ओखलढुंगा । दूधकोशी नदी किनारमा सुक्खा पहिरो झरेको छ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–३ मा पर्ने दूधकोशी नदी किनारमा करीब दुई सातादेखि सुक्खा पहिरो झरेको हो ।
दूधकोशी कोरिडोर सडकको चुने भन्ने ठाउँ नजिकै शुरू भएको सुक्खा पहिरो करिब २० दिनदेखि झरेको उँबुका स्थानीयवासी हर्कबहादुर राईले बताए । उनका अनुसार दशैंमा परेको वर्षा रोकिएपछि पहिरो शुरू भएको थियो । सो पहिरो हालसम्म अनुमानित २५० मिटरभन्दा अग्लो भएर झरिसकेको छ ।
एक साताअघिसम्म झरेको पहिरो अहिले केही रोकिएको छ । तर, सानो परिमाणमा झर्ने क्रम रोकिएको छैन । पहिराबाट झरेको ढुंगा, माटो सीधै दूधकोशीमा खसेका कारण नदीमा पानीको बहावसमेत केही मात्रामा रोकिएको छ । दूधकोशी कोरिडोरअन्तर्गत जयरामघाट–मोली सडक खनेकै ठाउँबाट पहिरो झर्न शुरू गरेको थियो । बेलाबेलामा ठूलो मात्रामा पहिरो खस्दा त्यसको धूलो उँबुको तल्लो भेग फकुलगाउँसम्म आइपुग्ने गरेको छ ।
पहिरोका कारण मानेभन्ज्याङ गाउँपालिका–६ मा पर्ने रिब्दोम गाउँको करिब १२ घर जोखिममा छन् । त्यसैगरी सोदु कुरुब्वामलुङ गाउँका स्थानीयवासी र विद्यार्थी विद्यालय जाने, अर्काे गाउँ जाने बाटो नै बन्द भएको छ । खचापुलगायत गाउँलेहरू जयरामघाट बजार जान एक घण्टाभन्दा बढी समय घुमेर पहिरोको शिरबाट जोखिमयुक्त बाटो प्रयोग गर्न बाध्य भएका छन् ।
पहिरोबाट झरेको ढुंगा, माटोले दूधकोशी नदीको करीब २० प्रतिशत बहाव रोकेको जयरामघाटका स्थानीय मिलन राईले बताए । पानीको बहाव छेकेपछि नदीको पानी खोटाङको हलेसी तुवाचुङ नगरपालिकातर्फ पर्ने जंगल पसेर बग्न थालेको छ । यो ठाउँमा पहिले पहिरो खासै नभएकाले सडक खनेकै कारण पहिरो शुरू भएको अनुमान गरिएको छ । रासस