माघे सङ्क्रान्तिलाई ध्यानमा राखी दक्षिण इलामको चुलाचुली किसानलाई अहिले तरुल बेच्न भ्याइ नभ्याइ छ । माघे सङ्क्रान्तिमा तरुलको माग अत्यधिक हुने भएकाले चुलाचुलीका किसान मौका छोपेर तरुल बेच्न तराईका बजारमा व्यस्त छन् ।
माघे सङ्क्रान्तिमा अनिवार्य कन्दमूल खाने भएकाले किसानले यसलाई तरुल बिक्री गर्ने उचित अवसरका रूपमा लिएका छन् ।
इलामको चुलाचुली गाउँपालिका–१ की विष्णु राईले घरबारीमा रोपेको सिमल तरुल केही मात्र बाँकी राखेर बजार पु¥याएको बताउनुभयो । उहाँले पछिल्लो केही वर्षदेखि तरुल बेचेर नै घरव्यवहार टार्दै आएको बताउनुभयो ।
उहाँ जस्तै सोही क्षेत्रका देउमान आङ्थुपोको पनि यो वर्ष सधैँभन्दा राम्रो उत्पादन भएको छ । यस वर्षको माघे सङ्क्रान्तिका लागि नै भनेर सिमल तरुल १० कट्ठामा लगाउनुभएको छ । अघिल्लो वर्ष उहाँले यो खेतमा धान रोप्नुभएको थियो ।
केही सातादेखि अहिले घरघरमा व्यवसायीहरू सिमल तरुल खोज्दै आउने गरेको किसानको भनाइ छ । धेरै किसानको त बारीमै खरिद गर्न व्यापारी पुग्ने गरेको नैनाकला पौडेलले सुनाउनुभयो । चुलाचुली गाउँपालिकामा मात्र वार्षिक ५० देखि ६० मेट्रिक टन सिमल तरुल उत्पादन हुने गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । यो क्षेत्रमा ३५० देखि ४५० हेक्टर क्षेत्रफलमा सिमल तरुल खेती हुने गरेको छ ।