मातृका यादवसहित चार घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दका क्रममा जनकपुरमा प्रहरीसँगको झडपमा परी घाइते भएका सो समूहका नेता मातृका यादव र रामचन्द्र झा सहित चार जनालाई काठमाडौं ल्याइएको छ । चारै नेतालाई उपचारको लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको नेकपाले जनाएको छ । चारैजनालाई साँझ बुद्ध एयरको विमानबाट थप उपचारको लागि काठमाडौं ल्याइएको हो । झडपमा यादव र झासहित धनुषाको सहिदनगर नगरपालिका मेयर उदय बरबरिया र धनुषाको हंशपुरका कार्यकर्ता प्रदीप साह समेत छन् । झडपमा घाइते अन्य नेता कार्यकर्ताको जनकपुरमै उपचार भइरहेको छ । प्रचण्ड–माधव समूहले बिहीबार गरेको आम हड्तालमा बन्द गराउने क्रममा जनकपुरको शिवचौकमा दिउँसो प्रहरीसँग झडप हुँदा एकदर्जन बढी नेताकार्यकर्ता घाइते भएका थिए ।