पुस २६, काठमाडौं । भारतले नेपालको निजी क्षेत्रबाट ५०० मेगावाट(मेवा) सम्म विद्युत् खरीद गर्ने भएको छ । भारतको मनिकरण पावर लिमिटडले नेपाल पावर एक्सचेञ्ज लिमिटेडमार्फत सो बराबरको विद्युत् खरीद गर्ने भएको हो ।
मनिकरणले सन् २०२२ का लागि मात्र सो परिमाण बराबरको विद्युत् खरीद गर्ने भएको हो । नेपालमा विशेषगरि वर्षातको समयमा यहाँ खपत भएर बढी हुने सो बराबरको विद्युत् उसले खरीद गर्नेछ । यस सम्बन्धमा सोमवार नेपाल पावर एक्सचेन्ज लिमिटेड र मनिकरण पावर लिमिटेड बीच सम्झौता पनि भइसकेको छ ।
काठमाडौंमा आयोजित नेपाल पावर मार्केट समिट २०२२ को समारोहमा नेपाल पावर एक्सचेञ्ज लिमिटेडका प्रवन्ध निर्देशक (एमडी) आशिस गर्ग र मनिकरण पावर लिमिटेडका एमडी नवजीत सिंह कल्सीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यद्यपि, यो सम्झौता कार्यान्वयन हुनका लागि भने नेपाल पावर एक्सचेञ्ज लिमिटेडले नेपाल सरकारबाट विद्युत् व्यापारको अनुमति पाउनुपर्ने हुन्छ । निजी क्षेत्रबाट स्थापना भएको यो कम्पनीले अझै पनि विद्युत् व्यापारको अनुमति पाउन सकेको छैन । विशेषगरी स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले नै उक्त कम्पनी स्थापना गरेको थियो । यदि, सरकारले चाडैं लाइसेन्स दिएमा यो वर्ष ५०० मेगावाट विद्युत् विक्री गरिने कम्पनीको भनाइ छ ।
दुई कम्पनी बीच यो वर्षका लागि ५०० मेगावाट विद्युत् खरीदविक्री गर्ने सम्झौता भएको हो । अर्काे वर्ष त्यो थप बढ्ने सक्ने बताइएको छ । यता सरकारले पनि निजी क्षेत्रलाई विद्युत् व्यापार गर्ने दिने प्रक्रिया अगाडि बढाएको छ । त्योअनुसार चाँडै लाइसेन्स पाउने कम्पनीले अपेक्षा गरेको छ ।
हालसम्म सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले मात्रा भारतमा विद्युत् व्यापार (विक्री) गर्दै आएको छ । प्राधिकरणले हाल ३९ मेगावाट विद्युत् भारतमा निर्यात गर्दै आएको छ । अहिले भने निजी क्षेत्रले पनि विद्युत् व्यापार गर्ने गरि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
मनिकरणले नेपाल पावर एक्सचेञ्जमा १५ प्रतिशत इक्विटी शेयर लगानी गर्ने सहमतिसमेत गरेको छ । हाल कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ रहेको छ । त्यसमा १५ प्रतिशत मनिकरणले लगानी गर्ने गरि सहमति भएको हो ।
यस्तै, मनिकरणले नेपालका जलविद्युत् कम्पनीसँग दिर्घकालीन रुपमा नै विद्युत् खरीदविक्री सम्झौता (पीपीए) गर्ने सहमति पनि गरेकोे छ । यो सम्झौता नेपालको क्षेत्रिय विद्युत् व्यापारका लागि कोसेढुंगा सावित हुने सरोकारवालाहरुले बताएका छन् ।
पावरमार्केट समिटलाई सम्बोधन गर्दै उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिने बताइन् । यसका लागि आवश्यक कार्यविधिको मस्यौदा तयार भइसकेको उनको भनाइ छ ।
‘अब उक्त मस्यौदामा सरोकारवाहरुको रायसुझाव लिन्छौं । त्यसपछि आवश्यक संशोधन गरेर कार्यान्वयनमा ल्याउने छौं’, उनले भनिन्, ‘त्यसपछि निजी क्षेत्रलाई पनि क्षेत्रिय रुपमासमेत विद्युत् व्यापार गर्न अनुमति दिने छौं ।’
कार्यक्रममा इप्पानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले नेपालको विद्युत् क्षेत्रमा निजी क्षेत्रको योगदान बढ्दै गएको बताए । ‘अहिले जलविद्युत क्षेत्रमा निजी क्षेत्रको योगदान ५० प्रतिशछ । अब त्यो ८० प्रतिशत पुर्याउने लक्ष्य लिएका छौं’, उनले भने । पछिल्लो समय नेपालमा विद्युत् खपत बढ्दै गएको पनि उनले बताए । यद्यपि विद्युत खपतमा सरकारले अझै प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।
उनले अब नेपाल भारत बीच बिजुली आदानप्रदानको सम्बन्ध हुने बताए । ‘पहिला नेपाल र भारत बीच रोटीबेटीको सम्बन्ध थियो । अब त्यो मात्र रहेन’, उनले भने, ‘अब नेपाल र भारत बीच बिजुलीको सम्बन्ध पनि हुनेछ ।’
यो पावर ट्रेड सम्बन्धमा नेपालमा गरिएको यो पहिलो सम्मेलन हो । इप्पानको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल पावर एक्सचेञ्ज लिमिटेडको सहकार्यमा उक्त समिट आयोजना गरिएको हो । समिटमा नेपाल र भारतका उर्जा क्षेत्रका व्यवसायी, विज्ञ तथा सरकारी निकायका प्रतिनिधिहरुको सहभागिता थियो ।
समिटमा सहभागी सरोकारवालाहरुले नेपालको जलविद्युत् क्षेत्रका लागि पर्याप्त मात्रामा बजार भएको बताएका छन् । भारत, बंगलादेशसहित दक्षिण एशियाली मुलुकमा नेपालको विद्युतको राम्रो सम्भावना रहेको उनीहरुको भनाइ छ ।
यो पनि हेर्नुस् :
प्राधिकरणको कम्पनीलाई विद्युत् व्यापार गर्न अनुमति, निजीलाई पनि दिने तयारी
विद्युत् व्यापारमा निजीक्षेत्र
निजीक्षेत्रलाई विद्युत् व्यापार गर्न दिने गरी कार्यविधि तयार
भारतीय बजारमा प्रतिस्पर्धी दरमा विद्युत् विक्री गर्न अनुमति पाउनु स्वागतयोग्य : इप्पान
भारतमा बिजुली विक्रीका लागि निजीक्षेत्रलाई पनि प्रवेश गराउन माग
विद्युत् व्यापारमा ऐतिहासिक निर्णय : नेपाललाई भारतीय बजारमा बिजुली बेच्न अनुमति