रुकुम । रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ । सो वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया सुरु भएको हो । खानेपानी आयोजनाको शुक्रवार शिलान्यास गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारको ९ करोड बजेटमा खानेपानी आयोजना निर्माण हुन लागेको छ । थाक्नाखोलाको मुहानबाट पानी ल्याउन लागिएको हो । खानेपानीको आयोजनामा ७५ हजार लिटर क्षमताका पाँचओटा ट्यांकी निर्माण गरिने छ । वडा नम्बर ५ को रुमालबारा, बाहुनठाना र टाकुरामा थप खानेपानीको आपूर्तिका लागि यो आयोजना निर्माण गर्न लागिएको हो । वडाका करिब ५०० घरधुरीमा खानेपानीको सहज सुविधा पुर्याउने गरी खानेपानी आयोजना निर्माणको प्रक्रिया शुरू गरिएको वडाध्यक्ष शान्तबहादुर विकले बताए । पञ्चवर्षीय योजना भएकाले क्रमागतरुपमा यो खानेपानी आयोजनाले पूर्णता पाउनेछ । चालु आर्थिक वर्ष २०७८/७९ मा एक करोड पाँच लाख बजेटको काम हुने बताइएको छ । उपभोक्ता समितिमार्फत नै खानेपानी आयोजना निर्माण गर्न लागिएको छ । समितिको अध्यक्षमा टोपबहादुर कार्की, सचिवमा डिक्कु बुढा र कोषाध्यक्षमा गीता शाह रहनुभएको छ । अहिले पनि वडा नम्बर ५ का सबै बस्तीका घरघरमा खानेपानीका धारा रहेका छन् । दीर्घकालीन रूपमा योजना निर्माण गरी पछि थप पानीको आवश्यक पर्ने भएकाले यो खानेपानी आयोजना निर्माण हुन लागेको हो । वडाका सबै घरधुरीमा सहजरुपमा शुद्ध खानेपानीको पहुँच पु¥याउने लक्ष्यअनुसार काम भइरहेको वडाध्यक्ष विकले बताए । अहिले ठाराखोला, घङगारचौर र रासुछहरा गरी तीनओटा मुहानको पानी ल्याएर वडा नम्बर ५ का बस्तीमा खानेपानीको आपूर्ति भइरहेको छ । रासस