बीमा कम्पनीहरूको संस्थापक शेयर लगानीमा कडाइ

काठमाडौं । बीमा कम्पनीहरूमा तोकिएको सीमाभन्दा बढी भएको संस्थापक शेयरलाई सम्बद्ध शेयरधनीले २ वर्षभित्र नै विक्री गर्नुपर्ने भएको छ । बीमा समितिले हालै बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो । २ वर्षभित्र सीमाभन्दा बढी भएको शेयर विक्री नगरेमा शेयरधनीलाई कम्पनीबाट वितरण हुने नगद लाभांश, बोनस शेयर तथा हकप्रद शेयरमा रोक लगाइने पनि निर्देशिकामा उल्लेख छ ।   निर्देशिकाअनुसार कुनै व्यक्ति, एकाघर परिवार वा तथा संगठित संस्थाले एउटा बीमा कम्पनीमा चुक्ता पूँजीको बढीमा १५ प्रतिशतसम्म संस्थापक शेयर लगानी गर्न पाउनेछन् । त्यसरी एक व्यक्तिले एउटा कम्पनीमा १५ प्रतिशतको सीमामा संस्थापक शेयर लगानी गरेपछि समान प्रकृतिको अन्य कम्पनीहरूमा पनि चुक्ता पूँजीको १ प्रतिशतभन्दा कम हुनेगरी संस्थापक शेयर लगानी गर्न पाउनेछन् । तर, फरक प्रकृतिको कम्पनीमा भने १५ प्रतिशत संस्थापक शेयरमा लगानी गर्न पाउँछन् । समितिका अनुसार चुक्ता पूँजीको १ प्रतिशत कम हुने गरी एकभन्दा बढी कम्पनीमा शेयर लगानी गर्न सकिनेछ । यदि, कुनै एक जीवन बीमा कम्पनीमा एक समूहको १५ प्रतिशतसम्म संस्थापक शेयर छ भने उक्त समूहले अन्य जीवन बीमा कम्पनीहरूमा १ प्रतिशतभन्दा कमको सीमामा मात्रै संस्थापक शेयर लिन पाउँछन् । कुनै समूहले समान बीमा कम्पनीहरूमा तोकिएको सीमाभन्दा बढी संस्थापक शेयर लगानी गरेमा २ वर्षभित्र नै विक्री गर्नुपर्ने समितिको निर्देशन छ । तर, सरकारको ५० प्रतिशतभन्दा बढी स्वामित्व भएको कम्पनीहरूमा समितिको स्वीकृति लिएर बढीमा २५ प्रतिशतसम्म एकभन्दा बढी बीमक (बीमा कम्पनी) मा संस्थापक लगानी गर्न दिइने पनि निर्देशिकामा उल्लेख छ । बीमा समितिले एकै प्रकृतिका बीमा कम्पनीहरूमा क्रश होल्डिङ भएर बसेका संस्थापक शेयरलाई पनि २ वर्षभित्र नै विक्री गर्न निर्देशन दिएको छ । एकै किसिमको बीमा व्यवसाय गर्ने बीमकहरूमा आपसमा प्रतिअंशियारी (क्रश होल्डिङ) हुनेगरी संस्थापक शेयर लगानी भएमा त्यस्तो शेयर २ वर्षभित्र विक्री गर्नुपर्ने छ । साथै, एकै समूह, व्यक्ति वा एकाघर परिवारले समान प्रकृतिका बीमा कम्पनीहरूमा तोकिएको सीमाभन्दा बढी शेयर लगानी भएमा त्यस्तो शेयर पनि विक्री गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । तर, त्यस्तो शेयर नामसारी वा विक्री गर्न विद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने विषयमा अनिवार्य भने गरिएको छैन । शेयर किनबेचसम्बन्धी अन्य व्यवस्था प्रचलित कानूनअनुसार नै हुने बताइएको छ । तोकिएको सीमाभन्दा बढी भएको संस्थापक शेयर २ वर्षभित्र विक्री नगरेमा सम्बद्ध शेयरधनीलाई नगद लाभांश, बोनस शेयर तथा हकप्रद शेयरमा सहभागी हुन नदिने समितिको भनाइ छ । सीमाभन्दा बढी भएको शेयर विक्री गरेर शेयर संरचना तोकिएको सीमाभित्र कायम नभएमा बीमा समितिले सम्बद्ध कम्पनीहरूलाई एकआपसमा गाभ्न/गाभिन (मर्ज हुन) निर्देशन दिन सक्ने व्यवस्था पनि गरिएको छ । बीमा समितिका उपनिर्देशक तथा कानून शाखाका प्रमुख शाम्भराज लामिछानेले निर्देशिकामार्पmत क्रश होल्डिङ भएका शेयरहरूलाई व्यवस्थापन गर्न खोजिएको बताए । ‘समग्रमा एउटै समूह वा व्यक्तिले एकभन्दा बी कम्पनीको शेयर बढी मात्रामा होल्ड नगरोस् भन्ने हिसाबले नै यस्तो व्यवस्था गरेका हौं । यदि, तोकिएको समयमा सीमा कायम नभएमा कारबाही गर्ने प्रावधान पनि राखिएको छ,’ उनले भने, ‘साथै, मर्जरका लागि निर्देशन दिने परिकल्पना पनि गरेका छौं ।’ बीमा कम्पनीहरूमा भएको क्रश होल्डिङका विषयमा अध्ययन भइरहेको उनको भनाइ छ । ‘बीमा कम्पनीहरूबाट यससम्बन्धी विवरण पनि संकलन गर्ने काम भइरहेको छ । सबै कम्पनीबाट विवरण प्राप्त भएपछि थप निर्णय गर्न सहज हुनेछ,’ उनले भने । बीमा समितिले यसअघि २०६५ सालमा संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिका जारी गरेको थियो । त्यसपछि समितिले बीच बीचमा पनि यस सम्बन्धमा परिपत्र जारी गर्दै संस्थापक शेयरसम्बन्धी नयाँ निर्णय गर्दै आएको थियो । यसरी बीचमा जारी भएका परिपत्रलाई एकीकृत गरेर निर्देशिका जारी गरिएको लामिछानेको भनाइ छ । ‘निर्देशिकामा भएका नयाँ व्यवस्था यति नै हुन्,’ उनले भने, ‘पटकपटक जारी निर्देशनलाई अहिले एकीकृत गरिएको हो । संस्थापक शेयरसम्बन्धी व्यवस्थालाई थप व्यवस्थित तथा स्पष्ट बनाएका छौं ।’ बीमा कम्पनीको संस्थापक शेयर न्यूनतम ५१ प्रतिशत बनाउन सकिने व्यवस्था पनि गरिएको छ । यसअघि बीमा कम्पनीको संस्थापक शेयर न्यूनतम ७० प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको थियो । तर, अब संस्थापक शेयर ५१ प्रतिशतसम्म बनाउन सकिने र अन्य शेयरलाई सर्वसाधारणमा रूपान्तरण गर्न सकिने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ । सानासाना लगानीकर्ताको छरिएर बसेको संस्थापक शेयरलाई पनि सही ढंगले व्यवस्थापन गर्ने गरी परिकल्पना गरिएको समितिका उपनिर्देशक लामिछानेको भनाइ छ ।