काठमाडौं । निर्माण शुरू भएको २ वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक विस्तार कार्यले गति लिन सकेको छैन । हालसम्म उक्त सडक आयोजनाको भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्नेगरी सरकारले विस्तार शुरुआत गरे पनि पहिले निर्माणस्थलमा रहेका संरचना हटाउन नसकेर र अहिले कोभिडका कारणले ढिला भइरहेको छ । असार १ गतेदेखि नियमित भइरहेको वर्षाका कारण निर्माण सुस्त भएको नारायणगढ–बुटवल सडक योजनाले बताएको छ ।
सडकमा कहिले डाइभर्सनलगायतका सडकका संरचना बगाउने, कहिले पहिरोले सडक अवरुद्ध भएकाले त्यसैलाई खुलाउन योजना केन्द्रित भएको प्रमुख रमेशकुमार दृष्टिले बताए । सामान्य अवस्थामा चारदेखि पाँच सयसम्म कामदार हुने गरेकोमा अहिले आयोजनामा ५०–६० जना मात्रै कामदार कार्यरत छन् । कोभिडको त्रासका कारणले फर्किएका कामदार अझै निर्माणस्थल नफर्किएको उनले बताए । गत वैशाखमा देशभर संक्रमितको संख्या बढेसँगै धेरै कामदार घर फर्किएका थिए । कामदार डर वा परिवारका सदस्यलाई कोभिड भएका कारण घर फर्किएको उनको भनाइ छ ।
अहिले दैनिक वर्षात् भइरहेकाले निर्माण गर्न नसकिएको प्रमुख दृष्टिले बताए । निर्माणका लागि असार/साउन उपयुक्त समय नभएकाले आपत्कालीन मर्मतबाहेक अरू काम कम हुन्छ । मौसमले साथ दिए र संक्रमण घटेमा भदौदेखि मात्र काम गर्न सकिने उनको भनाइ छ ।
विस्तारको काम तालिकाभन्दा धेरै पछाडि रहेको आयोजनाले बताएको छ । ठेक्का अवधि झण्डै ६० प्रतिशत सकिँदा निर्माण ६/७ प्रतिशत मात्रै सकिएको हो । निर्माणस्थलमा पहिले रूख काट्न र खम्बा सार्न लामो समय लागेको प्रमुख दृष्टिले बताए । ‘कोभिडले गर्दा दुई वर्ष अवरोध भएको छ । अझै पनि बिजुलीको खम्बा हटाउन सकिएको छैन,’ उनले भने, ‘पोल हटाउन सम्झौता भइसकेकाले त्यो सकिएपछि कामले गति लिनेछ ।’ सामान्यतया निर्माणस्थल खाली नहुँदै ठेक्का सम्झौता भएको ठेक्कामा शुरूका वर्षमा प्रगति कम नै हुन्छ । शुरुवाती समयलाई तयारीको समयका रूपमा लिने गरिन्छ । पछिल्लो वर्षमा द्रुत प्रगति हुने अपेक्षा गरिएको दृष्टिले बताए । निर्माण अघि बढाउन उपकरण र सामग्रीको पनि आवश्यकता पर्छ । निर्माणको काम गरिरहेको चिनियाँ कम्पनीसँग अहिले उपकरण कमी छैन । ‘अझै पनि कोभिडको त्रास नहटेकाले र कामदार कति आउँछन्, त्यसमा निर्भर हुन्छ,’ उनले भने ।
ठेक्का सम्झौताका आधारमा झण्डै एक वर्ष अवधि बाँकी छ । अझै पनि समयमा सम्पन्न हुनेमा शंका रहेको दृष्टिले बताए । गतवर्ष ६ महीना अवधि थपिएको थियो भने चालू आवमा पनि अवधि थपिन सक्ने देखिएको छ ।
गत आवमा सरकारले जारी गरेको बन्दाबन्दीका कारण निर्माणमा बाधा पुगेको थियो । चालू आवमा भने प्रशासनले समन्वय गरेकाले आवश्यक मात्रामा आवतजावत गर्न समस्या नभएको उनले बताए । चालू आवमा कामदार आफै मानसिक रूपमा डराएकाले काममा लगाउन नसकिएको उनले बताए । निर्माण व्यवसायीले चाहेर पनि काम लगाउन सकेका छैनन् ।
अहिले निर्माणस्थलमा हटाउनुपर्ने धेरै कुरा हटिसकेको प्रमुख दृष्टिले बताए । वन क्षेत्रमा रूख हटाउने काम ९० प्रतिशत प्रगति भइसकेको छ । तत्कालका लागि रूखका कारण निर्माण नै रोकिने अवस्था नभएको आयोजनाले बताएको छ । अहिले कतिपय स्थानमा विद्युत्को लाइन हटाउन बाँकी छ । अहिले काम गर्न आवश्यक पर्ने जनशक्ति पर्याप्त हुँदा बाँकी समयमा धेरै प्रगति हुन सक्ने देखिएको आयोजनाले बताएको छ । सडकको अधिकार क्षेत्र (राइट अफ वो) को समस्या कम भइरहेको छ । खानेपानीको केही पाइप मात्र हटाउन बाँकी रहेको दृष्टिले बताए ।
गतवर्ष कम्पनीले कामदारलाई भुक्तानी नदिँदा पनि समस्या भएको थियो । अहिले भने त्यो समस्या हटिसकेको छ ।
२०७५ चैतमा सो सडकको विस्तार शुरू भएको थियो । दुई प्याकेजमा गरी काम भइरहेकामा दुवै ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पाेरेशनलाई दिइएको छ । चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग शहरी क्षेत्रमा ६ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ । सडक विभागले गतवर्ष नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नागढुंगा–मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ । रासस