‘होस्टेलमा कक्षाअनुसार दक्षिणा पनि बढ्दै जान्थ्यो’

दशैं भन्नासाथ बाल्यकालमा बसेको होस्टेलको सम्झना ताजा भएर आउँछ । बर्दिया घरबाट टाढा एक्लै होस्टलमा बसेर म पढ्थें । एक हिसाबले होस्टेलमै हुर्किएँ भन्दा पनि हुन्छ । दशैं आउँथ्यो, होस्टेलका प्रायः सबै साथी घर जान्थे । मेरो भने घर टाढा । लिन आउन र पुर्‍याउन पनि सहज थिएन, फेरि अहिलेजस्तो यातायातको पहुँच पनि थिएन । […]

सम्बन्धित सामग्री

धन–सम्पत्ति जोरजाम गर्ने मनोकांक्षाले बढ्दै सुखरात्रिको महत्त्व

नेपालको दोस्रो ठूलो चाड तिहार । नेपालमा यो पर्व नेपाली हिन्दू पात्रोअनुसार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरू भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म ५ दिन मनाउने चलन छ । धनधान्यकी प्रतीक मानिने लक्ष्मीको पूजा गरी घरभरि दियो बालेर तिहार पर्व मनाइन्छ । तिहारलाई यमपञ्चकको रूपमा मानिने गरेको छ । तिहारलाई उज्यालो पर्वको रूपमा पनि मनाउने चलन छ । वर्षका चार महत्त्वपूर्ण रातमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ । यो दिन शहरबजारका घरघरै गई भैलो खेल्ने चलन छ । तिहारका पाँचै दिन महत्त्वपूर्ण हुने भए पनि लक्ष्मीपूजाको दिनदेखि यो पर्व विशेष खुसीयालीसहित मनाउने चलन छ । नेपालको सन्दर्भमा राणाकालमा पाँच दिनसम्म टुँडिखेलमै जुवा खेलाइने गरेको इतिहास एवं संस्कृतिविद् हरिराम जोशी बताउँछन् । उनी भन्छन्, ‘राणाकालीन समय तिहार पर्व पाँचै दिन मनाइन्थ्यो । काठमाडौं खाल्डोका नागरिक राणाको बोलावट भएपछि टुँडिखेलमा हाजिर हुनैपर्थ्यो ।’ यद्यपि हाल जुवातास कानूनी रूपमा वर्जित भए पनि खेल्ने र खेलाउने गरिन्छ । तिहारमा कात्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । काग सर्वभक्षी प्राणी भएको र अन्नबालीमा लाग्ने कीरा–फट्यांग्रा खाइदिने हुँदा पूजा गर्ने चलन रहेको हुन सक्ने जोशी बताउँछन् । कागलाई यमराजको दूत पनि मानिने भएकाले सम्मानस्वरूप यसको पूजा गर्ने धार्मिक मान्यता छ । यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । यसबारे पनि विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहेका छन् । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यो दिन कुकुरलाई टीका तथा माला लगाएर मीठो भोजन खुवाउने चलन छ । तिहारको चौथो दिन धूमधामले लक्ष्मीको पूजा गर्ने चलन छ । यो दिन घर सफासुघ्घर गरेर लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई धनकी देवी मानिन्छ । गाईलाई लक्ष्मीको प्रतीक मानेर यिनको पूजा गरिन्छ । यो दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नु नपर्ने विश्वासमा खुशी मनाउन दीपावली गर्ने प्रचलन बसाइएको विभिन्न धर्मग्रन्थमा उल्लेख रहेको संस्कृतिविद् जोशी बताउँछन् । पछिल्लो समय लक्ष्मी अर्थात् धन–सम्पत्ति जोरजाम गर्ने मनोकांक्षासहित हुनेखानेले थप धनार्जन गर्न र विपन्नले धन कमाउन सकियोस् भन्ने लालसामा भक्तिपूर्वक लक्ष्मीको पूजा गर्छन् । यो रात लक्ष्मी आकाशमा घुमफिर गर्ने हुँदा भक्तलाई ऐश्वर्य, सुख शान्ति दिने विश्वासका साथ मानिसहरू रातभर जाग्राम बस्छन् । तिहारको चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन गाईको पूजा गरिन्छ । हिन्दू धर्ममा गाईलाई आमासमान मानेर पुज्ने गरिन्छ । गाई पूजाका दिन गोवद्र्धन पर्वत तथा बलि राजाको पूजा हुन्छ । गाईको गोबरको पर्वत तथा कुण्ड बनाएर श्रद्धा र भक्तिका साथ गोवद्र्धन पूजा गरिन्छ । यो दिन भगवान् विष्णुका भक्त इन्द्रशत्रु राजा बलिको पूजा गरेर लक्ष्मीलाई खुशी पारिन्छ । यो दिन गोरुको पनि पूजा गर्ने चलन छ । तिहारको महत्त्वपूर्ण दिन भाइटीका । कात्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइको अटल सौभाग्यको कामनासहित टीका लगाइदिन्छन् । यो दिन दिदीबहिनीले यमदूत, सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गरेर त्यसको प्रसाद दाजुभाइलाई लगाइदिने परम्परा छ । सप्तरंगी टीकाका साथ दुबो, मखमली तथा सयपत्री र गोदावरीको माला लगाइदिन्छन् । ओखर फुटाएर दाजुभाइको दीर्घायुको कामनासहित टीका लगाएपछि मिठाई, फलफूल तथा मसलाको उपहार दिने चलन छ । दाजुभाइले पनि दिदीबहिनीलाई विभिन्न उपहार तथा दक्षिणा दिन्छन् । संस्कृतिविद् जोशीका अनुसार यो दिन भाइलाई लिन आएका यमदूतलाई दिदीले रोकेर काल टारेको प्रसंग पनि जोडिएको छ । भाइटीकाको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजलाई बोलाउने, ओखर, तेल, बिमिरो, मखमलीको माला, दुबोको टीकालगायत प्रयोग गरिनु दिदीबहिनी र दाजुभाइको सुख, आरोग्य एवं दीर्घायुको कामना गर्ने परम्परासँग गाँसिएको छ ।

बढ्न थाल्यो सुनको मूल्य

काठमाडौं । कोरोना विपद् कम हुँदै गएपछि घट्न थालेको सुनको मुल्य पुनः बढ्न थालेको छ । कोरोना संकटमा ह्वात्तै बढेको सुनको मूल्य पछिल्ला महीनामा घट्दै गएको थियो । बुधवार भने तोलामा १ हजार ३०० रुपैयाँले बढेर ९२ हजार पुगेको छ, जुन पछिल्लो साढे २ महीनायताकै सबैभन्दा बढी हो । यसअघि माघ २१ गते सुनको मूल्य प्रतितोला रू. ९२ हजार रहेको थियो । त्यसयता मूल्य घट्दै चैत १८ गते प्रतितोला रू. ८५ हजार ५०० मा झरेको थियो । चैत १९ गते यतादेखि भने सुनको मूल्य निरन्तर बढ्दै आएको छ । मंगलवार सुनको मूल्य प्रतितोला रू. ९० हजार ७०० थियो । बुधवार एकैपटक १३०० रुपैयाँले बढेर रू. ९२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । पछिल्लो समय अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हुँदा सुनको मूल्य बढेको हो । नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग पेग्ड छ । त्यो अवस्थामा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा सुनको मूल्य बढेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘हामीले डलरमा नै सुन आयात गर्नुपर्छ । त्यो अवस्थामा डलरको मूल्य बढ्दा सुनको मूल्य स्वतः बढ्छ,’ उनले भने, ‘तर, अन्य मुलुकहरूमा भने यस्तो हुँदैन । अन्य मुलुकमा डलरको मूल्य बढ्दा सुनको मूल्य घट्ने सम्भावना हुन्छ । दक्षिण एशियाली मुलुकमा प्राविधिक रूपमा त्यो सम्भव छैन ।’ केही समयअघि ११६ रुपैयाँको हाराहारीमा रहेको डलरको मूल्य अहिले बढेर १२० रुपैयाँभन्दा बढी भएको छ । यसरी डलरको मूल्य बढ्दा आयात महँगो हुन गई सुनको मूल्य बढेको हो । अन्तरराष्ट्रिय बजारमा डलरको मूल्य बढ्यो भने लगानी डलरतिर नै जान्छ र लगानीकर्ताहरूले सुनको विक्री बढाउँछन् । त्यसैले अन्तरराष्ट्रिय बजारमा डलरको मूल्य बढ्यो भने सुनको मूल्य घट्ने सैद्धान्तिक मान्यता छ । तर, दक्षिण एशियाली मुलुकमा भने डलरको मूल्य बढ्दा सुनको मूल्य पनि बढ्ने शाक्य बताउँछन् । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि बढेको शाक्यको भनाइ छ । अन्तरराष्ट्रिय बजारको मूल्यअनुसार पनि नेपालमा सुनको मूल्य निर्धारण गरिन्छ । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । त्यसको असर नेपालमा यसको मूल्य बढ्न थालेको शाक्य बताउँछन् । पछिल्लो समय दक्षिणा एशियामा डलर बलियो भए पनि अन्तरराष्ट्रिय बजारमा भने कमजोर हुँदै गएको छ । फलतः लगानीकर्ताहरूले डलर छोडेर सुनतिर लगानी बढाएका छन् । त्यसको असरले नै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि बढेको शाक्यको भनाइ छ । केही समयअघि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस (२.६६७ तोला) १६८० डलर थियो । तर, अहिले त्यो बढेर १७८३ सम्म पुगेको छ । यसरी अन्तरराष्ट्रिय बजारमा सुन मूल्य बढेपछि नेपालमा पनि बढेको शाक्यको भनाइ छ । कोरोना महामारीका कारण विश्व अर्थतन्त्र प्रभावित हुँदा लगानीकर्ताहरुले सुनतर्फ लगानी बढाएका थिए । त्यसैले यसको मूल्य बढेर नयाँ उचाइमा पुगेको थियो । नेपालमा पनि गत साउन २३ गते सुनको मुल्य प्रतितोला १ लाख ३ हजार ५०० पुगेको थियो । मूल्य बढे पनि यसको कारोबारमा भने कुनै कमी नआएको शाक्य बताउँछन् । ‘अहिले विवाहको लगनका कारण मूल्य बढे पनि कारोबारमा कुनै असर पुगेको छैन । सुनका गरगहनाको माग बढ्दो नै छ,’ उनले भने, ‘अहिले दैनिक ४० केजीभन्दा बढी सुन खपत हुने गरेको छ । विवाहको सिजन सकिएपछि के हुन्छ भन्न सकिँदैन ।’