नाडेप लघुवित्तको शेयरमूल्य समायोजन

माघ ३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ८६५ दशमलव ८३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ३९ को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५३ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न माघ १४ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले नौबिसे एग्रो रिसोर्ट, नौबिसे, धादिङमा बिहान ११ बजे अनलाइन मार्फत उक्त सभा शुरु हुने जानकारी दिएको छ । सभाको अन्य प्रस्तावमा डिप्रोक्स लघुवित्तले नाडेपलाई एक्वायर गर्ने सम्बन्धमा भएको सैद्धान्तिक सहमति बदर भएकाले सो सम्बन्धमा भए गरेका सम्पूर्ण कार्यहरु अनुमोदन गर्ने, संस्थापक समूहको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ ।