजारको संख्यामा भारतीय जीपकार र मोटरसाइकल भित्रिएका थिए । यो संख्या छुट्टीको समय नेपालमा घुमफिर गर्न आउने भारतीय पर्यटकको प्रवृत्तिको उदाहरणमात्रै हो । बिराटनगर र मेचीबाट भित्रिने भारतीय पर्यटक नेपालका इलाम र भेडेटारलगायत स्थानका लागि आउँछन् । भैरहवाबाट लुम्बिनी र पोखराका लागि प्रवेश गर्छन् । वीरगञ्जबाट चितवनको सौराहा, पोखरा, काठमाडौंजस्ता पर्यटकीय क्षेत्रलाई लक्षित गरेर आउँछन् । सिमाना बन्द हुँदा पर्यटन क्षेत्रमा परेको पीडा कतिसम्म रहेछ भन्ने यसैबीचमा एउटा निजी वायुसेवा प्रदायकले पोखराबाट बाराको सिमरासम्म सेवा शुरू गरेबाट पनि स्पष्ट हुन्छ । पर्यटकीय शहर पोखरामा खस्किएको व्यवसायलाई उकास्ने यो उपक्रमले स्थलमार्ग हुँदै वीरगञ्जबाट भित्रिएका भारतीय पर्यटकलाई लक्षित गरेकोमा द्विविधा छैन । यो सेवा विस्तारले स्वाभाविक रूपमा पोखरा र औद्योगिक शहर वीरगञ्जबीचको आवतजावत सहज भएको छ । मुख्य अभिप्राय भने वीरगञ्ज नाकाबाट प्रवेश गरेका भारतीय पर्यटकलाई पोखरासम्म तान्नु नै हो । अब वीरगञ्जबाट पोखराको दूरी छोटिएर १० घण्टाबाट ३५÷४० मिनेटमा झरेको छ । सडकमार्गबाट १० घण्टा लगाएर पोखरा पुग्नुपर्ने बाध्यताले विकल्प पाएको छ । गण्डकी प्रदेश सरकारको सहकार्य रहेको यो प्रयत्नले प्रदेश २ सरकारलाई पनि जोडेको छ । यी दुई प्रदेशलाई पर्यटकीय सम्बन्धमा जोड्नु नयाँ अवसरको खोजी हो । पर्यटकीय सम्भावना भएर पनि उपयोगमा पछाडि परेको २ नम्बर प्रदेशमा यसलाई अवसरको रूपमा उपयोग गर्न पर्याप्त पूर्वाधार विस्तार र प्रचारप्रसारको खाँचो छ । गण्डकी प्रदेश सरकारको निम्तो मान्न प्रदेश २ का मुख्यमन्त्री निजीक्षेत्रको टोली लिएर पोखरा पुगेर फर्किसकेका छन् । प्रदेश २ ले पर्यटन प्रवद्र्धनमा गण्डकी प्रदेश सरकार र त्यहाँको निजीक्षेत्रबीचको सकार्यलाई अनुुसरण गर्दा २ नम्बर प्रदेशको पर्यटनमा कायापलट हुन नसक्ने कारण छैन । अहिले वीरगञ्जबाट भित्रिएको पर्यटकहरूबाट आसपासमा खुलेका केही होटेलले बास दिएरमात्र लाभ लिइराखेका छन्, आसपासका धार्मिक, प्राकृतिक तथा सांस्कृति महŒवबारे पर्यटक बेखबर भएसम्म वीरगञ्ज पर्यटकका लागि अन्य पर्यटकीय गन्तव्यसम्म आउजाउको बाटोमात्रै हो । त्यसलाई पर्यटनसित कसरी जोड्न सकिन्छ भन्नेमा सरकार र निजीक्षेत्रबीच सहकार्य हुनुपर्छ । पर्यटनमा अन्तर प्रदेश आबद्धता प्रवर्द्धनमा प्रभावकारी उपाय बन्न सक्छ । एउटा प्रदेशमा भित्रिएका पर्यटकलाई छिमेकी प्रदेशका पर्यटकीय स्थलहरूका बारेमा जानकारी दिएर प्रेरित गर्न सकियो भने पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिन्छ । प्रदेशका आठै जिल्लाको सिमाना भारतसित जोडिएर रहेको प्रदेश २ ले यसमा प्राथमिक प्रयास गर्नुपर्छ । आफ्नै प्रदेशमा पर्यटकीय आकर्षण तयार पार्न नसक्दा प्रयत्न प्रभावकारी हुन सक्दैन । वीरगञ्जलाई अहिले पनि औद्योगिक र व्यापारिक शहरको रूपमा मात्र बढी चिनिन्छ । यो प्रदेश २ को मुख्य शहरमात्र होइन, देशकै उत्पादन र आपूर्तिको केन्द्र पनि हो । २ नम्बर प्रदेशको पहिचान वीरगञ्जले समेटेको व्यापारिक गतिविधिमात्र होइन । यो प्रदेशमा प्राकृतिक, सास्कृतिक र धार्मिक पर्यटकीय महŒवका अनेक आकर्षण छन् । यसको उपयोग होइन, भर्खरै पहिचानको प्रयत्न भइराखेको छ । केही दिनअघि नेपाली युवा उद्यमी फोरम वीरगञ्जले पर्सा राष्ट्रिय निकुञ्जको पर्यटकीय सम्भावनाबारे निकुञ्जमै अन्तरक्रिया राखेको थियो । कार्यक्रमको मुख्य व्यक्ति प्रदेशका मुख्यमन्त्री बनाइएका थिए । पोखरा–सिमरा उडानका लागि पनि निजीक्षेत्रको प्रयत्न अग्रणी थियो । गण्डकी प्रदेश भ्रमणमा पनि मुख्यमन्त्री आकर्षणको केन्द्रमा राखिए । प्रत्येकजसो औपचारिकतामा अगाडि, तर प्रवद्र्धनका योजना र कार्यान्वयनमा पछाडि उभिने प्रवृत्ति नै २ नम्बर प्रदेशको पर्यटनको अवरोध हो । वीरगञ्जनजिकै बाराको गढिमाईलाई ५ वर्षे बली मेलाको पहिचानबाट बाहिर निकाल्न सकिएको छैन । त्यसको नजिकै सिम्रौनगढ क्षेत्रको पुराताŒिवक महत्व संरक्षणको अभावमा पतन भइराखेको छ । गढीमाईकै पूरक मेला मानिएको बाराको जितपुर, रौतहटको सुन्दरपुर, दुधियाधार, बलुवा, मदनपुर, माधोपुर, हर्दिया पल्टुवा तथा सर्लाहीको मिर्जापुर र खौर्वामा लाग्ने मेलाबारे स्थानीयबाहेक अरूलाई जानकारी छैन । जनकपुरको धर्मिक विशेषता आपैmमा पर्यटनको धरोहर हो । यस्ता सम्भाव्यतामा पूर्वाधारको प्रबन्ध मिलाएर प्रचारप्रसार गरिने हो भने वीरगञ्ज नाकाबाट भित्रिएको पर्यटकलाई कम्तीमा ४ दिन २ नम्बर प्रदेशमा रोक्न सकिन्छ । यो क्षेत्रका होटेलमा थपिएको लगानीले औद्योगिक प्रतिष्ठानका पाहुना र वैवाहिक समारोहको भरथेगको आश गरेर हुँदैन । देश संघीयताको कार्यान्वयनमा गइरहेकाले अब हरेक कामका लागि संघ सरकारको मुख ताकेरमात्र हुँदैन । प्रदेश सरकार र स्थानीय तह संघ सरकारका प्रशासनिक एकाइमात्र होइनन् भने अन्तरप्रदेश र तहगत प्रयत्नमा अघि बढ्नु नपर्ने कारण छैन । प्रदेश २ र गण्डकी प्रदेश सरकारबीचको प्रयत्नलाई सार्थक बनाइनुपर्छ । यो अन्य प्रदेशका निम्ति पनि सहकार्यको सन्दर्भ तथ्य बन्न सक्छ । तहगत सरकारहरूले आआफ्नो क्षेत्रका पर्यटकीय सम्भावनाको पहिचान र प्रचारलाई अघि बढाएर अन्तर तहगत सञ्जाल निर्माण गर्ने हो भने पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्न सक्छ । इच्छाशक्तिको अगाडि क्षेत्राधिकारका वैधानिक विरोधाभासहरू अवरोध बनिरन सक्दैनन् ।