अधिक वर्षाले रुद्राक्षका फुल झर्न थालेपछि कृषक चिन्तित

भोजपुर (अस) । अधिक वर्षात्का कारण रुद्राक्षको फल लाग्न नपाउँदै फुल झर्न थालेपछि भोजपुरका कृषक चिन्तित बनेका छन् । जिल्लाको अर्थतन्त्रमा दरिलो टेवा दिइरहेको रुद्राक्षको उत्पादन यस वर्ष भने खस्कने स्थानीय कृषक श्रीकृष्ण बोगटीले बताए । आवश्यकताभन्दा बढी पानी पर्दा रुद्राक्षको फल नलाग्दै फूल कुहिन थालेको षडानन्द नगरपालिकाका कृषक मकर तामाङले गुनासो गरे । ‘लाखौं खर्च गरेर दाना राम्रो हुन्छ भनेर विषादीको प्रयोग गरे पनि बोटमै फूल अडिएन,’ उनले भने, ‘गतवर्ष जस्तो उत्पादन हुने सम्भावना छैन, अब लगानी समेत उठ्न गाह्रो छ ।’ विशेषगरी चीन र भारतमा निर्यात हुने रुद्राक्षको माग पूर्ति गर्न यसलाई मल, औषधि, विषादी आदिमा कृषकले लाखौं खर्च गरेका छन् । तर बोटमै फुल नअडिएपछि उनीहरू निराश बनेका हुन् । फल लाग्ने समयमा फुल कुहिएर झर्नुमा बढी वर्षात् मात्र कारण नभएर उत्पादन बढाउन जथाभावी प्रयोग गरिएको औषधि पनि कारक रहेको विज्ञहरूले बताएका छन् । रुद्राक्षको व्यवसायलाई कोरोना महामारीले समेत प्रत्यक्ष असर पारेको छ । कोरोनाको महामारी रहिरहेमा बाह्य मुलुकबाट व्यापारी आउन नसक्ने भएकाले विक्री नहुने चिन्ता किसानहरूको छ । जिल्लाका षडानन्द नगरपालिका, भोजपुर नगरपालिका, साल्पासिलिछो गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका लगायत क्षेत्रमा रुद्राक्षखेती हुने गरेको छ ।

सम्बन्धित सामग्री

पाकेको धान पानीले नष्ट, किसानको पीडा न धान न पराल

काटेर खेतमै सुकाएको धानको पाँजा रुझेपछि स्याङ्जाका कृषक चिन्तित बनेका छन् । सोमबार अपराह्न परेको बेमौसमी वर्षाले धान बालीमा क्षति पुर्याएको हो । वर्षाले भित्र्याउन ठिक्क परेको धानको पाँजा रुझाएको छ भने काट्न ठिक्क परेको धान खेतमा नै झारी दिएको छ ।

बेमौसमी वर्षा : धानबाली सहित कोदोमा पनि क्षति

केही दिनयता निरन्तर परेको अविरल वर्षाले खेतीबालीमा क्षति पुर्‍याएपछि जिल्लाका कृषक चिन्तित बनेका छन्। यहाँको मुख्य बालीमध्ये धान र कोदो खेतीमा वर्षासँगै हावाहुरीले क्षति पुर्‍याएपछि खाद्यसङ्कट निम्तन सक्ने चिन्ताले उनीहरुलाई पोल्न थालेको हो।

वर्षापछि हिमपात

तीन दिनदेखिको वर्षाले जाजरकोटवासीको जनजीवन प्रभावित भएको छ। पाक्न लागेको बालीनाली नष्ट गरेको छ। जिल्लाको बारेकोट, कुशे र जुनीचाँदे गाउँपालिकामा पाक्न लागेको गहुँ जौ, र तरकारी तथा फलफूल बालीमा क्षति पु-याएको छ। पाक्न थालेको बालीनाली र फलफूलको फूल नष्ट गरेपछि कृषक चिन्तित छन्।