जलविद्युत्लाई हकप्रद निष्कासन गर्न कडाइ

काठमाडौं । विद्युत्सम्बन्धी कम्पनीहरूले जथाभावी रूपमा हकप्रद शेयर निष्कासन गर्न थालेपछि विद्युत् नियमन आयोगले त्यसलाई कडाइ गरेको छ । आयोगले ‘विद्युत्सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै हकप्रद निष्कासनलाई नियमनको दायरामा ल्याएको हो । अब त्यस्ता कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्दा आयोगको पूर्वस्वीकृति लिनुपर्नेछ । यसअघि हाइड्रो पावरजस्ता विद्युत्सम्बन्धी कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्न आयोगको पूर्वस्वीकृति लिनुपर्ने थिएन । अब सञ्चालक समितिबाट हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेर पूर्वस्वीकृतिका लागि आयोगमा पेश गर्नुपर्ने छ । आयोगले स्वीकृति दिएपछि मात्र हकप्रद निष्कासनको प्रस्ताव साधारणसभामा पेश गर्न पाइने गरी नयाँ व्यवस्था गरिएको छ । आयोगका सदस्य तथा प्रवक्ता रामप्रसाद धितालले जथाभावी रूपमा हकप्रद निष्कासन हुन थालेपछि यस्तो व्यवस्था गरिएको बताए । ‘विद्युत्सम्बन्धी कम्पनीहरूले जथाभावी रूपमा हकप्रद शेयर निष्कासन गरेको देखियो । त्यसपछि हामीले त्यसलाई नियमनका दायरामा ल्याएका हौं,’ उनले भने, ‘अब नयाँ व्यवस्थाअनुसार नै विद्युत्सम्बन्धी कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्नुपर्नेछ ।’ आयोगले विद्युत्सम्बन्धी कम्पनीहरूलाई हकप्रद शेयर निष्कासन गर्न कडाइ गरे पनि क्रश होल्डिङ लगानी गर्न भने बाटो खुला गरेको छ । अब एक कम्पनीले अर्काे कम्पनीमा पनि शेयर लगानी गर्न सक्ने गरी नयाँ व्यवस्था गरिएको धितालले बताए । कुनै एक कम्पनीले आफू नै मुख्य कम्पनी भएर ५१ प्रतिशत वा उक्तभन्दा बढी शेयर रहने गरी आप्mनो मातहतको आयोजनामा संस्थागत लगानी गर्ने सक्नेछ । यस्तै, आफ्नो सहायक कम्पनीको आयोजना वा नयाँ सहायक कम्पनीको स्थापना गरी आयोजना निर्माणका लागि पनि संस्थागत लगानी गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त लगानीका लागि आवश्यक पर्ने पूँजी हकप्रद शेयर निष्कासन गरेर नै उठाउनुपर्ने बताइएको छ । यसका लागि १ः२ (१ कित्ता बराबर २ कित्ता) को अनुपातमा हकप्रद शेयर निष्कासन गर्नुपर्नेछ । कुनै एक कम्पनीले आफु मुख्य कम्पनी नहुने गरि अन्य कुनै कम्पनीमा ५० प्रतिशतभन्दा कम शेयर लगानी गर्न सक्ने पनि व्यवस्था गएिको छ । तर, त्यस्तो कम्पनीमा शेयर लगानी गर्दा सम्बद्ध आयोजनाको भौतिक प्रगति २५ प्रतिशत भएको हुनुपर्ने शर्त छ । यसका लागि हकप्रद शेयर निष्कासन गर्दा भने १ः१ (१ कित्ता बराबर १ कित्ता) को अनुपातमा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । साथै, दुवै प्रयोजनका लागि हकप्रद निष्कासन गर्न यसअघि हकप्रदबाट उठाइएको पैसा आयोजना निर्माणमा खर्च भइसकेको हुनुपर्ने व्यवस्था गरिएको छ । आयोगले क्रश होल्डिङका रूपमा लगानी गर्न अन्य शर्तहरू पनि तोकेको छ । मुख्य कम्पनीले आप्mनो आयोजनाबाट व्यापारीक रूपमा विद्युत् उत्पादन शुरू गरिसकेको हुनुपर्ने छ । साथै, उक्त कम्पनी नेपालको धितोपत्र (शेयर) बजारमा सूचीकृत पनि भइसकेको हुनुपर्ने छ । लगानी गर्न लागिएको कम्पनीको आयोजनाको विद्युत् खरीदविक्री सम्झौता (पीपीए) भइसकेको हुनुपर्ने छ । साथै, आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन पनि भइसकेको हुनुपर्नेछ । आयोगले निर्माणाधीन आयोजनाका लागि पनि हकप्रद शेयर निष्कासन गर्न बाटो खुला गरेको छ । प्रारम्भिक शेयर (आईपीओ) निष्कासन गरेपछि पनि विभिन्न कारणले आयोजनाको निर्माण सम्पन्न हुन नसकेमा हकप्रद निष्कासन गर्न दिइने आयोगले बताएको छ । त्यसका लागि आयोजनाको निर्माणको लागत नियन्त्रणबाहिरको परिस्थितिका कारण बढ्न गएको हुनुपर्ने छ । त्यो अवस्थामा लागत बढ्न गएमा स्वलगानीको भागमा हुन आउने रकमका लागि मात्र हकप्रद शेयर निष्कासन गर्न पाइने व्यवस्था गरिएको छ । त्यस्ता आयोजनाहरूको भौतिक प्रगति ८० प्रतिशत भइसकेको हुनुपर्नेछ । निर्माण सम्पन्न गर्न आवश्यक रहेको लगानीको सम्बन्धमा पनि स्पष्ट वित्तिय कार्ययोजना बनाइ सञ्चालक समिति र साधारणसभाबाट पारित भएको हुनुपर्ने छ । साथै, कम्पनीले आयोजना निर्माणका लागि ऋण लिएको बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद शेयर निष्काुनका लागि सहमति आवश्यक हुने निर्देशिकामा उल्लेख छ । कम्पनीहरूले अन्य प्रयोजनका लागि पनि हकप्रद निष्कासन गर्न सक्नेछन् । त्यसका लागि तोकिएको मापदण्ड पूरा गरेर आयोगबाट स्वीकृति लिनुपर्ने निर्देशिकामा उल्लेख छ । उक्त अवस्थामा पनि १ः१ को अनुपातमा मात्र हकप्रद शेयर निष्कासन गर्न दिइने आयोगको भनाइ छ ।

सम्बन्धित सामग्री

जलविद्युत् कम्पनीलाई शेयरमा कडाइ

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत् कम्पनीहरूको शेयर निष्कासन र कारोबारका सम्बन्धमा नयाँ व्यवस्था लागू गर्ने भएको छ । सेबोन र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पदाधिकारीबीच भएको छलफलपछि जलविद्युत् क्षेत्रका कम्पनीको धितोपत्रका सम्बन्धमा थप नयाँ व्यवस्था गर्ने निर्णय गरिएको सेबोन स्रोतले जानकारी दिएको छ । सेबोन प्रवक्ता मुक्ति श्रेष्ठले दिएको जानकारीअनुसार जलविद्युत् कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ), हकप्रद र संस्थापक शेयरको लकइन अवधिपछिको कारोबारका सम्बन्धमा नयाँ व्यवस्था लागू गर्न लागिएको हो । उनका अनुसार हाल आईपीओ र हकप्रद शेयर निष्कासनको प्रक्रियामा गइसकेका कम्पनीको हकमा नयाँ व्यवस्था लागू हुने छैन । सूचीकृत जलविद्युत् कम्पनीको संस्थापक शेयरको कारोबार सम्बन्धमा आम लगानीकर्ताबाट गुनासो आएकाले सेबोनले जलविद्युत् समूहका कम्पनीको धितोपत्र कारोबारलाई पारदर्शी बनाउन केही नयाँ व्यवस्था थप गर्न लागेको श्रेष्ठले जानकारी दिए ।  जलविद्युत् कम्पनीहरूको नियमावलीमा भएको व्यवस्थाअनुसारको लकइन अवधि सकिएपछि संस्थापक शेयर विक्री गर्न कम्पनीले अनिवार्य रूपमा विद्युत्को व्यापारिक उत्पादन गरेको हुनुपर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।  कम्पनीका संस्थापकहरूले शेयर विक्री गरिसकेपछि हुने सञ्चालक समिति परिवर्तन सम्बन्धमा सञ्चालक समितिबाट निर्णय गरी आगामी साधारणसभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधन गराई सोको जानकारी सेबोनलाई समेत गराउनुपर्ने भएको छ ।  संस्थापक शेयरधनीलगायत आधारभूत शेयरधनीले ग्रहण गरेको शेयरको लकइन अवधि खुलेकोसम्बन्धी जानकारी बोर्ड तथा धितोपत्र बजारलाई दिनुका साथै कम्पनीको वेबसाइटसँगै एक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने सेबोनले जानकारी दिएको छ । कम्पनीले सूचना प्रकाशित गरेको १५ कारोबार दिनपछि मात्र शेयर कारोबार शुरू गर्नुपर्नेछ । पछिल्लो समय जलविद्युत् कम्पनीहरूको नियामक विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीहरूलाई आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानी गर्न हकप्रद शेयर विक्री गर्न सक्ने व्यवस्था गरेसँगै हकप्रद शेयर निष्कासन गर्ने कम्पनीको संख्या बढेको छ । धेरैजसोले कर्जा भुक्तानी प्रयोजनका लागि भन्दै हकप्रद शेयर निष्कासनको तयारी गरिरहेका छन् । सोही क्रममा बोर्डले सूचीकृत जलविद्युत् कम्पनीको हकप्रद शेयर निष्कासनका सम्बन्धमा पनि निर्देशिकामा तीन प्रावधान थप्ने निर्णय लिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।  सेबोनले सूचीकृत कम्पनी सञ्चालक समितिका स्वतन्त्र सदस्यको सम्बन्धमा पनि निर्णय गरेको छ । सूचीकृत कम्पनीहरूको संस्थागत सुशासनको अवस्थालाई थप सुदृढ बनाउन प्रचलित कानूनको व्यवस्थासँग सामञ्जस्यता कायम गरी स्वतन्त्र सञ्चालकको भूमिकालाई सशक्त र प्रभावकारी बनाउन स्वतन्त्र सञ्चालकको सम्बन्धमा निर्णय गरिएको बोर्डको भनाइ छ । अब सेबोनले स्वतन्त्र सञ्चालकको योग्यतासहितको रोस्टर तयार गर्नेछ । स्वतन्त्र सञ्चालकले पालना गर्नुपर्ने व्यवस्था र प्रवाह गर्नुपर्ने विवरणलगायत कुरा तोकिदिने छ । बोर्डबाट तोकिएका स्वतन्त्र सञ्चालकसम्बन्धी व्यवस्था सूचीकृत कम्पनीले पूर्णरूपमा पालना गर्नुपर्ने छ । धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीमा जलविद्युत् क्षेत्रको संख्या बढी छ । आईपीओ र हकप्रद शेयर निष्कासन प्रक्रियामा समेत जलविद्युत् क्षेत्रका कम्पनीकै बर्चश्व छ । बोर्डले जलविद्युत् समूहको संगठित संस्थाहरूको शेयर संचरनाका सम्बन्धमा अध्ययन गर्न गत चैत १९ गते एक समिति गठन गरेको थियो ।  हकप्रदमा थपिने व्यवस्था १. कम्पनीले नयाँ परियोजनामा लगानी गर्ने गरी हकप्रद निष्कासन गर्ने भए,  नेटवर्थ चुक्ता पूँजीभन्दा कम भएको कम्पनीले हकप्रद निष्कासन गर्न नपाउने ।   सूचीकृत कम्पनीले हकप्रद निष्कासन गर्ने भए व्यापारिक उत्पादन शुरू भइसकेको हुनुपर्ने । २. प्रारम्भिक निष्कासनका बखतकै परियोजनामा थप लगानी गर्ने वा ऋण चुक्ता गर्न हकप्रद निष्कासन गर्नुपर्ने अवस्था भएमा हालकै व्यवस्था लागू । ३. हकप्रद निष्कासन गर्दा नयाँ परियोजनाको लागि आवश्यक हुने रकम दुईपटकमा उठाउन सक्ने । आईपीओमा थपिने व्यवस्था १. भौतिक पूर्वाधारको प्रगति ५० प्रतिशत पुगेपछि मात्रै आईपीओको आवेदन दिन पाइने  २. भौतिक पूर्वाधारको कम्तीमा ६५ प्रतिशत काम सकेपछि आईपीओ स्वीकृति  ३. आईपीओबाट प्राप्त पूँजी ऋण भुक्तानी वा चालू परियोजनामा मात्र उपयोग गर्न पाइने  ४. परियोजनाको इन्टरनल रेट अफ रिटर्न १२ प्रतिशतभन्दा बढी भएको हुनुपर्ने ।