अनुगमनमा सहयोग नगर्ने ग्यास व्यवसायीलाई कारबाही

काठमाडौं (अस) । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनमा सहयोग नगर्ने व्यवसायीलाई कारबाही गरेको छ । विभागले अनुगमनका क्रममा विभिन्न असयोग गर्ने काठमाडौंका व्यवसायीलाई कारबाही गरेको हो । विभागका महानिर्देशक लीलाप्रसाद शर्माले अनुगमनका क्रममा खरीद बिल नदेखाउने, उपभोक्ता कानून पालना नगर्ने लगायतका व्यवसायीलाई कारबाही गरिएको जानकारी दिए । उनका अनुसार काठमाडौं महानगरपालिका– ३४ का एक ग्यास डिपोले खरीद बिल नदेखाएको कसुरमा कारबाही गरिएको छ । त्यस्तै काठमाडौं महानगरपालिका–३२ सुविधानगरको एक डिपोलाई पनि बिल नभएको,  अनामनगरमा रहेका दुई डिपोले उपभोक्ता कानून पालना नगरी  अनुगमनमा असहयोग गरेको कसुरमा कारबाही गरिएको विभागले जानकारी दिएको छ । त्यस्तै चन्द्रागिरि नगरपालिका १४ र १५ मा अनुगमनका क्रममा खरीद बिल नदेखाएको साथै ललितपुर महानगरपालिका १२ को डिपोलाई अनुगमनमा असहयोग गरेको  लगायतका कसुरमा विभिन्न कारबाही तथा जरीवाना गरिएको विभागको दाबी छ । पछिल्लो समय ग्यास व्यवसायीले ग्यासको कृत्रिम अभाव गराएपछि विभागले ग्यास केन्द्रित अनुगमन बढाएको दाबी गरेको छ । ग्यास लुकाएको पाइएमा २० हजार रुपैयाँसम्म जरीवाना गरिरहेको विभागले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

दुई ग्यास उद्योग कारबाहीमा

गुणस्तर मापदण्ड पूरा नगर्ने दुई ग्यास प्लान्ट (उद्योग)लाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ । अनुगमनमा गएको विभागको टोलीले शुक्रबार काभ्रेका दुई उद्योगलाई कारबाहीस्वरुप उत्पादन बन्द गरेको हो ।