पुस १९, धरान । जग्गा किनबेच भएको ४० वर्ष पछि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गामा देखिएको मोहीका छोरालाई नामसारी गरिदिने मालपोत तथा भुमिसुधार कार्यालय सुनसरीको निर्णय विरुद्ध क्याम्पसले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ ।
करीब २० वर्ष अघि मृत्यु भएका मोही डम्बरबहादुर घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीको नाममा गत असोज २५ गते मोही हक नामसारी गरिदिने भुमिसुधारले निर्णय गरेको थियो । भुमाफियाहरुले क्याम्पसको जग्गा हडप्न चलखेल गरेको आरोप लगाउँदै क्याम्पसले भुमिसुधार विरुद्ध उच्च अदालतमा पुनरावेदन गरेको हो ।
क्याम्पस प्रमुख दामोदर भण्डारीका अनुसार ३५ दिने हदम्यादको समयसिमा भित्र नै बुधवार पुनरावेदन गरिएको हो । पहिलो तारिख माघ २ गते पाएको पनि उनले बताए । क्याम्पस प्रमुख भण्डारीले पुस १४ गते पुनरावेदन गरेपछि पहिलो तारिख माघ २ गते रहेको बताए ।
तीन वर्ष अघि क्याम्पसको जग्गामा मोही विवाद शुरु भएको हो । खरीद गरेको ४० वर्ष पछि क्याम्पसले भोगचलन गर्दै आएको जग्गामा मोही डम्बर बहादुर घिमिरे रहेको भेटिएको थियो ।
डम्बर बहादुरका छोरा यज्ञबहादुरले भुमिसुधार कार्यालयमा मृतक बुबाको नामको मोही हक नामसारी गरिदिन निवेदन दिएका थिए । त्यसविरुद्ध क्याम्पस प्रशासनले भुमिसुधारमा मोहीको जोतभोग नभएको र तिरो पनि नतिरेको, उक्त जग्गा क्याम्पसले हकभोग गरेर भवन समेत बनाएको दाबी गर्दै मोही लगत कट्टा गर्न अर्को निवेदन दिएको थियो ।
तर, भुमिसुधारले एकपक्षीयरुपमा मोही नामसारी गरिदिने फैसला गरेको थियो ।
क्याम्पसले २०३४ सालमा धरान ११ स्थित स्वस्तिक चोकमा कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा खरीद गरेको थियो । तत्कालिन जग्गाधनी श्याम गोविन्द श्रेष्ठले मोही परिवारलाई खुशी बनाएर नै जग्गा क्याम्पसलाई बेचिएको बताउँदै आएका छन् । तर लगत कट्टा नहुँदा विवाद सिर्जना भएको उनले बताएका छन् ।
मोही घिमिरेलाई त्यसबेला नै चित्त बुझाएर जग्गा किनबेच गरिएको भएपनि लगतकट्टा नगरिदा अहिले भुमाफियाहरुले जग्गा हड्प्न उनका छोरा यज्ञबहादुर क्षेत्रीलाई अघि सारेको सरोकारवालाको आशंका छ ।
जग्गा फिर्ता गर्न क्याम्पसका विद्यार्थी संगठन, प्राध्यापक संघ, नागरिक समाज सहित स्थानीयले संघर्ष समितिनै गठन गरेर आन्दोलन गर्दै आएका छन् ।