सामसङको त्रैमासिक मुनाफा ५३ % ले बढ्ने अनुमान

असार २३, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सको त्रैमासिक मुनाफा ५३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । विश्वभर चिप अभाव बीच कम्पनीले सो प्रक्षेपण गरेको हो । सामसङ विश्वको सबैभन्दा ठूलो मेमोरी चिप र स्मार्टफोन निर्माता हो । अप्रिल–जुन त्रैमासमा कम्पनीको सञ्चालन मुनाफा ११ अर्ब डलर रहने अनुमान कम्पनीले गरेको छ । मेमोरी चिपको मजबूत मागले उपकरणको विक्रीमा आएको कमीको प्रभावलाई उल्ट्याइदिने बताइएको छ ।  एक वर्षअघि कोरोना भाइरसको महामारी शुरु भएको पहिलो केही महीनामा सामसङको फोन र टिभी जस्ता प्रडक्टको विक्रीमा कमी आएको थियो । कम्पनीको अनुमान सही भयो भने यो सन् २०१८ को दोस्रो त्रैमासयताकै उच्च दोस्रो त्रैमासिक मुनाफा हुनेछ । एजेन्सी