इन्धन बिक्री गरेबापत आफूहरूले पाउने कमिसन नबढाएको झोंकमा केही पेट्रोलियम व्यवसायीले शुक्रबार ऐनविपरीत इन्धन ढुवानी बन्द गरे । अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७ अनुसार अत्यावश्यक वस्तु आपूर्तिमा बन्द–हडताल गर्न नपाइने उल्लेख भए पनि ऐन उल्लंघन गर्दै उनीहरूले ढुवानी बन्द गरे । घाटा चुलिएको भन्दै आयल निगमले मूल्य संरचनामार्फत प्रतिशतमा दिँदै आएको विक्रेता कमिसन यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीले देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन् ।