नेपाल सरकारको प्रक्षेपणभन्दा अत्यन्तै कम आकलन गर्दै विश्व बैङ्कले आर्थिक वर्ष २०७७÷७८ (सन् २०२१)मा नेपालको आर्थिक वृद्धि दर ०.६ प्रतिशतमा सीमित हुने प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक साउथ एसिया इकनोमिक फोकस प्रतिवदेनले आर्थिक वर्ष २०७६÷७७ (सन् २०२०)को नेपालको आर्थिक वृद्धि पनि ०.२ प्रतिशत हुने अनुमान सार्वजनिक गरिएको हो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा नेपालको आर्थिक वृदि दर ७ प्रतिशत हुने उल्लेख छ ।
विश्व बैङ्कका अनुसार कोरोना महामारी र बन्दाबन्दीका कारण पर्यटन क्षेत्रलगायत अनौपचारिक क्षेत्रमा व्यापक नकारात्मक प्रभाव परेकाले नेपाल मात्र नभई दक्षिण एसियामा नै हालसम्म नै सामना नभएको चरम आर्थिक मन्दीको सामना गर्ने प्रक्षेपण गरिएको छ ।
आव सन् २०२० मा माल्दिभ्स सबैभन्दा कठिनाइमा पर्ने प्रक्षेपण छ । यस वर्ष माल्दिभ्सको कुल गार्हस्थ उत्पादन १९.५ प्रतिशतले ऋणात्मक हुनेछ । त्यसैगरी आर्थिक वर्ष सन् २०२१ मा भारतको आर्थिक वृद्धि ९.६ प्रतिशतले ऋणात्मक रहने छ । सन् २०२२ मा मात्र सबै दक्षिण एसियाली देश धनात्मक आर्थिक वृद्धिको अवस्थामा पुग्ने छन् । त्यस वर्ष सबैभन्दा बढी आर्थिक वृद्धि माल्दिभ्सको १२.५ प्रतिशत रहने प्रक्षेपण छ ।