काठमाडौं । कोरोना महामारी तथा निषेधाज्ञाको मौकामा व्यापारीले उपभोग्य वस्तु मनपरी मूल्यमा विक्री गरेको पाइएको छ । सरकारले शुक्रवारदेखि एक साताका लागि खाद्यान्न पसल र डिपार्टमेन्टल स्टोरहरू समेत खोल्न नदिने निर्णय गरेपछि खाद्यान्न पसलमा उपभोक्ताको भीड बढेपछि व्यापारीले मूल्य बढाएका हुन् ।
हाल जारी निषेधाज्ञाले कोरोना महामारी नियन्त्रणमा आउन नसकेको भन्दै काठमाडौं उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले थप कडाइ गर्ने निर्णय गरेका छन् । सोही अनुसार एक साताका लागि खाद्यान्न पसल बन्द हुने भएको छ ।
बिहीवार बिहान खाद्यान्न किन्न बजार पुगेका कीर्तिपुरका सुन्दरमान महर्जनले १ लिटर सूर्यमुखी तेलको मूल्य २८० रुपैयाँ तिर्नुपरेको गुनासो गरे । बुधवारसम्म सूर्यमुखी तेलको खुद्रा मूल्य प्रतिलिटर २ सय ५० रुपैयाँ थियो ।
कलंकी डेरा गरी बस्ने धादिङका रामकुमार मगर पनि बिहीवार बिहान खाद्यान्न किन्न बजार जाँदा अघिल्लो दिनको भन्दा महँगो मूल्यमा तरकारी किन्न बाध्य भएको बताउँछन् । एकदिन अघिसम्म प्रतिकिलो ६० रुपैयाँ रहेको काउली ८० रुपैयाँमा किन्नुपरेको उनको गुनासो छ । बिहीवार धरैजसो व्यापारीले ग्राहकको बाक्लो उपस्थितिको फाइदा उठाउँदै अन्य दिनको भन्दा १० देखि ३०/४० रुपैयाँसम्म बढी मूल्यमा सामान विक्री गरेको पाइएको छ । प्रतिकिलो ३७५ रुपैयाँ पर्ने सुकेको खुर्सानी ४७५ रुपैयाँसम्ममा वक्री भइरहेको छ । यस्तै प्रतिकिलो १७५ रुपैयाँ पर्ने मासको दाल १९० र १३५ रुपैयाँ पर्ने चना १५० रुपैयाँसम्ममा व्यापारीले विक्री गरिरहेका छन् ।
खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र वज्राचार्यले निषेधाज्ञा कडा पारिने भएपछि केही व्यापारीले खाद्य वस्तु मूल्य बढाएर बेचेको जानकारी आफूलाई पनि आएको बताए । महामारीको समयमा उपभोक्ताबाट मनपरी रूपमा मूल्य नअसुल्न व्यापारीहरूलाई आग्रह गरिएको उनको भनाइ छ । यद्यपि व्यापारीहरूले भने संघको आग्रह बेवास्ता गरेर मनपरी मूल्य लिने गरेका छन् ।