फागुन १९, काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वमित्वमा रहेका चार ओटा कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन शुक्रवारसम्म रहेको छ ।
क्यापिटलले फागुन १३ गते देखि आइसीएफसी फाइनान्सको ४८ हजार कित्ता,नेपाल ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता,नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५० हजार कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो ।
कम्पनीको विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति,कम्पनी,संघ संस्थाहरुले फागुन २० गते शुक्रवार कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । साथै कम्पनीले विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई यसभन्दा अगाडि नै सम्बन्धीत कम्पनीले ३५ दिने सूचना प्रकाशित गरिसकेको जानकारी गराएको छ ।
शेयर खरीदको लागि न्यूनतम मूल्य आइसीएफसी फाइनान्सको हकमा रू. १९५,नेपाल ग्रामीण विकास लघुवित्तको रू. ३७५,नेशनल लाइफ इन्स्योरेन्सको रू. ३९० र नेपाल लाइफ इन्स्योरेन्सको हकमा रू. ९०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
आवेदकले बोलकबोल गर्दा ती चार ओटा कम्पनीहरुको न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् भने अधिकतम माथि उल्लेखित सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने क्यापिटलले जानकारी दिएको छ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।