२२ वर्षअघि अनुदानमा पाठा अहिले पैसा तिर्न दबाब

विराटनगर । विपन्न मुसहर समुदायका मानिसलाई २२ वर्षअघि अस्टे्रलिया सरकारको अनुदान भन्दै बंगुर र बाख्राका पाठापाठी वितरण गरिएको थियो । २०५८ सालमा फादर प्रकाशले मोरङको जहदा गाउँपालिकाभित्रको मुसहर (ऋषिदेव) बस्तीमा वितरण गरेको सामग्री अनुदान नभएर ऋण भएको भन्दै जबरजस्ती असुल गर्न थालिएपछि पीडितले पत्रकार सम्मेलन गरी समस्या सार्वजनिक गरेका छन् ।  जहदाका दुई सयभन्दा बढी सम्मिलित प्रकाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०६६ सालमा दर्ता भई सञ्चालनमा आयो । त्यसअघि अनुदान दिने फादर प्रकाशको मृत्यु भइसकेको थियो । उनकै नामबाट सहकारी दर्ता गरिएको थियो ।  सहकारीको अध्यक्ष जहदा गाउँपालिका–७ का वडाअध्यक्ष भगवान मरान्डाकी श्रीमती एलिजाबेथ हुन् । अहिले २ दशकअगाडि दिएको बंगुर र बाख्राको पाठा ऋण हो भन्दै सहकारीले ऋषिदेवसहित सीमान्तकृत सामुदायका शेयर सदस्यलाई तिर्न दबाब दिइरहेको बताइएको छ । उक्त सहकारीले संस्था स्थापना नहुँदै बंगुर र बाख्राको पाठा लिएकाहरूलाई अहिले ऋण र ब्याज तिर्न दबाब दिएको हो । जहदा गाउँपालिका–७, सितुङटोलका ५० वर्षीय हडमा किस्कुले २२ वर्षअगाडि तीनओटा बंगुरको पाठा लिएका थिए । ती पाठा अनुदान दिएको भनिएको थियो । त्यसबेला पाठा हुर्केर नयाँ बंगुर जन्माएपछि छिमेकी वा समूहलाई बंगुर दिनुपर्ने नियम थियो ।  आयआर्जनमा सहजीकरण गर्दै आत्मनिर्भर बनाउने भनेर ग्रामीण क्षेत्रका आर्थिक रूपले विपन्न र सीमान्तकृत समुदायलाई समूहमार्फत बंगुर र बाख्राको पाठा वितरण गरिएको थियो । अहिले पाठा ऋणका रूपमा दिएको भन्दै सहकारीले तिर्न दबाब दिएपछि पीडितहरू गुनासो गर्न जहदाबाट १ घण्टा पैदल हिँडेर आइतवार विराटनगर आइपुगेका थिए । उनीहरूले सहकारीमा जम्मा गरेको रकम फिर्ता हुनुपर्ने, अनुदानको नाममा बंगुर, बाख्राको पाठा वितरण गरेकोमा अहिले आएर भइरहेको रकम असुली धन्धा बन्द गरिनुपर्ने र अहिलेसम्म दिएको रकम फिर्ता गरिनुपर्ने अडानमा आफूहरू रहेको पत्रकार सम्मेलनमा बताए ।  ‘गाउँका अगुवा प्रकाश सरले दलित, मजदूर, अपांगता भएका व्यक्ति र साना किसानलाई आयआर्जनमा सहयोग गर्ने भन्दै अनुदानमा आएको बंगुर र बाख्राको पाठा दिनुभएको हो । बंगुर र बाख्राको नयाँ पाठा उत्पादन भएपछि तपाईंहरू जस्तै असहाय र विपन्न समुदायलाई दिनुपर्छ भन्ने शर्त थियो,’ उनीहरूले भनेका छन्, ‘अहिले आएर सहकारीले ऋण दिएको हो । त्यसबेलाको तीनओटा पाठाको साँवा र ब्याजसहित ७० हजार रुपैयाँ भयो भन्दै तिर्न दबाब दिइरहेको छ ।’ अरुको घरमा बनिबुतो गरेर परिवार पाल्नेले उक्त रकम तिर्ने अवस्था नरहेको पाठा लिनेमध्येका एक हडमा किस्कुले बताए । सहकारीले कर्मचारी खटाएर बंगुर र बाख्राको पाठाको साँवाब्याज तिर्न दबाब दिने गरेको पीडितले बताएका छन् । उनीहरूले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिए पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । सहकारीले जहदा–७, सितम टोलका झन्डै २ सय घरपरिवारलाई दबाब दिइरहेको बताइएको छ । शुरूमा सबैले अनुदान भन्दै बंगुर र बाख्राको पाठा लिएका थिए । अहिले आएर सहकारीले त्यसको साँवा र ब्याज तिनुपर्ने भन्दै नतिर्नेको सहकारीमा रहेको बचत र शेयर रकम फिर्ता नदिने चेतावनी दिइरहेको उनीहरूको गुनासो छ ।