काठमाडौं । सरकारले बाढीपहिरोका कारण विद्युत् विच्छेद भएको मेलम्चीमा वैकल्पिक उपाय अपनाएर बिजुली पुर्याउन पहल थालेको छ । पछिल्लो पटकको बाढीले इन्द्रावती–३ हाइड्रो पावरको ६६ केभीको प्रसारण लाइनको टावरमा क्षति पुगेपछि त्यहाँ विद्युत् विच्छेद भएको थियो ।
गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारमा क्षति पुर्याउँदा तीन ट्रान्समिसन लाइन बगाएको थियो ।
मेलम्चीबासी अँध्यारोमा बस्नु परेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वैकल्पिक उपाय अपनाएर विद्युत् जोड्न निर्देशन दिएकी छन् ।
उनले विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डे र ग्रीड सञ्चालन विभागका निर्देशक सचितानन्द यादवलाई मन्त्रालयमा बोलाएर उक्त निर्देशन दिएकी हुन् । रासस