आर्थिक मन्दीको भविष्यवाणी गर्ने 'लिपस्टिक इन्डेक्स' : व्यापार बढ्योकी मन्दीको संकेत !

काठमाडौंं । अहिले चारैतिर मन्दीको हल्ला छ । कसैले अमेरिका मन्दीमै गइसक्यो भनिरहेका छन् । कसैले केही हप्ताभित्रै जान्छ भन्ने ठोकुवा गरिरहेका छन् ।  अहिले सबैको मनको एउटै भय अमेरिका मन्दीमा जाकिने अनि आफू अनि आफ्नो आर्थिक अवस्था के होला भन्ने छ । अमेरिका मन्दीमा गयो भने ढिलो चाँडो ऊसँगै विश्व अर्थतन्त्र पनि मन्दीमा फस्नेछ । अहिले नै त अवस्था डामाडोल छ ।  कम्पनीहरूले स्थिति बिग्रनुअघि नै केही भरथेग गर्न सकिन्छ कि भनेर नाफा बढाउन वा खर्च कम गर्न अनेक उपायहरू अपनाइरहेका छन् । सर्वसाधारणहरूको खर्च गर्ने क्षमता महँगीका कारण पहिले नै चौपट थियो । आर्थिक मन्दीले त के पो हुने हो ? यसको बाछिटाले क-कसलाई कसरी भिजाउँछ भन्न सकिँदैन ।  अर्थतन्त्रको स्वास्थ्य अवस्था अर्थशास्त्रका सिद्धान्तबाट मात्रै होइन, मान्छेको खरिदारीको व्यवहार र प्रवृत्तिबाट पनि स्पष्ट थाहा हुन्छ । यसलाई नाप्न अर्थशास्त्रीहरूले उपभोक्ताको सबैखाले व्यवहार केलाउँछन् । लिपस्टिक, भित्री वस्त्र, स्कर्ट, कार्डबोर्ड, ड्यापर, श्याम्पेनलगायत वस्तुहरूको विक्रीसम्बन्धी तथ्यांकलाई पनि आर्थिक मन्दीको भविष्यवाणी गर्न प्रयोग गरिन्छ । सुन्दा अचम्म लाग्यो ! हो, दशकौंदेखि अर्थशास्त्रीहरूले आर्थिक मन्दी आएको छ कि छैन भनेर हेर्ने यस्ता सूचकतिर पनि ध्यान दिएको पाइन्छ । यस्तो बेलामा धेरै चर्चा गरिने सूचक हो- लिपस्टिक इन्डेक्स । आर्थिक मन्दीको समयमा मानिसहरूले सकेसम्म खर्च कटौती गर्छन् । नचाहिने वा नभए पनि चल्ने सामानहरू किन्दैनन् । तर, यो परम्परागत मान्यता हो । सधैं यस्तो हुँदैन ।  केही विज्ञहरूका अनुसार ‘अफोर्डेबल’ विलासी वस्तुको हकमा यो नियम लागू हुन्न । आर्थिक अवस्था खराब देखिँदा मानिसहरू अलि बढी ‘लक्जरियस’ बन्छन् । ठिकठाक पैसा तिरेर किन्न सकिने विलासी वस्तु किन्नतिर धेरै लाग्छन् भन्ने यसको मान्यता हो । यो सूचकको सर्जक अमेरिकी अर्बपति कस्मेटिक व्यापारी एस्टे लडर हुन् । सन् २००१ मा अमेरिकी अर्थतन्त्र आर्थिक मन्दीको चपेटामा भएको बेलामा लडरले लिपस्टिकको विक्री घट्नुको सट्टा उल्टै बढिरहेको महसुस गरे । अर्थतन्त्रको अवस्था नराम्रो हुँदा लिपस्टिकको विक्री बढ्ने रहेछ भन्ने लाउडरले निस्कर्ष निकाले । अर्थतन्त्र जति जति नराम्रो अवस्थामा पुग्यो लिपस्टिकको विक्री झन् झन् बढ्यो । मान्छेहरूले स्वेच्छाचारी भएर खर्च गर्न सक्ने आम्दानी कम हुँदै गएपछि महँगा अनावश्यक वस्तु किन्ने विकल्प कहाँ हुन्छ ? तर, लिपस्टिक आर्थिक रूपमा थेग्न सक्ने विलासी वस्तु हो । यस्तोमा डिजाइनर ह्यान्ड ब्याग वा गरगहनाहरू किन्न नसकेको दुःख वा तुष लिपस्टिक किनेर मेटाउन खोजिन्छ । इतिहासभर यो सूचकको चर्चा बारम्बार भएको छ । सन् २००८ को मन्दीको समयमा पनि यस्तै प्रवृत्ति दोहोरियो । सन् १९२९ देखि सन् १९३३ ताका अमेरिका महामन्दीमा भएको बेलामा मेकअपको विक्री बढेको थियो । तर, लिपस्टिक एक मात्रै अफोर्डेबल विलासी वस्तु होइन । मन्दीको बेलामा पैसा बचाउन मान्छेहरू पार्लर सैलुन जानै छोडेको बेलामा नेल पालिसको विक्री पनि बढेको थियो । कोरोना भाइरसको महामारीको समयमा जति बेला पनि मास्क नै लगाउनु पर्ने बेलामा लिपस्टिक किन्नुको त अर्थ नै थिएन । त्यसैले त्यति बेला पर्फयूमको विक्री अकासियो । सन् २०२१ को पहिलो त्रैमासमा एक त्रैमासअघिको तुलनामा अत्तरको विक्री ४५ प्रतिशतले बढेको थियो । विक्रीको आकार महामारी पूर्वको स्तरभन्दा निकै धेरै थियो ।आर्थिक कठिनाइको समयमा मानिसले आफैंले आफ्नो मनोबल उकास्नु पर्ने हुन्छ । यस्तोमा लिपस्टिकलगायत अफोर्डेबल बिलासी वस्तुहरू सोको माध्यम बन्ने सौन्दर्य प्रशाधन उद्योगका विज्ञहरू बताउँछन् । सन् २००८ मा अमेरिकी अर्थतन्त्र आर्थिक मन्दीतिर धकेलिँदै गर्दा विश्वको ठूला कस्मेटिक ब्रान्डको विक्री दोहोरो अंकले बढेको थियो । कोरोना भाइरसको महामारीको कारण आर्थिक मन्दी निम्तिएको समयमा पनि लिपस्टिकको विक्रीमा केही बढोत्तरी देखियो ।  गएको कयौं महीनाहरूमा अमेरिकामा महँगी दशकौंयताकै उत्कर्षमा हुँदा पनि लिपस्टिकको विक्री घटेन । आर्थिक समृद्धिको बेलामा पनि यसको विक्री बढेको अनि आर्थिक सुस्ती बीच घटेका कयौं उदाहरणहरू भेटिन्छन् । स्मार्टफोनको बढ्दो प्रयोग अनि सेल्फीका कारण पनि यो प्रवृत्ति प्रभावित भएको हुन सक्छ ।  कोभिड भर्खरै देखिएको बेलामा यो सूचकले काम गरेन । कोभिड सर्ला भनेर मास्क नै लगाएर बस्नु पर्ने बेला भएर पो लिपस्टिकको विक्री प्रभावित भएको हो कि ? पछि 'रिमोट वर्क' र 'वर्क फ्रम होम' नीति लागू भएपछि भने लिपस्टिकक लगायत सौन्दर्य प्रशाधनको विक्री बढेको थियो ।  त्यसैले आर्थिक मन्दीको ठ्याक्कै प्रक्षेपण गर्न यो भरपर्दो माध्यम नहुन पनि सक्छ । यो सूचक फुल प्रुफ भने होइन । अर्थतन्त्र कुन दिशातिर गइरहेका छन् भनेर हेर्ने रमाइलो तरिका हो । आर्थिक मन्दी वा कठिनाइको बेलामा तपाईंले लिपस्टिक, अत्तरलगायत वस्तुमा कत्तिको खर्च गर्ने गर्नुभएको छ ? एजेन्सीहरूको सहयोगमा 

सम्बन्धित सामग्री

दुई महिनामा आर्थिक क्षेत्रः सरकारका दुई लक्ष्य धरापमा

आर्थिक वर्ष २०८०/८१ मा सरकारका दुई वटा अपेक्षा छन्। पहिलो आर्थिक गतिविधि बढ्छ र दोस्रो त्यसबाट व्यापार वृद्धि हुन्छ। साउन र भदौ महिनाको तथ्याङले सरकारका दुई वटै अपेक्षा पुरा हुने संकेत देखिदैन्।...

दुई महिनामा आर्थिक क्षेत्रः सरकारका दुई लक्ष्य धरापमा

आर्थिक वर्ष २०८०/८१ मा सरकारका दुई वटा अपेक्षा छन्। पहिलो आर्थिक गतिविधि बढ्छ र दोस्रो त्यसबाट व्यापार वृद्धि हुन्छ। साउन र भदौ महिनाको तथ्याङले सरकारका दुई वटै अपेक्षा पुरा हुने संकेत देखिदैन्।...

यो वर्ष पनि राजस्वमा समस्याको संकेत

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिना साउनमा खुम्चिएको आयात व्यापारले यो वर्ष पनि राजस्व असुलीमा समस्या आउने संकेत गरेको छ । गत आर्थिक वर्षमा आयात व्यापार खुम्चिँदा सरकारले लक्ष्यको ७० प्रतिशत पनि राजस्व असुली गर्न सकेको थिएन । सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेकामा ९ खर्ब ५७ अर्ब रुपैयाँमात्र उठाएको […]

आयात व्यापारले संकेत गरेका संकटहरू

आयात वृद्धि या ह्रासले मात्र मुलुकको समग्र अर्थतन्त्रको यथार्थ चित्रण हुन सक्दैन । तसर्थ आयात वृद्धिलाई समष्टिबाट होइन, व्यष्टिबाट हेर्नुपर्छ र ती व्यष्टिगत दृष्टिकोणहरूलाई पनि विभिन्न वर्गीकरणका तथ्यांकहरूबाट जाँच गरिनुपर्छ ताकि आयातमा आएको परिवर्तनले मुलुकको समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पार्ला भन्ने पक्षको यथार्थ चित्रण प्रस्तुत हुन सकोस् । सारमा भन्नुपर्दा सबै आयातहरू खराब हुँदैनन्, देशभित्र उत्पादनको सम्भावना भएका वस्तुको आयात हुन्छ भने मात्र संवेदनशील आयातका रूपमा लिइन्छ । कुनै वस्तु स्वदेशमा उत्पादन गर्दा त्यस्ता वस्तुले देशको पर्यावरणलाई हानि गर्छन् भने ती वस्तु स्वदेशमा उत्पादन गर्नुभन्दा आयात गर्नु नै श्रेयस्कर मानिन्छ । विशेष गरी खनिज उत्खनन एवम् प्रशोधनमा अधिक रसायनको प्रयोग हुने वस्तुहरू स्वदेशमा उत्पादन गर्नुभन्दा आयात गर्नु नै श्रेयस्कर मानिन्छ । यस्तै सबै निर्यात पनि राम्रा मानिँदैनन् । स्वदेशको पर्यावरणलाई असर गर्ने खालका खनिज उत्खनन र प्राकृतिक स्रोतको निर्यातलाई यस वर्गमा लिने गरिन्छ । यस्तै अन्तिम प्रयोगकर्ताको आधारमा पनि मालवस्तु आयात र निर्यातको वर्गीकरण गरिन्छ । माध्यमिक उपभोग, पूँजी निर्माणमा सहयोग गर्ने आयात र पूर्ण तयारी मालवस्तुको आयात गरी तीनओटा वर्गीकरणका आयातको प्रयोजन निर्धारण गर्ने गरिन्छ । मुलुकको कुल आयातमा माध्यमिक उपभोग र पूँजी निर्माणमा सहयोग गर्ने आयातको अंश अधिक हुनुले मुलुकको अर्थतन्त्र स्वस्थतातर्फ उन्मुख हुँदै गएको पुष्टि गर्छ भने कुल आयातमा माध्यमिक र पूँजी निर्माणमा सहयोग गर्ने आयातको अंश कम हुनु र पूर्ण तयारी मालवस्तुको आयातमा वृद्धि हुनुले देशको अर्थतन्त्रमा आन्तरिक क्रियाकलापमा न्यूनता रहेको पुष्टि गर्छ । माध्यमिक उपभोग, पूँजी निर्माणमा सहयोग गर्ने आयात र पूर्ण तयारी मालवस्तुको आयात यी तीनओटै क्षेत्रमा ह्रास आउँदा मुलुकमा आर्थिक अनिष्टको संकेत गर्छ । माध्यमिक उपभोग र पूँजी निर्माणमा सहयोग गर्ने आयातको कमीले मुलुकभित्र उत्पादनका क्रियाकलापमा सुस्ती आएको पुष्टि हुन्छ भने पूर्ण तयारी मालवस्तु आयातको कमीले मुलुकभित्र वस्तुको मागमा कमी रहेको पुष्टि गर्छ । यसरी उत्पादन क्रियाकलाप र मागको कमी हुँदा त्यसले अर्थतन्त्र मन्दीतर्फ जान लागेको संकेत गर्छ ।  बृहत् आर्थिक वर्गीकरणअनुसार चालु आर्थिक वर्षको प्रथम १० महीनामा माध्यमिक उपभोग, पूँजी निर्माणमा सहयोग गर्ने आयात र तयारी मालवस्तुको आयात तीनओटै वर्गमा ह्रासको अवस्था छ । आर्थिक वर्ष (आव) २०७७/७८को प्रथम १० महीनाको तुलनामा आव २०७८/७९ को प्रथम १० महीनामा माध्यमिक उपभोगको आयातमा २६ दशमलव ४ प्रतिशतले वृद्धि भएकोमा चालू आव २०७९/८० को प्रथम १० महीनामा यस्तो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा १६ दशमलव १ प्रतिशतले ह्रास आएको छ । औद्योगिक कच्चापदार्थका रूपमा परिचित यस माध्यमिक उपभोगको आयातको कमीले नेपालमा हाल औद्योगिक उत्पादन सुस्त रहेको संकेत गर्छ । यस्तै अवस्था पूँजी निर्माणमा सहयोग गर्ने आयातमा पनि रहेको छ । आव २०७७/७८को प्रथम १० महीनाको तुलनामा आव २०७८/७९ को प्रथम १० महीनामा पूँजी निर्माणमा सहयोग गर्ने आयातमा १५ दशमलव शून्य प्रतिशतले वृद्धि भएकोमा चालू आव २०७९/८० को प्रथम १० महीनामा यस्तो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा ३२ दशमलव ८ प्रतिशतले ह्रास आएको छ । औद्योगिक मेशिनरीको बाहुल्य रहेको यस वर्गीकरणअन्तर्गत भएको आयातको कमीले समेत नेपालमा हाल औद्योगिक उत्पादन सुस्त रहेको संकेत र भविष्यमा यो सुस्ती अझ बढ्ने संकेत गर्छ ।  आव २०७७/७८ को प्रथम १० महीनाको तुलनामा आव २०७८/७९ को प्रथम १० महीनामा तयारी मालवस्तुको आयातमा ३४ दशमलव ७ प्रतिशतले वृद्धि भएकोमा चालू आव २०७९/८० को प्रथम १० महीनामा यस्तो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा १३ दशमलव २ प्रतिशतले ह्रास आएको छ । विप्रेषणमा दोहोरो अंकको वृद्धि हुनु र नेपालको आयातको प्रमुख कारकतत्त्व विप्रेषण नै हुुनुका साथै तयारी मालवस्तुको आयातमा समेत ह्रास आउनुले आमजनमानसको खरीददारीमा रुचि नरहेको र यसप्रकारको त्रासको वातावरण रहेको पुष्टि गर्छ । यस्तो अवस्था सृजना हुनु भनेको अर्थशास्त्रको शास्त्रीय दुश्चक्रको निर्माण हुन लागेको संकेत हो । माग कम हुने, माग कम हुँदा उत्पादनका क्रियाकलापमा ह्रास आउने, उत्पादनका क्रियाकलापमा ह्रास आउँदा साथ थप बेरोजगारी बढ्ने र बेरोजगारी बढ्नासाथ मागमा थप कमी आई जुन दुश्चक्र शुरू हुन्छ त्यो दुश्चक्रको उत्पत्तिको चरणमा मुलुक रहेको हो भन्ने पूर्वसन्देश आयातको यस आँकडाले प्रवाह गरिरहेको छ ।  मुलुकमा आर्थिक दुश्चक्र निर्माण हुने चरणमा रहेको सन्दर्भमा यस दुश्चक्रको विस्तार हुनबाट रोकी भयावह प्रभावलाई समयमा नै निस्तेज गर्न न्यूनीकरणका उपायहरूमा अहिलेदेखि नै सजगताका साथ सक्रिय हुन आवश्यक देखिएको छ । यसका लागि मुलुक आर्थिक दुश्चक्रमा जाँदैन भनेभैंm गरी जनमानसका आत्मबल जगाउनु आवश्यक छ । जनमानसमा आत्मबल जगाउने पहिलो कार्यमा बजेटमा पूँजीगत शीर्षकको खर्चको अंश अधिक र चालू शीर्षकको अंश न्यून हुने विषयमा सरकारको तथ्यांकयुक्त दीर्घकालीन प्रत्याभूति हो । दोस्रो, लगानीको वातावरण सृजना नै हो । लगानीको वातावरण भन्नासाथ प्रक्रियागत सरलता, सुनिश्चित प्रतिफल, न्यून बोझ तथा लगानीको सुरक्षा यी चारओटा तत्त्व मुख्य रूपमा आकर्षित हुन्छन् । प्रक्रियागत सरलताका लागि संरचनागत सुधार, सुनिश्चित प्रतिफलका लागि स्वदेशी उद्योगलाई आयातबाट पर्न जाने चापबाट सुरक्षाकवच प्रदान, न्यून बोझका लागि करका दरहरूमा व्यापक कटौती तथा श्रम कानूनमा उदारता जस्ता विषय स्वत: आकर्षित हुन्छन् । आवेशयुक्त लगानी तथा अज्ञानयुक्त लगानीलाई हरेक देशले निरुत्साहित गरिरहेका हुन्छन् । वर्तमान समयमा देखापरेको आर्थिक संकटका पछाडि अन्यत्र जस्तै नेपालमा पनि घरजग्गा, दोस्रो बजार र पसल स्थापना यी तीनओटा क्षेत्रमा भएको आवेशयुक्त तथा अज्ञानयुक्त लगानीलाई मान्न सकिन्छ । शुरूमै यस्ता क्रियाकलापमा नियन्त्रण गर्न सकेको खण्डमा यी तीनओटै क्षेत्रमा यस स्तरको त्रासको सामना गर्नुपर्ने अवस्था आउने थिएन । तसर्थ घरजग्गा, दोस्रो बजार र पसल स्थापना यी तीनओटै पक्षमा हुने आवेशयुक्त र अज्ञानयुक्त लगानी कम गर्न कानूनी प्रावधानका अतिरिक्त चेतनामूलक शिक्षा प्रवाह पनि उत्तिकै जरुरी छ ।   यसरी उपर्युक्त बमोजिम अर्थतन्त्र चलायमान गराउन एकातिर विश्वासको वातावरण सृजना गर्न आवश्यक छ भने अर्कोतिर उत्पादनसम्बन्धी क्रियाकलापहरूमा वृद्धि गर्न उत्प्रेरणात्मक अवधारणामा निजीक्षेत्रलाई सरकार स्वयम्ले लगानीका क्षेत्रहरू, लाभको अवस्था तथा सुरक्षाको प्रत्याभूतिसहित साना, मझौला र ठूला सबै खालका प्रोजेक्टहरू विकास गरी लगानीका क्षेत्र पहिचान गर्नु आवश्यक देखिन्छ । दुश्चक्र आउने पूर्वसंकेत नेपालको आयात तथ्यांकको प्रयोजनयुक्त वर्गीकरणले स्पष्ट गरिसकेको अवस्थामा उक्त दुश्चक्र भयावह हुनपूर्व माथि उल्लिखित विषयमा सबै पक्षको समयमै ध्यान जानु आवश्यक देखिन्छ । लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

विश्वव्यापी आर्थिक मन्दी आउनसक्ने विश्व व्यापार संगठनकी महानिर्देशकको चेतावनी

काठमाडौँ- विश्व व्यापार संगठन (डब्लूटीओ) ले विश्वव्यापी मन्दी आउनसक्ने संकेत दिएको छ । विभिन्न संकटका कारण देश विश्वको अर्थतन्त्र विश्वव्यापी मन्दीतर्फ अघि बढिरहेको डब्लूटीओकी महानिर्देशक न्गोजी ओकोन्जो इबेआलाले चेतावनी दिएकी हुन् । आर्थिक वृद्धिलाई पुनःजीवित पार्न क्रान्तिकारी नीतिका लागि उनले आह्वान गरेकी छिन् । युक्रेनमा जारी युद्ध, खाद्यान्नको बढ्दो मूल्य, उर्जाको मूल्यमा आएको उतारचढाव र […]

आठ महिनामा २८ अर्ब नोक्सानः सवारीमा जोर/बिजोर लागु गर्न आयल निगमको माग

बढ्दो मूल्यवृद्धि, चुलिँदो व्यापार घाटा न्यूनीकरण गर्न इन्धनको व्यापार गर्ने संस्थाले नै इन्धन खपत घटाउन यस्तो प्रस्ताव गरेको हो। यसले निगम गम्भीर आर्थिक संकटमा फस्न थालेको संकेत गर्छ। निगमले इन्धन खरिद गर्ने रकमको व्यवस्थाका लागि सहजीकरण गरिदिन पनि सरकार...

बढ्दै व्यापारघाटा, खुम्चिँदै नाफा व्यापार गर्ने मुलुक

नेपालको वैदेशिक व्यापार फैलिँदै गएको छ । गत आर्थिक वर्षमा नेपालले विश्वका १ सय ६१ मुलुकसँग वैदेशिक व्यापार गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ सय ५५ वटा मुलुकसँग मात्रै व्यापार गरेको नेपालले गत आर्थिक वर्षमा थप ६ मुलुकसँग व्यापार सुरु गर्नु सकारात्मक संकेत हो । तर, नेपालको वैदेशिक व्यापारमा सदावहार समस्या छ । सुरुमा […]

आर्थिक वृद्धि उन्मुख नेपालको आयातका संकेत

आयातमा वृद्धि भन्ना साथ मानिसहरू जिब्रो टोक्ने गर्छन् । आयातमा हुने वृद्धिलाई केवल अंकका आँखाबाट मात्र हेर्दा एकप्रकारको भयावह तस्वीर अगाडि देखा पर्छ । तर, जब आँकडालाई व्यष्टिमा गएर आयातको चरित्रको मिहीन विश्लेषण गरेपछि त्यो आयात वास्तविक रूपमा भयावह हो कि सुखदायक हो भन्ने निक्र्योलमा पुग्न सकिन्छ । तर, अहिले व्यापार तथ्यांकको सबैभन्दा माथिल्लो तह आयातको अंकमा आधारित भएर नेपालको वैदेशिक व्यापारको मूल्यांकन गर्ने गरिन्छ जुन विश्लेषणमा मूलभूत मान्यताभन्दा विपरीत हुन जान्छ । वस्तुगत व्यापारतर्फका विश्वका पाँच प्रधान मुलुक अमेरिका, चीन, जर्मनी, जापान तथा संयुक्त अधिराज्यको वैदेशिक व्यापार तथ्यांकलाई हेर्दा चीन निर्याततर्फ विश्वको पहिलो स्थानमा रहे तापनि आयातमा पनि विश्वको दोस्रो स्थानमा नै रहेको छ । यता अमेरिका विश्वको कुल आयातमा पहिलो स्थानमा रहेको छ र निर्यातमा पनि विश्वमा दोस्रो स्थानमा रहेको छ । यसै गरी जर्मनी, जापान र संयुक्त अधिराज्य विश्वको कुल आयातमा क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका छन् भने निर्यातमा तेस्रो, चौथो र दशौं स्थानमा रहेका छन् । ती पाँचओटै देशको वस्तुगत वैदेशिक व्यापारको समान चरित्रमा निर्यात आयात अनुपात २ अंकको मुनि नै रहेको छ । चीन र जर्मनी विश्वका दोस्रो र तेस्रो आयातकर्ता भए तापनि व्यापार सन्तुलन आफ्ना पक्षमा राख्न सफल भएका छन् भने अमेरिका, जापान र संयुक्त अधिराज्य वस्तुगत व्यापारमा घाटामा रहे तापनि पनि निर्यात आयात अनुपातको खाडल अत्यन्त सानो रहेको छ । उपर्युक्त तथ्यांकहरूले निर्यात र आयात व्यापार यी दुवै पक्ष देशको अर्थतन्त्रका लागि आवश्यक तत्त्वका रूपमा रहेको देखिन्छ । यसैकारण विकसित तथा विकासशील मुलुकहरूमा आयातलाई देशको आर्थिक समृद्धि, जीवनयापनमा सुधार र निर्यात प्रवर्द्धनसँग एकाकार गर्ने दिशातर्फ उन्मुख छन् । उनीहरूको अर्को प्रमुख रणनीति भनेको वैदेशिक व्यापारको मियो अर्थात् केन्द्रविन्दु आफ्नै देश हुन सकोस् चाहे त्यो आयात होस् या निर्यात होस् । यही मान्यतामा आधारित रही चीनले विगत केही वर्षदेखि अन्तरराष्ट्रिय आयात एक्स्पोको आयोजना गर्दै आएको छ । यूरोपेली देशहरूले पनि आयातलाई व्यवस्थित बनाउने, त्यस्ता आयातमा निश्चित तहसम्मको मूल्ययोग गरी आफ्नो देश तथा कम्पनीको व्यावसायिक साखको उपयोग गरी निर्यात प्रवर्द्धन गर्ने रणनीति अंगीकार गरेका छन् । स्वीट्जरल्यान्डका कफी र चकलेट उद्योगहरू यसका उल्लेख गरिनुपर्ने प्रतिनिधि पात्रहरू हुन् । चीनको मेडइन चाइना, भारतको मेकइन इन्डिया अभियान पनि आयातलाई प्रभावकारी रूपमा आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन तथा व्यापक रोजगार सृजनासँग एकाकार गर्ने रणनीतिका उपज हुन् । नेपालको सन्दर्भमा हेर्दा पनि नेपालको आयातले नेपालको अर्थतन्त्रलाई सकारात्मक योगदान दिने दिशामा नै उन्मुख रहेको पाइन्छ । चालू आर्थिक वर्षको पहिलो ८ महीनामा नेपालको कुल आयातमा औद्योगिक आपूर्तिको अंश ३७ दशमलव ७ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा उक्त अंश करीब ३५ दशमलव ८ प्रतिशत रहेको देखिन्छ । यसरी कुल आयातमा औद्योगिक आपूर्तिको अंश बढ्नु भनेको मुलुकको अर्थतन्त्रमा सकारात्मक लक्षणको संकेत गर्छ । उपर्युक्त तथ्यांकले मुलुकमा आयात प्रतिस्थापन, नयाँ औद्योगिक गतिविधिको शुरुशात, निर्यात प्रवर्द्धन र रोजगारी सृजनामा योगदान दिइरहेको संकेत गर्छ । चालू आर्थिक वर्षको ८ महीनामा नेपालको कुल आयातमा इन्धन र लुब्रिकेन्ट्स, पूँजीगत सामग्री र यातायातका साधनको आयातको अंश क्रमशः १२ दशमलव ३ प्रतिशत, १४ दशमलव ७ प्रतिशत र ८ दशमलव २ प्रतिशत रहेको छ । यी तीनओटै पक्षले मुलुकमा उत्पादन र रोजगारी सृजनमा महत्त्वपूर्ण योगदान दिइरहेका हुन्छन् । समग्रमा भन्दा चालू आर्थिक वर्षको पहिलो ९ महीनामा मुलुकमा उत्पादन वृद्धि तथा रोजगार सृजनामा सहायक हुने औद्योगिक आपूर्ति, इन्धन र लुब्रिकेन्ट्स, पूँजीगत सामग्रीहरू र यातायातका साधनहरूको आयातको कुल अंश नेपालको सो अवधिको कुल आयातमा करीब ७७ प्रतिशतको हाराहारीमा रहेको छ । बाँकी २३ प्रतिशत अंश खाद्य तथा पेयपदार्थ र अन्य उपभोग्य वस्तुहरूको रहेको छ । यी तथ्यांकबाट नेपालको आयातले मुलुकको अर्थतन्त्रमा सकारात्मक योगदान दिने गरेको पुष्टि हुन्छ । उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै अब नेपालको आयातलाई आयात प्रतिस्थापन गर्ने, नयाँ औद्योगिक गतिविधिहरूको शुरुआत गर्ने र निर्यात प्रवद्र्धन गर्ने गरी एउटा अभियानका अघि बढ्नुपर्ने देखिन्छ । खास गरी जडान उद्योग स्थापनालाई नेपालको औद्योगिकीकरणको पहिलो खुड्किलोका रूपमा अघि बढाउन आवश्यक देखिन्छ । पार्टपुर्जाहरूको आयातमा सहजीकरण र जडान उद्योग स्थापनामा उत्प्रेरणात्मक र संरक्षणात्मक व्यवस्थाका माध्यमबाट वर्तमान निर्यात आयात अनुपातमा सुधार ल्याउन सकिन्छ । विद्युतीय सवारीसाधनको स्वदेशमा उत्पादनको वातावरण सृजना गर्दा यसले सवारीसाधन र इन्धनको वर्तमान आयातमा ठूलो परिमाणमा कटौती गर्न सकिने देखिन्छ । पूँजीगत साधनमा पनि जडान उद्योगहरूको स्थापनाको रणनीतिले नयाँ जग बस्ने देखिन्छ । यसरी जडान उद्योगका पार्टपुर्जा तथा नेपालमा उपलब्ध नहुने औद्योगिक कच्चापदार्थको दक्षतायुक्त आयात तथा कृषिजन्य वस्तुहरूको आन्तरिक उत्पादनको दूरदर्शी उपभोग व्यवस्थापन तथा परिवहनका साधनहरूको विद्युतीकरणबाट चीन, जर्मनी, अमेरिका, जापान र संयुक्त अधिराज्यझैं नेपालको निर्यात आयात अनुपातको खाडल दुई अंक मुनि खुम्चिने देखिन्छ । दुई अंक मुनि खुम्चिएको निर्यात आयात अनुपातले मुलुकको अर्थतन्त्रलाई स्वस्थतातिर लैजाने निश्चित छ । यो भनेको मुलुकको आयात आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनतर्फ लक्षित छ भन्ने कुराको संकेत हो । ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्न आयात व्यवस्थापनको यो पक्षको महत्त्वपूर्ण भूमिका रहने देखिन्छन् । अर्थात् आयातलाई आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनको गतिवर्द्धक माध्यम बनाऔं, अनावश्यक आयातमा कटौती गरौं तथा स्वदेशी वस्तु उत्पादन र दिगो उपभोगको संस्कार विकास गरौैं । लेखक व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।