माघ ९, काठमाडौं । जीटी इनर्जी प्रालीले नेपालकै सबैभन्दा ठूलो ५०० मेगावाट क्षमताको सोलार आयोजना बनाउने तयारी गरेको छ ।
कम्पनीले दुई ठाउँमा गरेर ५०० मेगावाट सोलार विद्युत उत्पादनको अनुमति माग्दै आवेदन दिएको छ ।
झापामा ३०० मेगावाट र नेपालगञ्जमा २०० मेगावाट सोलार विद्युत उत्पादन गर्ने कम्पनीको योजना छ । त्यसै अनुसार अनुमति माग्दै विद्युत विकास विभागमा निवेदन दिएको विभागले जनाएको छ ।
नेपालमा यस अघि चौधरी ग्रुप अन्तर्गतको सीजी इनर्जीले १२० मेगावाटको एउटै आयोजना सहित ३ आयोजनाबाट २०० मेगावाट सोलार विद्युत उत्पादनको अनुमति लिएको थियो । अहिलेसम्म सीजी इनर्जीको उत्पादन क्षमता नेपालको सोलार ऊर्जाको क्षेत्रमा सबैभन्दा ठूलो क्षमता थियो ।
त्यस्तै पानस र मिथिला इनर्जीले पनि १००/१०० मेगावाटका सोलार आयोजनाको सर्वेक्षण अनुमति पाएका थिए । अरु आयोजना भने १ देखि ८० मेगावाट सम्मका आयोजना रहेका थिए ।
तर एउटै सोलार आयोजना २/३०० मेगावाट क्षमताको अनुमति माग्ने भने जीटी इनर्जी नै पहिलो कम्पनी हो । त्यस्तै एउटै कम्पनीबाट ५०० मेगावाट सोलार विद्युत उत्पादनको अनुमति माग्ने पनि जीटी इनर्जी नै पहिलो कम्पनी भएको विद्युत विकास विभागको तथ्याङ्कले देखाउँछ ।
विश्व बजारमा पछिल्लो समय आएका नयाँ नयाँ प्रविधिले सोलार विद्युत उत्पादन सहज र सस्तो हुँदै गएको छ । त्यसकारण पनि ऊर्जा उद्यमीहरुको ध्यान पछिल्लो समय सोलार विद्युतमा गएको देखिन्छ ।
जलविद्युत उत्पादन झन्जटिलो हुँदै गएको तर सोलार विद्युत उत्पादन गर्न कम झन्जट र लागत लाग्ने भएपछि व्यवसायीहरुको ध्यान त्यता गएको ऊर्जा उद्यमीहरुले बताउने गरेका छन् ।
पछिल्लो समय सोलार विद्युत उत्पादनको लागत प्रति मेगावाट ८/१० करोड रुपैयाँमा झरिसकेको छ । जवकी जलविद्युत उत्पादनको औषत लागत अहिले पनि प्रतिमेगावाट २० करोड रुपैयाँ भन्दा बढी रहेको छ ।
१ हजार ७०० मेगावाटका आयोजना अघि बढ्दै
विभागमा अहिले सम्म ६०८ मेगावाट क्षमताका २५ आयोजनाले सर्वेक्षण अनुमति लिएका छन् । ११७ मेगावाट क्षमताका १९ आयोजनाले निर्माण अनुमति लिएका छन् ।
त्यस्तै ९१२ मेगावाट क्षमताका ३५ आयोजनाले सर्वेक्षण अनुमति माग्दै विभागमा निवेदन दिदा, ३५ मेगावाट क्षमताका ६ आयोजनाले उत्पादन अनुमति माग्दै विभागमा निवेदन दिएका छन् । अहिलेसम्म ४ आयोजनाबाट २० मेगावाट सोलार विद्युत उत्पादन भएको छ ।
अहिलेसम्मको तथ्याङ्क अनुसार ९० सोलार आयोजना विभिन्न चरणमा रहेका छन् । जसबाट करिब १ हजार ७०० मेगावाट सोलार विद्युत उत्पादन हुने देखिन्छ।