भूमिगत सिँचाइ बिग्रँदा रोपाइँ गर्न समस्या

सुदूरपश्चिम प्रदेशमा पर्याप्त वर्षा नहुँदा अधिकांश खेत बाँझै रहेका छन् । असार १५ गतेसम्म ८० प्रतिशत रोपाइँ हुने डडेलधुरामा यस वर्ष भने करिब ३५ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख खेमराज पनेरूले खाद्य उत्पादनको भण्डार मानिने भित्रि मधेश जोगबुडाको कटाल गाउँमा निर्माण गरिएको भूमिगत सिँचाइ योजना बिग्रँदा किसानले रोपाइँ गर्न नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्याप्त वर्षा भएकै छैन । पाँच वर्षअघि निर्माण गरिएको भूमिगत सिँचाइ योजना बिग्रँदा किसानले रोपाइँ गर्न पाएका छैनन् ।” भूमिगत सिँचाइको पानी तान्न जमिनभित्र गाडिएको पाइपमा लगाइएको मोटर बिग्रँदा योजना अलपत्र परेको स्थानीयको गुनासो छ ।