सिन्धुपाल्चोकका बाढीपहिरो पीडित दैनिकी जङ्गल र टिनले छाएको टहरामा बित्दै आएको छ । जुगल गाउँपालिका–२, लिदीमा गत वर्ष भदौमा आएको भीषण पहिरोले परिवारका सदस्य र घरजग्गा गुमाएकाहरू पालिकाको बाँसखर्कको जङ्गलमा टेन्ट र टहरामा दैनिकी बिताउँदै आएका छन् ।
बाजुराको हिमाली गाउँपालिकाका बाढीपहिरो पीडित अझै पनि त्रिपालमा दिन बिताइरहेका छन्। बाढीपहिरो पीडितको पुनस्र्थापनाको पहल कतैबाट हुन सकेको छैन। वडा नं. ४ बोर्ताका ११२ परिवार त्रिपालमै छन्। त्रिपालमा तीन महिना बिताए पनि राहत र पुनस्र्थापनाको कुनै पहल हुन नसकेको बाढीपहिरो प्रभावितको गुनासो छ। पुर्खौदेखि बसोबास गरिआएको घर असोजको वर्षाले भत्काएपछि उनीहरूसँग अहिले ओत लाग्ने ठाउँ नभएको हिमाली गाउँपालिकाका प्रवक्ता भीमानन्द पाण्डेयले बताउनुभयो। उहाँले गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाले वितरण गरेको राहत प्रभावितलाई पुग्दो नभएको बताउनुभयो। प्रभावित स्थानीय गाँस, बासको पर्खाइमा रहे पनि कुनै निकायबाट सहयोग हुन नसकेको उहाँले बताउनुभयो। गाउँपालिकाबाट सहयोग भएको भए पनि बाढीपहिरो प्रभावितलाई त्रिपाल पुग्दो छैन। एक त्रिपालभित्र धेरै परिवारका सदस्य मिलेर बस्ने गरेका छन्। चिसो मौसममा कठ्याङ्ग्रिँदै त्रिपालभित्र रहेकालाई विभिन्न रोगले समेत सताएको छ। विशेष गरेर दीर्घरोगी, बालबालिकालगायतलाई झनै समस्या भएको पाण्डेयले बताउनुभयो।
कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका बाढीपीडितले जाडोमा मौसम त्रिपालमा बिताउँदै आएका छन् । गत असार १३ गते आएको बाढीपहिरोबाट विस्थापित भएका गाउँपालिका वडा नं ४, ५ र ७ का २०६ घरपरिवार अहिले जङ्गलको बीचमा त्रिपाल टाँगेर बसोबास गर्दै आएका छन् ।
बाढीपहिरोका कारणले घरबारबिहीन भएका २०६ घरपरिवारका एक हजार १२८ अहिले पनि जङ्गलको बीचमा बस्नु पर्दा उनीहरुलाई खान र बस्नमा कठिनाई रहेको वडा नं ७ का धनबहादुर बटालाले बताउनुभयो । चिसो मौसममा त्रिपाल टाँगेर जङ्गलमा नै बस्दा बालबच्चा र बुढाबुढीलाई अझ बढी समस्या रहेको वडा नं ४ का नवराज बुढाले जानकारी दिनुभयो ।
‘‘चिसो मौसममा जङ्गलको बीचमा बस्दा समस्या भएको छ ।’’ बाढीपहिरोका कारणले विस्थापित भएलाई पुनःस्थापनामा कसैले ध्यान नदिएको स्थानीयवासी धनसरा बुढाले बताउनुभयो, “हामी बिचल्ली भएर जङ्गलको बीचमा बस्दै आएका छौं” उहाँले भन्नुभयो,“तर, पनि पुनःस्थापना र बस्ती बसाल्ने कुरामा कसैले ध्यान दिएको छैन् ।”
गाउँपालिका बाढीपीडितको घर रहेको गाउँ नै जोखिममा रहेको कारणले सम्भावित बस्ती बसाल्नका लागि प्रारम्भिक अध्यायन गरिएको जिल्ला नापी कार्यालयका अमिन पुनम विश्वकर्माले बताउनुभयो । ‘‘बस्ती बसाल्नका हामीले जग्गाका अवस्थाका विषयमा प्रारम्भिक अध्यायन गरेका छौँ’’ उहाँले भन्नुभयो । अहिले बाढीपीडित बसिरहेको क्षेत्र जङ्गल रहेको त्यहाँ बस्ती बसाल्ने हो भने ठूलो मात्रामा जङ्गल फँडानी गर्नुपर्ने अवस्था रहेको अमिन विश्वकर्माले बताउनुभयो । ‘‘पूरै बस्ती बसाल्नका लागि ८३ हजार ५२० वर्गमिटर अर्थात ८.३५२० हेक्टर जमीन आवश्यक पर्छ ।’’