१०६ मेवा क्षमताको जगदुल्ला जलविद्युतको ईआईएको काम सकियो, ३ महिनाभित्र पीपीए र वित्तीय व्यवस्थापन

पुस ११, काठमाडौं। डोल्पामा निर्माणाधीन १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम सकिएको छ। गत बुधवार आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुमाझ सार्वजनिक सुनुवाई सकेको आयोजनाले ईआईएको फाइनल ड्राफ्ट मन्त्रालय पठाउने तयारी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले डोल्पाको जगदुल्ला गाउँपालिकामा निर्माणाधीन उक्त आयोजनाले गत वर्षनै विस्तृत परीयोजना प्रतिवेदन (डीपीआर) निर्माण सकेको थियो। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल), कर्मचारी सञ्चय कोष र राष्ट्रिय वाणिज्य बैंकसँग वित्तीय व्यवस्थापनका लागि छलफल भएपनि टुङ्गो भने लागिनसकेको उनले बताए। पहिला नेपाल विद्युत् प्राधिकरणसँग ग्रीड कनेक्सन एग्रीमेन्ट भएपछि मात्रै वित्तीय व्यवस्थापनको लागि सम्झौता हुनेछ। डोल्पा जिल्लाको नजिकै विद्युत् प्राधिकरणको सवस्टेशन नभएका कारण पहिला जाजरकोट स्थित नलगाड आयोजनाको सवस्टेशनमा जोड्ने गरि सम्झौता गर्ने तयारी गरिएको थियो। त्यो सवस्टेशन कहिले बन्छ भन्ने टुङ्गो नलागेपछि रुकुम पश्चिममा रहेको प्राधिकरणको सवस्टेशनमा जोड्ने गरि सम्झौता गर्ने तयारी भइरहेको सापकोटाले बताए। ग्रीड कनेक्सन एग्रीमेन्टसँगै विद्युत खरीदविक्री सम्झौता पनि संगसंगै गर्ने तयारी भइरहेको उनले बताए। तीन महीना भित्र वित्तीय व्यवस्थापन टुङ्गाएर आगामी वर्षदेखि निर्माणमा जाने आयोजनाको तयारी छ। आयोजनाले स्थानीय प्रभावितलाई मुआब्जा वितरण गर्नुकासाथै निर्माण पूर्वका अधिकांस काम सकिएको बताएको छ।